ad ad

कारोबार


बैंकमा पैसा थुप्रियो, एकैदिन १२ अर्ब निक्षेप थपियो

बैंकमा पैसा थुप्रियो, एकैदिन १२ अर्ब निक्षेप थपियो

नेपालखबर
माघ ३, २०७९ मंगलबार १९:१९, काठमाडौँ

बैंक तथा वित्तीय संस्थामा एकैदिन १२ अर्ब रुपैयाँ निक्षेप थप भएको देखिएको छ। जनवरी ११ मा ५३ खर्ब २० अर्ब रुपैयाँ निक्षेप रहेकोमा जनवरी १२ मा ५३ खर्ब ३२ अर्ब रुपैयाँ निक्षेप देखिएको हो। 

जसमा ११ अर्ब रुपैयाँ त वाणिज्य बैंकहरुको निक्षेप थप भएको देखिएको छ। अन्य बैंक तथा वित्तीय संस्थाको १ अर्ब थप भएको देखिएको हो। 

बैंकको कर्जा प्रवाह भने सोही एक दिनको अवधीमा ६ अर्ब रुपैयाँ मात्रै थप भएको देखिएको छ। 

यो तथ्याङक एक हप्ता अगाडि अर्थात् अर्धवार्षिक क्लोजिङ अगाडिको हो। 

त्यस समयसम्म बैंकको कर्जा र निक्षेपको अनुपात ४६ दशमलव ४७ प्रतिशत कायम भएको छ भने अन्तरबैंक दर ५ दशमलव ९५ प्रतिशतमा आइपुगेको छ। 

माघ सुरु भएसँगै बैंकको ब्याजदर घटेको छ। अब कर्जा प्रवाह बढ्ने अनुमान छ। 

मंसिर मसान्त सम्ममा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर कमजोर रहेको राष्ट्र बैंकको तथ्याङ्कले नै देखाएको छ। चालू आर्थिक वर्षको ५ महिना अवधीमा कर्जाको वृद्धिदर १.६ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो१०.४ प्रतिशतले बढेको थियो । 

२०७९ मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर– वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६४.१ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३५.९ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६४ प्रतिशत र ३६ प्रतिशत रहेको थियो। 

निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह १.४ प्रतिशतले, विकास बैंकहरुको ३.८ प्रतिशत र वित्त कम्पनीहरुको ०.५ प्रतिशतले बढेको छ। 

२०७९ मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६६.८ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२.३ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ। २०७८ मंसिर मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६६.५ प्रतिशत र १२.४ प्रतिशत रहेको थियो। 

आर्थिक वर्ष २०७९/८० को पाँच महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ६.० प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ४‍.३ प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ३.९ प्रतिशतले, कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा ३.९ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा प्रवाह ३.५ प्रतिशतले र थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा २.५ प्रतिशतले बढेको छ।

५ महिना अवधीमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा ६.० प्रतिशतले, ओभरड्राफ्ट कर्जा ९.४ प्रतिशतले, ट्रष्ट रिसिट (आयात) कर्जा ०.२ प्रतिशतले, डिमान्ड तथा चालु पुँजी कर्जा ३.७ प्रतिशतले र रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ०.५ प्रतिशतले बढेको छ भने हायर पर्चेज कर्जा ५ प्रतिशतले र मार्जिन प्रकृति कर्जा ६ं७ प्रतिशतले घटेको राष्ट्र बैंकले बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .