ad ad

सुदूरपश्चिम


नागरिक उन्मुक्तिले छोडेपछि एमालेलाई चिठ्ठा, कोइलीदेवी बनिन् सुदूरपश्चिमको उपसभामुख

नागरिक उन्मुक्तिले छोडेपछि एमालेलाई चिठ्ठा, कोइलीदेवी बनिन् सुदूरपश्चिमको उपसभामुख

नेपालखबर
माघ ३, २०७९ मंगलबार १९:२९, कञ्चनपुर

सुदूरपश्चिम प्रदेश सभाको उपसभामुखमा नेकपा एमालेकी कोइलीदेवी चौधरी निर्वाचित भएकी छन्। 

मंगलबार बेलुका प्रदेश सभामा भएको मत विभाजनमा चौधरीको पक्षमा बहुमत आएसँगै उनी उपसभामुखमा निर्वाचित भएकी हुन्।

उपसभामुख चयनका लागि भएको मतविभाजनमा उनको पक्षमा २८ मत खसेको थियो भने विपक्षमा २३ मत खसेको थियो।

मतविभाजनमा ५१ जना सांसदले भाग लिएका थिए। एमालेकी चौधरीले प्रदेश सभामा तत्काल कायम प्रदेश सभा सदस्यको बहुमत प्राप्त गरेकोले उपसभामुखमा निर्वाचित भएको सभामुख भीमबहादुर भण्डारीले घोषणा गरे।

चौधरीको पक्षमा सत्तारुढ नेकपा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाले मतदान गरेका थिए।

यसअघि नेकपा एकीकृत समाजवादीका उपसभामुख उम्मेदवार माया पन्तको पक्ष/विपक्षमा भएको मत विभाजनमा उनको पक्षमा बहुमत नजुट्दा प्रस्ताव अस्वीकृत भएको थियो। उनको पक्षमा २४ र विपक्षमा २८ मत खसेको थियो। मतविभाजनमा ५२ जना सांसदले भाग लिएका थिए।

५३ प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा बहुमतका लागि २७ सांसद आवश्यक पर्छ। प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस १९, नेकपा एकीकृत समाजवादी ४ र  एक स्वतन्त्र सांसद प्रतिपक्षमा छन्। 

नेकपा माओवादी केन्द्र ११, एमाले १०, नागरिक उन्मुक्ति ७ र राप्रपा १ गरेर सत्तारुढ गठबन्धनका पक्षमा २९ सांसद छन्।

सत्तारुढ गठबन्धनको भागबण्डामा सुदूरपश्चिम प्रदेश सभाको उपसभामुख नागरिक उन्मुक्तिको भागमा परेको थियो। तर रेशम चौधरी लगायत कैदीबन्दी रिहाइ नभएको भन्दै नागरिक उन्मुक्तिले उपसभामुखमा उम्मेदवार नउठाएर छोड्ने निर्णय गरेको थियो।

सत्ता साझेदार दलहरुको भागबण्डामा नागरिक उन्मुक्तिको भागमा परेको उपसभामुख छोडेपछि एमालेले कोइलीदेवी चौधरीलाई उम्मेदवार बनाएको थियो। उनी कैलालीबाट समानुपातिक कोटामा प्रदेश सांसद चुनिएकी थिइन्।

यो सँगै सुदूरपश्चिम प्रदेश सभाले लामो रस्साकस्सी पछि सभामुख र उपसभामुख पाएको छ। यसअघि मंगलबार बिहान तेस्रो पटक भएको सभामुखको मतविभाजनमा माओवादी केन्द्रका भीमबहादुर भण्डारीले बहुमत पाएका थिए।

यसअघि २८ र ३० गतेको मतविभाजनमा कांग्रेसका मानबहादुर रावल र माओवादीका भीमबहादुर भण्डारी दुवैले बहुमत पाएका थिएनन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .