ad ad

कारोबार


उद्योग वाणिज्य मन्त्रालयमा अनुभवी मन्त्री दामोदर भण्डारी

व्यापार सहजीकरण र औद्योगिक विकासमा लाग्ने प्रतिबद्धता
उद्योग वाणिज्य मन्त्रालयमा अनुभवी मन्त्री दामोदर भण्डारी

उद्योगमन्त्री भण्डारी।


नेपालखबर
माघ ३, २०७९ मंगलबार १७:४२, काठमाडौँ

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा दामोदर भण्डारी नियुक्त भएका छन्। 

निरन्तर चुनाव जित्दै आएका उनलाई एमालेले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिएको हो। 

योसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको मन्त्रीमण्डलमा आर्थिक क्षेत्र बुझेका मन्त्रीको आगमन भएको छ। 

यसअघि भण्डारीले अर्थ राज्यमन्त्रीको समेत भूमिका निर्वाह गरिसकेकाले अनुभवी मानिएका हुन्। 

उनी २०७२ सालमा केपी शर्मा ओली नेतृत्वको सरकारमा अर्थ राज्यमन्त्री भएका थिए। २०७० र २०७४ सालमा समेत उनी सांसद थिए। गत निर्वाचनमा उनले नेकपा माओवादी केन्द्रका नरेन्द्रबहादुर कुँवरलाई पराजित गरेका थिए।  

आज उनले मन्त्रालयको कार्यभार समेत सम्हालेका छन्। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र अर्थ मन्त्रालयका कार्यहरु धेरै विषयहरु एक आपसमा गाभिएका छन्। वस्तु आपूर्ति होस् वा उद्योग धन्दाको नीति किन नहोस्, अर्थ र वाणिज्य मन्त्रालयको अन्तर्समन्वय चलिरहन्छ। 

उनले उद्योग मन्त्रालयको जिम्मेवारी पाउँदै गर्दा सचिवमा समेत अर्थ मन्त्रालयमै काम गरेका मधुकुमार मरासिनी छन्। 

मन्त्री र सचिव समेत अर्थ मन्त्रालय पृष्ठभूमिको भएका कारण उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा काम गर्न सहज हुने देखिएको छ। 

मन्त्रालयको कार्यभार सम्हाल्दा समेत मन्त्री भण्डारीले वस्तु आपूर्तिको व्यवस्था, उद्योग धन्दाको सुधार गर्ने विषय जोड दिएका छन्। उनले अहिलेको परिस्थिति तथा चुनौतीहरुलाई सम्भावनाको रुपमा अघि बढाउने दायित्व आइपरेको बताए।

उनले भने, ‘मन्त्रालयमा थुपै्र चुनौतीहरु देखिएका छन्। तर चुनौतीका पहाडमा उभिएर काम गर्नेछौँ। व्यापारघाटा न्यूनीकरणलाई प्राथमिकता दिनेछाँैं। समग्र समस्यालाई मात्रै हेर्ने हैन, सम्भावना हेरेर काम गर्नेछौँ।’ 

उनले विशिष्ट परिस्थितिमा नयाँ जनादेशबाट बनेको सरकारले साझा मुद्दामा सहमति गरेर सत्ता साझोदारहरुसँग छलफल गर्ने बताए। 

‘एकल पहलमा सम्भव छैन। हामी सबैको साझा प्रयासबाट सम्भव छ। सबै साथीहरुको नजिक रहेर सरकारको सहमतिमा नीतिगत समस्याको पहिचान गरेर अघि बढिनेछ’, उनले भने। 

नेपाली वस्तुहरुको बजार पहिचान र विश्वबजारको सुनिश्चितता समेत प्रमुख प्राथमिकता रहने उनको भनाइ छ। 

सेवामा रहँदा चुनौती र जिम्मेवारी मनन गर्दै समस्या समाधानमा समर्पित हुने अवसर रहेको उनले बताए। साथै महत्वपूर्ण घडीमा यसअघिका मन्त्रीहरुको अनुभव समेत लिने उनले बताए।

‘वस्तु आपूर्ति यस मन्त्रालयको महत्वपूर्ण जिम्मेवारी हो। पेट्रोलियम पदार्थको आपूर्ति, हिजोको नाकाबन्दी, रुस युक्रेनको युद्धले असरले पनि प्रभाव परेको छ’, उनले भने। 

उक्त प्रभाव कम गर्न आफूले तदनुकूल काम गर्ने बताए।  

उनले थपे, ‘नेपालका उद्योग व्यवसाय धराशायी हुँदै छन्। त्यसरी हाम्रो समृद्धिको लक्ष्य प्राप्ति हुँदैन। हामीले अहिले गरिबीमाथि जित गराएर जानुपर्नेछ। त्यसको लागि उद्योगधन्दाको विकास आवश्यक छ।’ 

को हुन् मन्त्री भण्डारी? 
मन्त्री भण्डारीको एमाले सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष समेत रहेका छन्। उनको पृष्ठभूमि हेर्ने हो भने २०४८ सालमा अनेरास्ववियू बैतडी जिल्ला कमिटीको अध्यक्ष भएका थिए। 

त्यस्तै राजनीतिक यात्राको क्रममा उनी २०५० मा एमालेको बैतडी जिल्ला कमिटी सदस्य बनेका थिए। २०७५ सालमा नेकपाको सुदूरपश्चिम प्रदेश कमिटी सदस्य बनेका थिए। 

उनले आज मन्त्रीको पदभार ग्रहण गर्ने समयमा समेत बैतडीका जनतालाई सम्झिँदै उनीहरुप्रति उच्च सम्मान रहेको बताए। 

३ पटक निर्वाचित गराएको र यहाँसम्म ल्याउन बैतडीका जनताको नै हात रहेको र उनीहरुको जनभावनालाई उच्च कदर गर्ने उनीहरुको सपनालाई समेत ध्यान दिने बताए। उनले जनभावनाअनुसार अघि बढ्ने र उद्योग वाणिज्य क्षेत्रमा देखिएका समस्या समाधान गर्ने बताए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .