चिनियाँ अर्बपति ज्याक माले आफ्नो कम्पनी आन्ट ग्रुपको नियन्त्रण त्याग्ने भएका छन्। कम्पनीमा हालसम्म उनको मताधिकार ५० प्रतिशत छ। अब त्यो खुम्चेर ६.२ प्रतिशतमा झर्ने भएको हो।
अनलाइन भुक्तानी र ऋणदाता कम्पनी आन्ट ग्रुप पछिल्लो समय चीन सरकारको पेलाइमा पर्दै आएको छ। सरकारले प्रविधि क्षेत्रमा कडा नीति अख्तियार गर्न थालेपछि माले कम्पनीमा नेतृत्वदायी भूमिका छाड्ने प्रक्रिया सुरु गरेका हुन्।
नोभेम्बर २०२० मा सो कम्पनीले विश्वकै ठूलो आईपीओ ल्याउन आँटेको थियो। तर, अन्तिम समयमा सरकारले आईपीओ रोकिदिएको थियो।
त्यसयता सो कम्पनी समस्यामा छ। त्यसैले गत जुलाईमा माले कम्पनीको नियन्त्रण त्याग्ने योजना सार्वजनिक गरेका थिए।
यो परिवर्तनपछि हङकङको सेयर बजारमा सूचीकृत हुने प्रयास गर्न सो कम्पनीले एक वर्ष पर्खिनुपर्ने हुन्छ।
माले स्थापना गरेको ईकमर्स कम्पनी अलिबाबाबाट आन्टलाई २०११ मा छुट्याएका थिए।
२०२० को आईपीओ रोकिनुअघि माले चिनियाँ नियामक निकायहरु र सरकारी बैंकहरुको आलोचना गरेका थिए। सो आलोचनापछि सरकारले कम्पनीमाथि छानबिन सुरु गरेको थियो। सधैँ चर्चाको शिखरमा रहने मा त्यसपछि भने गुपचुप रहँदै आएका छन्।
मा एकाएक चर्चाबाट गायब भएपछि पश्चिमा सञ्चारमाध्यममा भने उनलाई सरकारले बेपत्ता बनाएको अड्कलबाजी गरिएको थियो।
हाल ज्यादाजसो समय मा चीनबाहिर रहँदै आएका छन्। पछिल्लो समय केही महिना उनी टोकियोमा थिए।
पछिल्लो परिवर्तनले सेयर कम्पनीको सेयर होल्डिङ संरचना पारदर्शी हुने कम्पनीले जनाएको छ। विश्लेषकहरुले यससँगै कम्पनीमाथिको छानबिन टुंगोमा पुगेको अनुमान गरेका छन्।
केहीले मुख्यभूमि चीनमा कम्पनी सूचीकृत हुने सम्भावना कम रहेकाले हङकङमा सूचीकृत हुनसक्ने बताएका छन्। एजेन्सी
Shares

प्रतिक्रिया