प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रको वर्तमान अवस्थाबारेमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग छलफल गरेका छन्।
प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरणका अनुसार पौडेल र अधिकारीसँग देशको वर्तमान अर्थतन्त्रको अवस्था, बैंकिङ क्षेत्रमा देखिएका समस्या र तत्काल सुधार गर्नुपर्ने विषयबारे कुरा भएको छ।
सरकारी निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले बैंकिङ क्षेत्रमा पछिल्लो समयमा देखिएका समस्या तथा चुनौतीहरुबारे चासो राखेको उनले बताए।
छलफलका क्रममा अहिले कायम बैंकहरुको ब्याजदर घटाउन र तरलताको समस्याबारे मौद्रिक नीतिमा सुधारका साथै अरु पहलकदमी लिनुपर्नेमा प्रधानमन्त्रीले जोड दिएका छन्।
छलफलका प्रधानमन्त्री प्रचण्डले देशको अर्थतन्त्रमा देखिएको चुनौतीका कारण जनतामा परेको असरलाई न्यूनीकरण गर्ने उपायहरुको खोजी गर्न पनि दुवैजनालाई आग्रह गरेका छन्।
प्रधानमन्त्रीले अनुत्पादक क्षेत्रमा ऋण प्रवाह रोक्न, अर्थतन्त्रको अवस्थाबारे जनतालाई सुसूचित गरेर सचेत बनाउन आवश्यक रहेको पनि बताएका छन्।
Shares

प्रतिक्रिया