ad ad

कारोबार


विदेशी मुद्रा सञ्चिति बढेसँगै आयात खुकुलो बनाइँदै, प्रतिबन्धित वस्तुबारे छलफल सुरु

विदेशी मुद्रा सञ्चिति बढेसँगै आयात खुकुलो बनाइँदै, प्रतिबन्धित वस्तुबारे छलफल सुरु

फाइल तस्बिर


दीपक भट्ट
मंसिर १९, २०७९ सोमबार १८:२१, काठमाडौँ

आयात प्रतिबन्धबारे सरकार केही लचिलो हुने देखिएको छ। 

विदेशी मुद्रा सञ्चितिको अवस्थामा पछिल्लो समय केही सुधार आएसँगै नेपालले वस्तु आयातलाई केही खुकुलो बनाउन लागेको हो। 

२०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २.५ प्रतिशतले वृद्धि भई २०७९ असोज मसान्तमा १२ खर्ब ४६ अर्ब २२ करोड पुगेको छ। 

जुन चालू आर्थिक वर्षको सबैभन्दा उच्च विन्दु हो। आर्थिक वर्ष २०७९/८० को तीन महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले ९.६ महिनाको वस्तु आयात र ८.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ। 

सकारात्मक सूचकसँगै नेपाल राष्ट्र बैंकले नगद मार्जिनको व्यवस्थामा केही लचकता देखाइसकेको छ भने सरकारले पनि प्रतिबन्ध गरेको वस्तु खुलाउनेबारे छलफल अघि बढाएको छ। 

शुक्रबार राष्ट्र बैंकको विदेशी विनिमय विभागले परिपत्र जारी गरेर मार्बल, टायल, प्लास्टिक, सिमेन्ट, काँचका सामान, सेरामिकलगायत वस्तु आयातका लागि प्रतीतपत्र खोल्दा शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था हटाएको थियो। 

त्यस्तै गाडी, मोटरसाइकल, हवाइजहाजलगायतमा बिछ्यौनाका रूपमा प्रयोग हुने कपडामा समेत नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो। गत वर्षदेखि ४७ वस्तुमा नगद मार्जिनको व्यवस्था गरेकामा अझै धेरै वस्तुमा नगद मार्जिनको व्यवस्था कायमै छ। 

यता गत वैशाख ११ गतेदेखि निश्चित वस्तुहरु तोकेर आयात प्रतिबन्ध लगाइएको थियो। 

सुरुमा कुर्कुरे, कुर्मुरे लेज, तयारी मदिरा, चुरोट तथा सुर्तीजन्य वस्तु, हिरा, मोबाइल फोन सेट, ३२ इन्चभन्दा माथिका रंगीन टेलिभिजन, जिप, कार र भ्यान, २५० सीसीभन्दा माथिका मोटरसाइकल, खेलौना, तासको आयात रोकिएको थियो।

तर अहिले  पनि तीमध्ये ४ वस्तुमा मात्रै प्रतिबन्ध कायम छ। तिनमा एम्बुलेन्सबाहेकका निजी गाडी, ३०० डलरमाथिको मोबाइल फोन, १५० सीसीमाथिका मोटरसाइकल र मदिरा मात्र छन्। यो व्यवस्था मंसिर मसान्तसम्मको लागि कायम छ। 

मंसिर मसान्तअघि नै खुल्ला गर्ने विषयमा अहिले अर्थ मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले छलफल गरिरहेका छन्। 
गत महिना नै वाणिज्य मन्त्रालयले अर्थसँग राय माग गरेको थियो। त्यसमा अर्थ मन्त्रालयले उचित निर्णय आफैँ लिनसक्ने जवाफ फर्काएको थियो। 

यो अस्पष्ट राय आएको भन्दै अर्थसचिव कृष्णहरि पुस्कर र वणिज्य सचिव तोयम रायबीच केही दिनअघि समेत छलफल भएको वाणिज्य मन्त्रालयका एक अधिकारीले बताए। 

उनले भने, ‘अर्थबाट अस्पष्ट जवाफ आएपछि वाणिज्य सचिवले अर्थ मन्त्रालय नै राजस्वको संकलन गर्ने निकायहरु चलाउने भएकाले उसले स्पष्ट गर्नुपर्ने अडानमा थिए। सोहीअनुसार छलफल भएको हो।’

नयाँ सरकारलाई पर्खिने कि नपर्खिने?
आमनिर्वाचन सम्पन्न भइसकेको छ। निर्वाचनले कुनै पनि दललाई बहुमत दिएको छैन। धेरै दल मिलेर सरकार बनाउनुपर्ने अवस्था समेत देखिएको छ। त्यसकारणले सरकार बन्न केही समय लाग्ने समेत देखिएको छ। 

वाणिज्यमन्त्री र अर्थमन्त्री समेत केही निर्णय गरेर बाहिरिने मनसायमा रहेको वाणिज्यका ती अधिकारीको भनाइ छ। यसअनुसार प्रतिबन्धित वस्तु खुलाउने वा कायम गर्ने विषयको निर्णय यही सरकारले गरेर जाने उनको तर्क छ। सोही कारण यही सरकारले आयात प्रतिबन्ध खुलाउने नखुलाउने विषयमा निर्णय लिनसक्ने वाणिज्यको अनुमान छ। 

आयात प्रतिबन्धको अन्तिम समय मंसिर मसान्त हो। यदि आयात खुलाउने हो भने त्योभन्दा अघि पनि निर्णय समेत गर्न सकिने भएकाले यही सरकारले नै त्यसमा निर्णय लिने ती अधिकारी बताउँछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .