ad ad

कारोबार


सुकुम्बासी प्रकरणमा वडाध्यक्षबाट घेरिए बालेन्द्र, प्रक्रिया पूरा नगरेको आरोप

सुकुम्बासी प्रकरणमा वडाध्यक्षबाट घेरिए बालेन्द्र, प्रक्रिया पूरा नगरेको आरोप

फाइल तस्बिर


नेपालखबर
मंसिर १४, २०७९ बुधबार १४:१८, काठमाडौँ

काठमाडौं महानगरपालिका वडाध्यक्षको बैठकले समन्वय गरेर मात्रै सुकुम्बासी बस्ती हटाउने निर्णय गरेको छ। 

बुधबार बिहान बसेको बैठकमा वडाध्यक्षहरुले मेयरलाई प्रक्रियागत कुरामा प्रश्न उठाएपछि समन्वयपछि मात्रै हटाउने अभियान थाल्ने निर्णय भएको हो। 

महानगरका वडाध्यक्षहरुको बैठकमा उनीहरुले समन्वयविनै डोजर लगेर गएको विषयमा मेयर बालेन्द्र शाहलाई प्रश्न उठाएका थिए। निर्वाचनपछि सरकार नबनेको अवस्थामा समन्वयविनै डोजर लगेर जान नहुने अधिकांश वडाध्यक्षले भनाइ राखेका थिए।  

बैठकमा वडाध्यक्षहरुलाई जवाफ दिँदै मेयर बालेन्द्र शाहले डोजर लगेर भत्काउन नभई घोषणा गर्न मात्रै गएको बताएका थिए। वडाध्यक्षले डोजर लगेर गएको विषयमा प्रश्न गर्दा अन्य प्रयोजनका लागि डोजर लगेको बालेन्द्रको जवाफ थियो। 

‘कानुनी रुपमै तिमीहरु हट्नुपर्छ भन्ने निर्णयपछि पनि नहटे अन्तिम विकल्प मात्रै डोजर हुनसक्छ’, वडा नम्बर ७ का वडा अध्यक्ष विमल कुमार होडाले नेपालखबरसँग भने, ‘बैठकमा अब सम्बन्धित निकायसँग समन्वय गरेर मात्रै अघि बढ्ने कुरा भएको छ।’

मेयर बालेन्द्रले बैठकमा सुकुम्बासीले हतियारसहित आतंक मच्चाउन खोजेको बताए। वडाध्यक्षहरुले भने समन्वय नहुँदा आफ्नो सुरक्षाको लागि सुकुम्बासीले त्यस्तो गर्नसक्ने धारणा राखेका थिए।  

काठमाडौं महानगरका प्रवक्ता नवीन मानन्धरले सरोकारवाला निकायसँग थप सहकार्य र समन्वय गर्नुपर्छ भन्ने बैठकमा निर्णय भएको बताए।

‘घाइते नगर प्रहरीको स्वास्थ्यलाभको कामना र सरोकार निकायसँग सहकार्यसँगै समन्वय गर्नुपर्छ भन्ने निर्णय भयो’, प्रवक्ता मानन्धरले भने। 

काठमाडौं महानगरले हटाउनुपर्छ भन्ने पक्षमै रहेको तर प्रक्रियागत रुपमा जानुपर्छ भन्नेमा वडाध्यक्षहरुले धारणा राखेका थिए।  

‘हामी सबै कार्यपालिका सदस्य हटाउनुपर्छ भन्ने पक्षमै छौँ’, होडाले भने, ‘प्रक्रियागत कुरा मिलेन मात्रै भन्ने हो। चुनावलगत्तै डोजर लैजान हुँदैनथ्यो।’

नेपाल सरकार, प्रदेश सरकार, आयोगसँग समन्वय गरी हटाउने बैठकमा छलफल भएको थियो।    

वाग्मती किनारामा बसेका ‘खोलाबासी’लाई हटाउनुपर्छ भन्ने महानगरको निष्कर्ष रहेको होडाको भनाइ छ। 

प्रहरी प्रयोग गर्ने अधिकार सीडीओलाई छ। तर काठमाडौंका प्रमुख जिल्ला अधिकारीले अहिले नसक्ने बताएको बारे पनि बैठकमा कुरा भएको थियो। 

‘कुनचाहिँ साँच्चिकै सुकुम्बासी हुन् कुन होइनन् भनेर अध्ययन हुनुपर्छ’, होडाले भने, ‘खोला किनारबाट हटाउनैपर्छ। साँच्चै बासस्थान नभएकालाई अपार्टमेन्टमा राख्न सकिन्छ।’

काठमाडौं वडा नम्बर ११ का वडा अध्यक्ष हिराललाल तण्डुकारले महानगरले नेपाल सरकारलाई सहयोग मात्रै गर्ने बताए। उनले अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको सहयोगका लागि मात्रै गएको दाबी गरे। 

‘अब काठमाडौं महानगरले आफैँ डोजर लिएर जाँदैन। संघीय सरकारले जे निर्णय गर्छ, त्यसमा सहयोग गर्छ’, तण्डुकारले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .