कारोबार


द्वन्द्वले असुरक्षासँगै बन्द भए, अहिले गाईगोठ बन्दै छन् मोरङका छोटी भन्सार

७० करोडको भवन दुई वर्षदेखि बन्द
द्वन्द्वले असुरक्षासँगै बन्द भए, अहिले गाईगोठ बन्दै छन् मोरङका छोटी भन्सार

ध्रुव भट्टराई
मंसिर १३, २०७९ मंगलबार १५:११, विराटनगर

मोरङ जिल्लामा रहेका ९ वटा छोटी भन्सार कार्यालयहरू प्रयोगमा नआउँदा गौचरणमा परिणत भएका छन्।

लामो समयदेखि कार्यालय बन्द रहेपछि स्थानीयले कतिपय छोटी भन्सार कार्यालयलाई गाई गोठका रूपमा प्रयोग गर्न थालेका छन्।

सरकारले केही छोटी भन्सार कार्यालय प्रयोगमा ल्याउन नयाँ भवन समेत बनाएको थियो तर ती भवन प्रयोगमा आउनसकेका छैनन्।

रानी भन्सार कार्यालयका अनुसार जिल्लामा ९ वटा छोटी भन्सारमध्ये डाइनिया, मायागन्ज छोटी भन्सार मात्र सञ्चालनमा छन्।

सञ्चालनमा रहेका ती कार्यालय पनि एक जना नायब सुब्बास्तरका कर्मचारी र कार्यालय सहयोगीको भरमा चलेका छन्। डाइनिया छोटी भन्सार कार्यालयबाट नगन्यरुपमा राजस्व असुली हुने गरेको छ।

डाइनिया छोटी भन्सार कार्यालय सञ्चालनमा रहे पनि राजस्व असुलीमा यसको योगदान शून्यको अवस्थामा रहेको रानी भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ।

जिल्लामा तत्कालीन बुधनगर गाविसको मधुमल्ला, मझारेको तरिगमा, बरडंगाको चुनिबारी र तत्कालीन महादेवा गाविसको चौकीघाट छोटी भन्सार रहेका थिए।

सशस्त्र द्वन्द्वको समयमा ती छोटी भन्सार कार्यालयहरू असुरक्षाका कारण देखाउँदै २०५३/०५४ देखि बन्द भएका थिए।

हालसम्म सरकारले बन्द छोटी भन्सार कार्यालय खुलाउन चासो देखाएको छैन। जसका कारण कतिपय कार्यालयहरूका भवन भत्कन लागेका छन्।

भवन नभएकाहरूको जग्गा अतिक्रमण भएको छ। छोटी भन्सार कार्यालयका भौतिक संरचना रेखदेखमा कसैले चासो नदिएका कारण स्थानीयले भने ती कार्यालयलाई गाईगोठका रूपमा प्रयोग गदै आएका छन्।

सरकारले राणाकालीन समयमै अवैध ओसारपसार नियन्त्रण गर्न छोटी भन्सार कार्यालय स्थापना गरेको थियो । तर बन्द भएका छोटी भन्सार कार्यालय सञ्चालनमा चासो नदिँदा लाखौँ रुपैयाँको राजस्व समेत खेर गइरहेको छ ।

रानी भन्सार कार्यालयका सूचना अधिकारी रामचन्द्र ढुंगानाले १० वर्षे माओवादी द्वन्द्वकालमा बन्द भएका सात छोटी भन्सार अझै सञ्चालनमा आउन नसकेको बताए।

‘जिल्लामा रहेको भनिएका छोटी भन्सारहरु कार्यालयको अभिलेखमा खुलेका देखिन्छन् तर ती सक्रिय अवस्थामा छैनन्’, गौतमले भने, ‘खोलिएका कार्यालयमा कर्मचारी दरबन्दी समेत छैन, यहीबाट कर्मचारी आलोपालोमा मिलाएर कार्यालय सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ।’

७० करोडको भवन दुई वर्षदेखि बन्द
भन्सारसम्बन्धी कार्य वि.सं. १९७२ सम्म रंगेलीको छोटी भन्सारबाट गरिन्थ्यो। रंगेलीमा सदरमुकाम रहेसम्म फारविसगन्जबाट रङेलीबीच सोझै माल वस्तु निकासी पैठारी हुने गरेको थियो।

छोटी भन्सार कार्यालय पुनः सञ्चालन गर्ने उद्देश्यले दुई वर्षअघि कार्यालय परिसर पिछडी ७० करोडको लागतमा दुई तले नयाँ भवन बनाइएको छ, तर हालसम्म प्रयोगमा आएको छैन।

जसका कारण कार्यालयमा लामो समयदेखि कर्मचारी नबसेपछि स्थानीयले छोटी भन्सार कार्यालयलाई गाई गोठका रूपमा प्रयोग गर्दै आएका स्थानीय जुपर मण्डलले बताए।

मोरङमा राणाकालीन समयमै अवैध ओसारपसार नियन्त्रण गर्न सरकारले छोटी भन्सार कार्यालय स्थापना गरेको थियो।

द्वन्द्वकालमा मधुमल्ला छोटी भन्सार र तरिगमा छोटी भन्सार कार्यालयका भवनमा बम विस्फोट गराएर ध्वस्त बनाइएको थियो। तिनको पुनर्निर्माण गरिएको छैन।

गत वर्ष मोरङको डाइनिया छोटी भन्सार सञ्चालनमा आएको छ। योसँगै तत्कालीन सोराभाग गाविसमा रहेको माया गन्ज छोटी भन्सार चालू अवस्थामा छ। तर सो छोटी भन्सार पनि कार्यालय सहयोगीको भरमा चलेको छ।

यतिसम्म कि खुलेआम अवैध ओसारपसार हुने क्रम भइरहे पनि अवैध क्रियाकलापलाई रोक्ने नसकिएको मायागन्ज छोटी भन्सारका कार्यालय सहयोगी नारायण चौधरी बताए।

चौधरीका अनुसार मायागन्ज छोटी भन्सारका कार्यालयआसपासको क्षेत्रबाट दिउँसोको समयमा गाई गोरु तस्करी हुने गरे पनि आफूहरूले नियन्त्रण गर्न नसकेको बताए।

भन्सार विभागले छोटी भन्सारबाट प्रतिव्यक्ति वा फारम १५ हजारभन्दा बढीका सामान पास गर्न नपाउने नियम बनाएको छ।

जसका कारण सञ्चालनमा रहेकामध्ये डाइनिया छोटी भन्सारबाट गएको आर्थिक वर्षमा ८ लाख २० हजार राजस्व सङ्कलन भएको छ। जिल्लामा यसबाहेक विराटनगरको रानीमा मुख्य भन्सार कार्यालय रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad