कारोबार


व्यापारी भन्छन् : चिनियाँ नाका राम्रोसँग सञ्चालन हुन नसक्दा जाडोका कपडा आउन सकेनन्

व्यापारी भन्छन् : चिनियाँ नाका राम्रोसँग सञ्चालन हुन नसक्दा जाडोका कपडा आउन सकेनन्

नेपालखबर
कात्तिक ३०, २०७९ बुधबार १५:६, काठमाडौँ

जाडो बढेपनि बजारमा न्यानो कपडाहरुको व्यापार बढ्न नसकेको व्यापारीहरुले बताएका छन्।

काठमाडौंको मुख्य व्यापारिक केन्द्र न्युरोड तथा असनका व्यापारीहरुले गत वर्षको भन्दा यो वर्षको तुलनामा जाडो महिनामा लगाउने न्यानो कपडाको व्यापार ३० प्रतिशत कम भएको गुनासो गरेका हुन्।

उनीहरुले विगतका वर्षहरुमा जाडो महिना लागेसँगै बजारमा न्यानो कपडा किन्न मानिसहरुको भीड लाग्ने गरेपनि यो वर्ष सुनसान रहेको बताए। उनीहरुले पछिल्लो समय बैंकको ब्याजदर उच्च वृद्धि तथा चिनियाँ नाका खोल्ने र बन्द गर्ने काम भइरहेकाले साना व्यापारीहरु मर्कामा परेको गुनासो गरे।

व्यापारीहरुले बजारमा न्यानो कपडाको अभाव नभएको तर ग्राहकले रिटेलमा किन्ने मूल्य होलसेल मूल्य पर्नेगरी मूल्य वृद्धि भएको बताएका छन्।

काठमाडौं न्युरोड रञ्जना मलका कपडा होलसेल व्यापारी नवराज तिमिल्सिनाले गत वर्षको भन्दा यस वर्ष शुरुवाती चरणमा न्यानो व्यापारमा ३० प्रतिशतले कमी आएको बताए। उनले न्यानो कपडा तथा अन्य फेन्सी कपडाहरु चीनबाट आउने भएकाले सामान आयात गर्न समस्या रहेको पनि बताए।

उनले चीन जानको लागि पनि भिसाको समस्या भएकाले फोटोको आधारमा अडर गर्दा सामान अर्कै आउने गरेको बताए। उनले चिनियाँ नाकामा कहिले खुल्ने र कहिले बन्द हुने समस्याले सामान अर्डर गरेको ९ महिनासम्म पनि सामान काठमाडौं आइनपुग्ने ठूलो समस्या रहेको बताए।

उनले सामान अर्डर गरेको ९ महिनासम्म सामान नआउँदा साना व्यापारीहरु ठूलो मर्कामा पर्ने गरेको बताए। उनले नेपाल सरकारले साना व्यापारीहरुलाई पनि गरिखाने वातावरण सहज बनाउनको लागि चिनियाँ नाका सहज बनाइ दिनुपर्ने बताए।

उनले बैंकहरुमा ब्याजदर वृद्धि हुने, भन्सार दरमा वृद्धि हुने, सामान आउन समय लाग्ने भएर व्यापार नहुने तर घरभाडा बढी रहने समस्याले साना व्यापारीहरु पीडित रहेको बताए। 

उनले भने,‘ गत वर्षको तुलनामा जाडो लागे पनि व्यापार कम छ। सामान आयातमा नै समस्या छ। आफू स्वयम गएर सामान ल्याउन सक्ने अवस्था नभएकाले फोटो हेरेर समान अर्डर गर्दा फोटो एउटा समान अर्कै आउने समस्या छ। चीनबाट आउने समानहरु अर्डर गरेको ९ महिनासम्म पनि समान आइपुग्दैन। सामान ल्याउँदा चीनमा सहज हुँदा नेपालमा समस्या र नेपालमा सहज हुँदा चीनमा समस्या हुने भएको छ। सरकारले साना व्यवसायीहरुलाई काम गर्ने वातावरण बनाई दिनुपर्छ। बैंकहरुमा ब्याजदर वृद्धि, भन्सार दरमा वृद्धि, सामान आउन समय लाग्ने,व्यापार ३० प्रतिश कमी आएको अवस्था रहेको छ। तर घरभाडा बढेको अवस्थाले साना व्यापारीहरु पीडित रहेका छौं।’

व्यापारीहरुले ग्राहकहरुले खोजे जस्तो न्यानो कपडा आयात गर्नको लागि मुख्य समस्या हुँदा व्यापारमा समेत असर परेको गुनासो गरेका छन्। उनीहरुले सामानहरुको मूल्य वृद्धि भएर आएकाले पनि व्यापार गर्न कठिन भएको व्यापारीको भनाइ छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad