ad ad

कारोबार


तिलोत्तमाद्वारा प्रादेशिक बसपार्कको अवधारणा, लागत ८० करोड

तिलोत्तमाद्वारा प्रादेशिक बसपार्कको अवधारणा, लागत ८० करोड

प्रकाश न्यौपाने
पुस २, २०७६ बुधबार १२:४४,

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले प्रादेशिक बसपार्क निर्माणको अवधारणा अघि बढाएको छ। सवारीसाधनको चाप बढ्दै जाँदा जिल्लामा अहिलेका बसपार्क साँघुरा हुँदै गइरहेका छन्। यसको सहजताका लागि तिलोत्तमाले प्रादेशिक बसपार्कको अवधारणा ल्याएको हो। अहिले भैरहवा र बुटवलमा गरी जिल्लामा दुईवटा बसपार्क छन् तर ती यी दुवै बढ्दो सवारी चाप थेग्नसक्ने क्षमताका छैनन्।

भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँदा सवारी चाप थप बढ्ने भएकाले पनि यहाँ सुविधासम्पन्न बसपार्कको खाँचो छ। यस्तै, भारतसँग सीमा जोडिएको जिल्ला, विश्व पर्यटन केन्द्र लुम्बिनी, विशेष आर्थिक क्षेत्र (सेज), मुलुककै दोस्रो ठूलो भन्सार नाका, स्थलमार्गबाट सबैभन्दा बढी पर्यटक आउने नाका लगायतका कारणले पनि रुपन्देहीमा ठूलो र दीर्घकालीन योजनासहितको बसपार्क जरुरी छ।

यसैलाई मध्यनजर गरी नगरपालिकाले प्रादेशिक बसपार्कको अवधारणा ल्याएको नगरप्रमुख बासुदेव घिमिरेले जानकारी दिए। नगरपालिकाको वडा नं. १३ तीनधुरास्थित नदी उकास क्षेत्रमा पर्ने १८ बिघा जमिनमा प्रादेशिक बसपार्क निर्माण गर्ने गरी प्रारम्भिक अवधाारणा तयार गरिसकेको छ।

‘बसपार्कमा पेट्रोल पम्प, आवास गृह तथा होटल, रेष्टुरेन्ट, इलेक्ट्रिक चार्जिङ स्टेसन, लामो र छोटो दुरिका सवारीसाधनका लागि अलग्गै पार्किङ क्षेत्र रहने गरी डिजाइन तयार गरिएको छ’, घिमिरेले भने, ‘हामीले सुविधा सम्पन्न, प्रविधियुक्त र स्तरीय सेवासहितको बसपार्कको लागत ८० करोड हुने अनुमान गरेका छौं।’ प्रस्तावित बसपार्क निर्माण स्थल निर्माणाधीन गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलबाट उत्तरतर्फ ६ किलोमिटर दूरीमा पर्छ।

बसपार्क निर्माणका लागि तिलोत्तमा नगरपालिकाले ४८ करोड र प्रदेश पाँच सरकारले ३२ करोड लगानी गर्ने गरि प्रस्ताव अघि सारिएको छ। चालु आर्थिक वर्ष २०७६÷०७७ मा नगरपालिकाले १ करोड बजेट बिनियोजन गरेर बसपार्कको डीपीआर तयार गर्ने प्रक्रिया अगाडि बढाएको छ। बसपार्कमा मर्मत सम्भारका लागि वर्कसप, एकैपटकमा २५० वटा बस पार्किङ गर्न मिल्नेगरी पार्किङ क्षेत्र र ३० वटा बसले यात्रु सेवा प्रवाह गर्न मिल्नेगरी नगरपालिकाले तत्काल बसपार्कको डिजाइन तयार पारिसकेको छ।

यस्तै, ट्याक्सी तथा निजी सवारीसाधन पार्किङ गर्न मिल्ने, बसपार्कभित्र यात्रु तथा सवारी साधनका चालक छोटोसमय आराम गर्न मिल्नेगरि प्रतिक्षाकक्ष तथा आराम कक्ष, सुरक्षा पोष्ट, स्वास्थ्य चौकी समेत निर्माण गरिने गरी डिजाइन तयार पारिएको हो। नगरपालिकाले आफूले तयार पारेको प्रादेशिक बसपार्कको प्रारम्भिक अवधारणाको डिजाइन प्रदेश पाँचको भौतिक पूर्वाधार विकास मन्त्रालयमा पेससमेत गरेको छ।

बुधबार मन्त्रालयमा भएको छलफलमा प्रदेश ५ का भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले तिलोत्तमाले ल्याएको योजना महत्वपूर्ण र दीर्घकालीन रहेको जनाए। उनले भने, ‘योजना राम्रो छ। डीपीआर बनाउनुस् निर्माणमा बजेट अभाव हुँदैन।’ यद्यपि उनले अझै अध्ययन गरेर थप दीर्घकालीन सोचका साथ डीजाइन बनाउन नगरपालिकालाई आग्रह गरे।

‘अन्तर्राष्ट्रिय विमानस्थल, विश्व पर्यटन केन्द्र लुम्बिनी, यहाँका स्थानीय र अन्य सहरहरुबाट पनि बसपार्कमा आउजाउ गर्न सहज हुने गरी पहुँचमार्ग निर्माणलाई समेत समेटेर गुरुयोजना बनाउनुस्’, उनले भने। प्रदेश पाँचका उद्योग, पर्यटन, वन तथा बातावरण मन्त्री लिला गिरीले केही अन्य थप कुराहरुलाई ध्यानमा राखेर अझै विस्तृत डिजाइन तयार पार्न आग्रह गरे। उनले भने, ‘कम्तिमा आगामी ५० वर्षलाई अनुमान गरेर बसपार्कको डिजाइन तयार गर्नुपर्छ। तपाईंहरुले त्यहीअनुसार डिजाइन तयार पार्नुस्।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .