कारोबार


५ वर्षमा हरेक सूचकमा अब्बल : न्यौपानेको नेतृत्वमा एन आई सी एशिया बैंक कसरी भयो सफल?

५ वर्षमा हरेक सूचकमा अब्बल : न्यौपानेको नेतृत्वमा एन आई सी एशिया बैंक कसरी भयो सफल?

नेपालखबर
कात्तिक २१, २०७९ सोमबार १३:११, काठमाडौँ

एन आई सी एशिया बैंकमा रोशन कुमार न्यौपाने फेरि प्रमुख कार्यकारी अधिकृत (सीईओ) बनेका छन्। आगामी मंसिर १५ देखि औपचारिक रुपमा उनले दोस्रो कार्यकालको कार्यभार सम्हाल्दै छन्। 

न्यौपानेको नेतृत्वसँगै बैंकले विगत ५ वर्षमा आफूलाई अब्बल साबित गरिसकेको छ। अधिकांश वित्तीय सूचकमा पहिलो नम्बरमा आउनु उनको कार्यकुशलताको नमूना हो। 

कर्जा–निक्षेपदेखि ग्राहक संख्या बढाउनेसम्म, खुद मुनाफा आर्जनदेखि प्रतिशेयर आम्दानीसम्म र स्वपुँजीको प्रतिफलदेखि आक्रामक शाखा सञ्जाल विस्तारसम्म न्यौपानेको नेतृत्वमा बैंकले आफूलाई अब्बल दर्जामा राख्न सफल भएको छ। 

आव २०७३/०७४ मा वासलातको आकारका दृष्टिले एन आई सी एशिया बैंक १०१.१९ अर्ब रुपैयाँसहित १० औँ स्थानमा रहेकामा गत आवसम्म आइपुग्दा त्यो ३५८.४२ अर्ब पुगिसकेको छ। न्यौपाने बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत नियुक्त भएपछि वासलातको आकार झण्डै ४ गुणाले बढेको हो। आजको मितिसम्म  समग्र वाणिज्य बैंकिङ क्षेत्रमै दोस्रो स्थान हो। 

वासलातको आकारमा मात्र होइन बैंकले त्यतिबेला ७२ अर्ब मात्रै रहेको कर्जालाई विस्तार गर्दै गत आवसम्म २६८.२४ अर्ब पु¥याइसकेको छ। समग्र बैंकिङ क्षेत्रमा यस्तो वृद्धि २.४३ गुणामात्रै रहेकामा बैंकले ३.७२ गुणाले वृद्धि गर्न सफल भएको छ। न्यौपानेको नेतृत्वकालमा बैंकले आक्रामक रुपमा निक्षेप संकलन गरेको छ। आव २०७३/०७४ मा ८६.७ अर्ब निक्षेप संकलन गरेको बैंकले गत आवसम्म २९४.९८ अर्ब पुर्याएको छ। यसमा पनि समग्र बैंकिङ क्षेत्रको हिसाबमा दोस्रो स्थान हो। 

बैंकको चल्ती तथा बचत खाता (कासा डिपोजिट) मा पनि बैंकले ४.१५ गुणाले वृद्धि गर्दै १२ औं स्थानबाट तेस्रो स्थानमा फड्को मार्न सफल भएको छ। आ.व. २०७३/७४ मा कासा डिपोजिट २८.२७ अर्ब रुपैयाँ रहेकोमा गत आ.व.सम्म आइपुग्दा ११७.३९ अर्ब रुपैयाँ पुगेको छ। यस अवधिमा समग्र बैंकिङ्ग क्षेत्रको कासा डिपोजिट वृद्धि १.९३ गुणामात्र वृद्धि भएको छ। 

आक्रामक रुपमा बढे ग्राहक संख्या
न्यौपानेले कमान्ड सम्हालेयता एन आई सी एशिया बैंकले आक्रामक रुपमा ग्राहक संख्या बढाएको छ। बैंकका अनुसार बितेको ५ वर्षमा ग्राहकमात्रै ६ गुणाले बढेका छन्। ५ वर्षअघि ५ लाख ७१ हजार ग्राहक रहेको बैंकका गत आवसम्ममात्रै ३४ लाख ५४ हजारभन्दा बढी ग्राहक संख्या छ। त्यसमा कर्जा लिने ग्राहक मात्रै ३ गुणाले बढेर ९३ हजार ८ सय पुगेका छन्।

डिजिटल कारोबारलाई आत्मसात् : समय र प्रविधिसँगसँगै 
यी सबै सफलताका पछाडि न्यौपानेको नेतृत्वमा बैंकले आत्मसात् गरेको दीर्घकालीन रणनीतिको पनि उत्तिकै योगदान छ। जस्तो कि बैंकले डिजिटल कारोबारलाई प्रमुखताका साथ आत्मसात् गरेको छ। 

त्यसैको परिणाम आज एन आई सी डिजिटल कारोबारलाई जोड दिने अग्रणी बैंक बनेको छ। डिजिटल कारोबारमा मोबाइल बैंक, इन्टरनेट बैंक, क्युआर मर्चेन्ट मुख्य पर्छन्। ५ वर्षअघि १ लाख २१ हजारमात्र मोबाइल बैंकिङ प्रयोगकर्ता रहेकामा न्यौपानेको नेतृत्वमा सुरु गरेको ‘डिजिटल फर्स्ट बैंक’को अवधारणाले सो संख्या गत आवसम्म आउँदा १६.३ गुणाले बढेर १९ लाख ७२ हजार ६ सय पुगिसकेको छ। 

इन्टरनेट बैंकिङमा पनि बैंकले उत्तिकै आक्रामक रुपमा ग्राहक विस्तार गर्न सफल भएको छ। यसअनुसार त्यतिबेला ४७ हजार ९ सय मात्र रहेको बैंकका इन्टरनेट बैंकिङ प्रयोगकर्ता गत आवसम्म १ लाख ४५ हजार ६ सयभन्दा बढी पुगेका छन्। साथै, क्युआर मर्चेन्टको संख्या १ लाख ५० हजार र पिएसओ ३ हजार २ सय पुगेका छन्। 

आम्दानी र नाफामा छलाङ 
त्यस्तै न्यौपानेको नेतृत्वमा बैंकले आफ्नो आम्दानीमा छलाङ मारेको छ। आव २०७३/०७४ मा ३ अर्ब ४४ करोड १० लाख रुपैयाँसहित आम्दानीका हिसाबले बैंक ११ औं स्थानमा रहेकोमा गत वर्षसम्म आइपुग्दा बैंकले सो आम्दानी ४.२७ गुणाले वृद्धि गर्दै १४ अर्ब ७० करोड ६० लाख रुपैयाँ पु¥याउन सफल भएको छ। यस अवधिमा समग्र बैंकिङ्ग क्षेत्रको कुल आम्दानी १.९ गुणाले मात्रै वृद्धि भएको छ। साथै, बैंकको सञ्चालन नाफा समेत ४.३२ गुणाले वृद्धि भएर आ.व. २०७३/७४ मा १ अर्ब ८५ करोड ९० लाख रुपैयाँ रहेको सञ्चालन नाफा गत वर्ष ८ अर्ब २ करोड ७० लाख रुपैयाँ पुगेको छ। यस अवधिमा समग्र बैंकिङ्ग क्षेत्रको सञ्चालन नाफा १.८७ गुणाले मात्रै वृद्धि भएको थियो। 

चालू आवको पहिलो त्रैमासमा बैंकको स्व–पूँजी प्रतिफल (आरओई) २६.५५ प्रतिशत पुगेको छ। जुन २६ वटै बाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी आरओई हो। गत आर्थिक वर्षको सोही अवधिमा बैंकको आरओई २१.३९ प्रतिशतमात्र रहेको थियो। यसैगरी, वार्षिक प्रति शेयर आम्दानी पनि मुलुकमा सञ्चालनमा रहेका २६ बाणिज्य बैंकहरुमध्ये कै उत्कृष्ट रहेको छ। चालू आवको पहिलो त्रयमासमा बैंकले वार्षिक प्रति शेयर आम्दानी ५९.६२ रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा प्रति शेयर आम्दानी ३९.६५ रुपैयाँ रहेको थियो। 

यस अवधिमा समग्र बैंकको बजार पुँजीकरण २९ अर्ब ७८ करोड रुपैयाँबाट २.७ गुणाले वृद्धि हुँदै ८० अर्ब ४८ करोड रुपैयाँ पुगेको छ।

सफलताको राज 
बैंकले प्राप्त गरेको उक्त सफलताको राज भनेकै न्यौपानेले अवलम्बन गरेको लगनशीलता, परिश्रम, दृढता, संकल्प, दक्षता र दृढ अठोट प्रदर्शन हो। 

जिम्मेवारीमा आएपछि उनले बैंकलाई मध्यमस्तरको बैंकबाट उच्च स्थानमा ल्याउन विभिन्न रणनीतिहरु ल्याएका थिए। सन् २०१४  निर्माण गरी कार्यान्वयन गरिएको पञ्चवर्षीय एकीकृत रणनीतिक योजना ‘रणनीति २०२०’ यसैको उदाहरण हो। जसले बैंकलाई अधिकांश वित्तीय तथा गैर वित्तीय सूचकांकमा पहिलो नम्बरमा ल्याउन उल्लेख्य भूमिका खेलेको छ। 

न्यौपानेको एन आई सी यात्रा 
सन् २००८ अप्रिलदेखि तत्कालीन बैैंक अफ एशिया नेपाल लिमिटेडमा २८ वर्षको उमेरमा आन्तरिक लेखा परीक्षण विभागको इन्चार्जको जिम्मेवारीबाट बैंकको सेवामा जोडिएका न्यौपाने प्रमुख जोखिम अधिकृत हुँदै सन् २०१८ मा सहायक प्रमुख कार्यकारी अधिकृत भएका थिए। त्यसपछि सहायक प्रमुख कार्यकारी अधिकृत हुँदै निमित्त प्रमुख कार्यकारी अधिकृतको रुपमा बैंकको नेतृत्व सम्हालेपछिको छोटो अवधिमा नै बैंकले विविध सूचकांकहरुमा उत्साहजनक व्यावसायिक उचाइ हासिल गरेपछि बैंक सञ्चालक समितिको २०७५ मंसिर १६ को ३७९ औं बैठकले उनलाई २०७५ मंसिर १६ गतेदेखि लागू हुने गरी ४ वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो। 

को हुन् न्यौपाने ?
न्यौपानेको स्थायी घर रसुवा हो। हाल उनी काठमाडौं बूढानीलकण्ठ बस्छन्। भर्खर ४२ वर्षका न्यौपानेले उदाहरणीय क्षमता प्रदर्शन गर्दै आफ्नो करियरको छोटो अवधिमा नै अत्यन्त सफल प्रमुख कार्यकारी अधिकृतको छवि देखाउन सफल भएका छन्। पहिलोपटक उनी ३८ वर्षको उमेरमा नै नेपालको अग्रणी वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त भएपछि मुलुकको सबैभन्दा ‘कान्छो सीईओ’ को रुपमा समेत चर्चित भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad