तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले समुद्रमा पानी जहाज चलाउने प्रस्ताव हावादारी भनेर आलोचना भएको थियो।
पहिलो र दोस्रो पटक प्रधानमन्त्री हुँदा ओलीले समु्द्रमा नेपाली झण्डासहितको पानी जहाज चलाउने योजना अघि सार्दा हाँसी मजाकको विषय बनाइएको थियो।
तर नेकपा एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादी पार्टीले मंसिर ४ को निर्वाचनका लागि ल्याएको घोषणा पत्रमा ओलीकै उक्त योजना अघि बढाउने उल्लेख छ।
समाजवादीले भूपरिवेष्ठित राष्ट्रले समुद्र उपयोग गर्न पाउने अधिकार प्रयोग गरेर पानी जहाज चलाउने प्रतिवद्धता गरेको हो।
'नेपालका ठूला नदी तथा नहर र तालहरूमा पर्यटकलक्षित साना पानीजहाजहरू सञ्चालन गरिने छ', घोषणा पत्रमा भनिएको छ, 'भूपरिवेष्ठित मुलुकहरूले समुद्र उपयोग गर्न पाउने अधिकार प्रयोग गरी नेपाली
ध्वजावाहक पानीजहाज सञ्चालनका लागि पहल गरिने छ।'
नेपालका कर्णाली, नारायणी र कोसीसहितका नदीमा सानो आकारका पानीजहाज चलाउन सकिने कुरा विज्ञहरुले बताएका छन्।
एमाले नेतृत्वको सरकारका पालामा ती नदी र समुद्रमा पानी जहाज चलाउने कुरा अघि बढाइएको थियो। तर कार्यान्वयनमा जान नसक्दा अहिले पनि ओलीको आलोचना हुने गरेको छ।
नारायणीमा चलाउने गरी बनाइएको क्रुजसीप (सानो पानीजहाज) अहिले पनि चितवनमा अलपत्र अवस्थामा छ। नारायणी र कोसीमा सानो आकारका जेट बोट भने चल्ने गरेका छन्।
Shares

प्रतिक्रिया