दाङमा अधिकांश उद्योग दर्ताबिनै सञ्चालनमा आएको पाइएको छ। दाङमा सञ्चालित १४ हजार ४२१ उद्योगमध्ये ७ हजार ९०३ उद्योग मात्रै दर्ता भएर सञ्चालनमा आएको जिल्ला तथ्याङ्क कार्यालय दाङले जनाएको छ। कार्यालय प्रमुख तुलसीराम पोख्रेलका अनुसार अझै पनि ६ हजार ५१८ वटा साना उद्योग दर्ताबिनै सञ्चालित छन्।
यी उद्योगलाई दर्ता प्रक्रियामा ल्याउने गरी प्रक्रिया अघि बढाउनु पर्ने उनको भनाइ छ। ‘अधिकांश उद्योग दर्ताबिनै सञ्चालनमा आएको पाइएको छ, तिनलाई मापदण्डभित्र ल्याउनुपर्छ,’ उनले भने।
दाङका १० स्थानीय तहमध्ये घोराही उपमहानगरपालिकामा धेरै उद्योग छन्। घोराहीमा मात्रै रहेका ५ हजार २१९ प्रतिष्ठानमध्ये ३ हजार ८० वटा दर्ता भएर सञ्चालन गरेको पाइएको छ भने २ हजार १३९ राज्यका निकायमा दर्ता हुन नसकेको तथ्याङ्कमा उल्लेख गरिएको छ।
त्यस्तै तुलसीपुर उपमहानगरपालिकामा ३ हजार ६८८ छन्। जसमा १ हजार ९७७ मात्र दर्ता भएका छन् भने १ हजार ७११ दर्ता भएका छैनन्। लमही नगरपालिकामा १ हजार ३४३ उद्योग रहेकोमा ७६२ दर्ता भएका छन् भने ५८१ दर्ता नभएको पाइएको छ।
बङ्गलाचुली गाउँपालिकामा ३८७ प्रतिष्ठानमध्ये १५६ दर्ता भएको र २३१ वटा दर्ता नभएको सार्वजनिक तथ्याङ्कमा उल्लेख गरिएको छ। शान्तिनगर गाउँपालिकामा ४७४ प्रतिष्ठानमध्ये १७९ दर्ता भएका र २९५ दर्ता भएका छैनन्। बबई गाउँपालिकामा ५०४ प्रतिष्ठानमध्ये २०४ दर्ता भएको र ३०० प्रतिस्ठान दर्ता नभएका रहेका छन्। दंगीशरण गाउँपालिकामा ३६० प्रतिष्ठान रहेकोमा १३२ वटा दर्ता भएका र २२८ दर्ता नभएका रहेका छन्।
यसैगरी राप्ती गाउँपालिकामा १ हजार २१८ मध्ये ७९१ वटा दर्ता भएका र ४२७ वटा दर्ता नभएका छन्। गढवा गाउँपालिकामा ९०५ मध्ये ४८० वटा दर्ता भएका र ४२५ वटा दर्ता नभएका रहेका छन्। राजपुर गाउँपालिकामा ३२३ वटा प्रतिष्ठान छन्। जसमध्ये १४२ वटा दर्ता भएका र १८१ वटा दर्ता नभएको सार्वजनिक गरिएको तथ्याङ्कमा उल्लेख छ। जिल्लामा पछिल्लो समय उद्योग तथा कलकारखाना स्थापना हुने क्रम बढेको तथ्याङ्कले देखाएको छ। विसं २०७० देखि २०७५ साल जेठसम्म ९ हजार १५९ उद्योग थपिएका हुन्।
जिल्लामा २०६० देखि २०६९ सम्म ३ हजार ६९७ वटा थपिएका थिए। त्यसैगरी विसं २०६० भन्दा अघि एक हजार ३५४ वटा स्थापना भएका थिए भने सञ्चालन मिति नै थाहा नभएका २११ वटा रहेको तथ्याङ्कमा उल्लेख छ। रासस
Shares

प्रतिक्रिया