ad ad

कारोबार


जसले भोजपुरलाई दिँदै छन् अकबरेको नयाँ चिनारी

खण्डहर गाउँमा अकबरेले फर्कायो खुसी
जसले  भोजपुरलाई दिँदै छन् अकबरेको नयाँ चिनारी

वसन्त अर्याल
असोज २, २०७९ आइतबार १०:४८, काठमाडौँ

भोजपुरका गाउँ केही वर्षयता रित्तिनथालेका थिए। युवापुस्ता विदेशिँदै गर्दा जमिन बाँझै सुक्नथालेका थिए। परिवार छिन्नभिन्न हुँदै थियो। घरमा वृद्धवृद्धा एक्लिँदै गएका थिए। 

तर यो उराठलाग्दो माहोल अब बदलिन थालेको छ। झण्डै झण्डै वृद्धाश्रमझैँ लाग्ने ती गाउँमा नयाँ उत्साह थपिएको छ। धमाधम विदेश जाने युवा कोभिड महामारीपछि गाउँमै रोकिएका छन्। सहर झरेका पनि गाउँ फर्किएका छन्। परिवारसँगै बसेका छन्। 

यो खुसीको कारण भने अकबरे खुर्सानी हो। शिक्षा, स्वास्थ्य, व्यापारलगायतको कारणले भइरहेको बसाइसराइ रोकिएपछि परिवार नै यसको खेतीमा लागेका छन्। बाँझा जमिनमा लटरम्म अकबरे फल्न थालेका छन्। अकबरे उत्पादनको लागि केहीले फर्म नै स्थापना गरेका छन्।

अधिकांशले छिमेकीले अकबरे लगाएको देखेर आफैँ लगाउन थालेका हुन्। 

राउतको सोचमा गाउँलेको साथ
गाउँमा यस्तो बदलाव ल्याउनमा जीवन राउतले महत्वपूर्ण भूमिका खेलेका छन्। उनकै पहलमा बाँझा हुँदै गएका गाउँका जमिन अकबरेले भरिएको छ। 

व्यवसायी र समाजसेवीको पहिचान बनाएका राउत कोभिडअघि ट्राभल व्यवसायमा आबद्ध थिए। कोभिडको कारण काम बन्द भएपछि उनी पनि गाउँ पसेका थिए। 

सहरबाट गाउँमा फर्किएकाले परम्परागत कृषि कर्म गर्नसक्ने अवस्था थिएन। गाउँमा मकैलगायतका बाली लगाउँदा बाँदरले हैरान परिरहेको थियो। 

राउत छिटो, सहज र हावापानीअनुसार व्यावसायिक रुपमा के उत्पादन   सकिन्छ छलफल गरे। गाउँमा केही किसानले अकबरे खुर्सानी लगाएका थिए। ठूलो मात्रामा थिएन।

नेपालमा विदेशबाट खुर्सानी आइरहेको अवस्थामा अकबरे खुर्सानी व्यवसाय गर्न सकिने नसकिनेबारे सोधखोज गरे। गाउँलेहरुसँग सरसल्लाह गरे। काम अघि बढ्ने भयो। तर उनीहरुलाई खेतीमा प्रोत्साहन गर्न सजिलो थिएन।

राउतले गाउँलेलाई आश्वस्त बनाए– 
‘तपाईंहरू जति उत्पादन गर्न सक्नुहुन्छ गर्नु। बजारको जिम्मा मेरो भयो।’

बजारको सुनिश्चितता भएपछि किसानले पनि बारीभरी अकबरे लगाए।

उनले सुरुवाती अवस्थामा आफैँले किनिदिने र राम्रो बजार पाए आफैँ बिक्री गर्नसक्ने सुझाएका थिए। सोसँगै उत्पादन हुनथाल्यो। 

‘नगदेबाली भएकाले अकबरेबाट किसानले ३ महिनामै नगद आम्दानी गर्न सक्छन् सहजै कमाउन सक्छन्’, राउत भन्छन्, ‘मकै २ कोठा फल्ने ठाउँमा खुर्सानी ३ लाखको फल्न थाल्यो।

त्यसअघि भोजपुरमा थोरै मात्र उत्पादन भइरहेको थियो। आफूले व्यावसायिक रुपमा उत्पादन र बजार प्रवद्र्धन गर्न प्रोत्साहन गरेको राउतको भनाइ छ। 

त्यसो त राउतले पनि अकबरे उत्पादन गर्न जेबी एग्रो फर्म दर्ता गरे। अहिले उनी आफैँ पनि यसमा सामेल छन्, गाउँलेलाई प्रोत्साहन गरिरहेका छन्। भोजपुरका ३ पालिकामा व्यावसायिक रुपमा अकबरे उत्पादन हुनथालेको छ। 

‘समुदायमा आधारित कृषि व्यवसाय गरिरहेका छौँ’, राउत भन्छन्, ‘खाद्यान्नबाट छिटो आम्दानी गर्न सकिँदैन। त्यसैले नगदेबालीतर्फ लागेका हौँ।’

पौवादुङ : अकबरेको हब 
उत्पादनको लहर नै चलेपछि पौवादुङमा गाउँपालिका अकबरे हब बनेको छ। यसका ६ वटै वडा अकबरे खुर्सानीले ढाकेको छ। त्यस्तै अरुण गाउँपालिकामा र भोजपुर नगरपालिकाका वडामा व्यावसायिक रुपमै अकबरे खुर्सानी उत्पादन भइरहेको छ। 

कतिपय परिवार सबै अकबरे खुर्सानी उत्पादनमा लागेका छन्। भोजपुरका ४–५ किसानको अकबरे खुर्सानी साह्रै लोभलाग्दो रहेको उनी बताउँछन्।

१०० रोपनीसम्म किसानहरू अकबरे लगाएका छन्। भोजपुरका यी पालिकाले वार्षिक २५० टनदेखि ३०० टन अर्थात् ३ लाख किलो अकबरे उत्पादन गर्छन्।

‘सबैभन्दा ठूलो हामी व्यक्तिभन्दा पनि सामुदायिक रुपमा काम गरिरहेका छौँ’, उनी भन्छन्, ‘विदेश जाने युवालाई रोक्ने भनेको व्यावसायिक कृषि नै हो।’

खुकुरीले प्रसिद्ध भोजपुरलाई नयाँ चिनारी  
अकबरे खुर्सानी गाउँको रैथाने बाली भएको राउत बताउँछन्। भोजपुरमा रोपिएका अकबरे पहिलादेखिकै निरन्तरता हो।

अकबरे खुर्सानीको लागि भोजपुरसँगै इलाम, धनकुटा, सिन्धुली, रामेछाप, दोलखा, पाल्पा, गुल्मी, अर्घखाँची र दैलेखमा बढी उत्पादन हुने गरेको छ। 

अकबरेको लागि पहिला इलाम जिल्ला परिचित थियो। भोजपुरको हावापानीको कारण अहिले इलामभन्दा पनि भोजपुरमा बढी उत्पादन हुनथालेको छ। भोजपुरे खुकुरीले पहिचान बनाउँदै आएको भोजपुर अब अकबरे खुर्सानी उत्पादनमा प्रख्यात बन्नथालेको छ। 

भोजपुरमा करिब ३५ सय परिवारले अकबरे उत्पादन गरी बिक्री गर्छन्। कसैले आफूलाई धेरै भएको बिक्री गर्छन् भने केहीले व्यावसायिक ठूलो परिमाणमै अकबरे लगाएका छन्। 

काँठ क्षेत्रमा अकबरेलाई ‘राय’ र पश्चिमतिर ‘ज्यानमारा’ खुर्सानी भन्ने गरेको उनले पाए। 

‘अकबरे खुर्सानीलाई व्यावसायिक उत्पादन गर्दा बाहिरबाट बीउ ल्याएका छैनौँ’, उनले भने, ‘यहीँ आफैँ बढाउँदै गएका हौँ।’

पश्चिमको उत्पादकले भैरहवाका उद्योगमा सप्लाई गर्छन्। राउत अकबरे उत्पादकलाई धेरै उत्पादन गर्ने सुझाव दिइरहेका छन्। 

‘धेरै उत्पादन हुँदा पाउडर बनाउन सम्भव हुन्छ’, उनी भन्छन्, ‘पाउडर नेपालमा खपतसँगै विदेशमा निर्यात गर्न सहज हुन्छ।’

अघिल्लो वर्ष व्यावसायिक रुपमै बेलायत, अमेरिका र क्यानडा अकबरे खुर्सानी निर्यात समेत गरेका छन्। व्यक्तिगत पार्सलको विदेशमा बस्ने नेपालीले भोजपुरे अकबरे लैजाने गरेका छन्। यो वर्ष भारतमा निर्यात सुरु भएको छ। 

‘अमेरिकाको कम्पनीले अकबरे खुर्सानीको खरिद गर्न खोजेका छन्’, उनले सुनाए, ‘उनीहरूले आफ्नै स्पोन्सरमा अमेरिका आउनको लागि प्रस्ताव पठाएका छन्।’

अमेरिकामा प्याकेजिङ गरेर काँचो खुर्सानी नै पठाउँदै आएका छन्। अकबरे खुर्सानीको अचार बनाएर निर्यात गरिरहेका छन्। 

चाउचाउ उद्योगमा भोजपुरे अकबरे
भोजपुरका अकबरेको बजारको जिम्मा लिएका राउतले अहिलेसम्म खुद्रा बिक्री गरेका छैनन्।

उनको अहिलेसम्मको मुख्य प्राथमिकता नै नेपाली उद्योग हुन्। नेपालमा उत्पादित चाउचाउले पिरोको लागि अकबरे खपत गर्छन्। नेपालमा उत्पादन भएका विदेश निर्यात हुने अचारमा भोजपुरको अकबरे खुर्सानी खपतको लागि मार्केटिङ गरे। 

उनी नेपाली उद्योगमै अकबरे खपत गर्न सफल भएका छन्। चाउचाउ उत्पादकमा चौधरी ग्रुपको वाइवाइ डाइनामाइट, करेन्ट नुडल्स्, टुपीएमले सर्वाधिक अकबरे खुर्सानी खपत गर्छन्। त्यसबाहेक अचार उद्योगले खपत गरिरहेका छन्। 

अकबरे खुर्सानी व्यावसायिक रुपमा उत्पादन नहुँदासम्म प्रतिकिलो १५ सयमाथि पुगेको थियो। कृषकले आम्दानी राम्रो देखेर अकबरे लगाउन थालेसँगै मूल्य भने घटेको छ। 

‘अघिल्लो वर्षसम्म प्रतिकिलो ४०० रुपैयाँसम्म उद्योगले खरिद गरेका थिए,’ उनी भन्छन्, ‘अहिले १५० देखि १६० पाउन मुस्किल छ।’

सरकारले कृषकलाई अनुदान दिन्छ भने पनि अधिकांशले लाभ लिन सक्दैनन्। केही किसानले हाते ट्याक्टर अनुदानमा पाएका छन्। गाउँको खुर्सानी उद्योगसम्म पु¥याउन ढुवानी खर्च एकदमै उच्च छ। 

नेपालमा खुर्सानी खपत गर्ने चाउचाउ उद्योगले माग केही घट्दा अहिले मूल्य घटेको छ। अझै पनि कृषकले उत्पादन लागतमा अझै नाफामै छन्। 

‘म आफैँ पनि कृषक हो। अघिल्लो वर्षको तुलनामा मूल्य घटेको छ’, राउतले भने। 

वर्षमा ४ करोड ५० लाखको अकबरे बिक्री 
तरकारीहरूमा अकबरे खुर्सानी महंगो हुन्छ। तर अकबरे खुर्सानीमा कुनै ‘साइड इफेक्ट’ नहुने राउत बताउँछन्।  

‘अरु खुर्सानीजस्तो अकबरे खुर्सानी खाएर पेट बिग्रिने, पोल्ने समस्या हुँदैन’, राउत भन्छन्, ‘केही महंगो भए पनि स्वास्थ्यलाई हानि नगर्ने र अरुभन्दा छुट्टै स्वाद छ।’

अकबरे खुर्सानी उत्पादन गर्दा अन्य तरकारीमा जस्तो धेरै केमिकल प्रयोग हुँदैन। फागुनमा बीउ राख्ने चैत वैशाखमा बिरुवा रोप्दा साउन भदौमा अकबरे उत्पादन हुन थाल्छ। साउनदेखि मंसिरसम्म बढी उत्पादन हुन्छ। तुसारो लाग्ने थालेसँगै उत्पादन हुन छाड्छ। 

६ सयदेखि १५ सय मिटर उचाइसम्म अकबरे उत्पादन हुन्छ। १२ सयदेखि १५ सय मिटरसम्म राम्रो हुन्छ। उचाइमा फलेको अकबरे बाक्लो बोक्रा र कम दाना हुन्छ। त्यो बढी पिरो र स्वादिलो हुन्छ। अहिले अकबरेजस्तै हाइब्रिड आएको छ। तर धेरै पिरो हुँदैन। 

गत वर्ष भोजपुरका ३ पालिकाबाट मात्रै साढे ४ करोड रुपैयाँको अकबरे खुर्सानी बिक्री भएको राउत बताउँछन् ।

‘४ करोड ५० लाख रुपैयाँ गाउँकै उत्पादनबाट हुनु ठूलो कुरा हो’, उनले भने, ‘त्यहाँको हावापानीअनुसार खाद्यान्न बालीबाट त्यति उत्पादन गर्न सकिँदैन।’ 

आम्दानी बढ्न थालेसँगै यो वर्षको लागि ५ लाख अकबरे खुर्सानीका बिरुवा रोपेका थिए। ठूलो वर्षा र कृषकमा चेतनाको कमीले केही बिरुवा मरेका छन्। एकपटक रोपेको बिरुवा २ वर्षसम्म राम्रो उत्पादन दिन्छन्। तेस्रो वर्षबाट उत्पादन कम हुन थाल्छ। २ वर्षपछि किसानले फेरि रोप्नुपर्छ। 

अहिले गत वर्षभन्दा पनि बढी उत्पादन भइरहेको छ। तर अकबरेको मूल्य घट्दा आम्दानी धेरै बढ्नेछैन।

गाउँमै अकबरे पाउडर उद्योग खोल्ने योजना 
नेपाली उद्योगहरूले वार्षिक २० लाख मेट्रिक टन खुर्सानी खपत गर्छन्। उत्पादन वार्षिक ४० लाख मेट्रिक टनसम्म हुने गरेको छ।

बाँकी घरायसी प्रयोगमा जाने गरेको छ। जहाँ नुन प्रयोग हुन्छ त्यहाँ खुर्सानी प्रयोग हुन्छ। अझै पनि भारतबाट लाम्चे खुर्सानीको आयात धेरै नै हुने गरेको छ। 

भोजपुरको खुर्सानी काठमाडौं, विराटनगर जाँदा ढुवानी खर्च एकदमै उच्च रहने गरेको छ। आगामी दिनमा अकबरे पाउडर बनाएर बिक्री गर्ने योजनामा छन् राउत। पाउडर बनाउँदा जति बेला पनि बिक्री गर्न सकिने बताउँछन्। 

अकबरेको पाउडर उद्योग स्थापना गरे वार्षिक १ लाख मेट्रिक टन खुर्सानी उत्पादन गरे पनि खपत गर्न सकिने विश्वास छ।  

‘स्थानीय वा प्रदेश सरकारले फस्टाएको अकबरे खुर्सानी व्यवसायलाई विस्तारको लागि सहयोग गर्न पाउडरको लागि उपकरण अनुदान दिनुपर्छ’, खाडीमा जाने युवा गाउँमै बस्ने वातावरण बनाउनुपर्ने बताउँदै राउत भन्छन्, ‘कोल्र्ड स्टोर स्थापना गर्नसके व्यावसायिक कृषि क्षेत्रमा लागेका चिन्तित हुनुपर्ने छैन।’ 

कोल्ड स्टोर स्थापना गरी भदौ असोजमा उत्पादन हुने खुर्सानीलाई पुस माघका बिक्री गर्नसके कृषकले फाइदा लिन सक्छन्।  

नेपालमा अकबरे खुर्सानी बाहिरबाट आउँदैन। सुकेको खुर्सानी आउँछ। भारतमा चाउचाउ उद्योगमा नेपालको अकबरे खुर्सानी छ।

खुर्सानीमा हामी आत्मनिर्भर हुँदै छौँ। पाउडर बनाउनसके भारतबाट आउन रोकिन्छ। खुर्सानी खरिदको लागि रकम नबाहिरियोस् भन्ने उनको चाहना छ। उनले अहिलेसम्म खुद्रा बजारमा बिक्री गरेका छैनन्। 

फाइल तस्बिर

खुर्सानीसँगै ड्रागन फ्रुटमा राउत  
राउत करिब १५ वर्षदेखि भोजपुरबाहिर थिए। आफू जन्मे–हुर्केको ठाउँलाई कसरी व्यवस्थापन गर्ने सोचमा थिए। तर निश्चित योजना बन्नसकेको थिएन। अकबरे खुर्सानीको व्यवसायमा सफलता प्राप्त गरेसँगै अरु पेशामा जाने चाहना छैन।  

‘गाउँमा जे उत्पादन हुन्छ। त्यो बजारीकरण गर्छु। कृषकको लागि आवश्यक सामग्री दिन्छु’ भन्दै आएका छन्।  

अकबरेसँगै राउत नेपालमा फस्टाइरहेको ड्रागन फ्रुट उत्पादनतर्फ लागेका छन्। उनले १०० रोपनी जग्गामा ड्रागनका बिरुवा लगाउँदै छन्।

२० हजार बिरुवा रोप्ने योजनामा छन्। ८ हजार बिरुवा रोपिसकेका छन्। नेपालमा अहिले खुर्सानीको माहोल जसरी बन्यो ड्रागनको पनि त्यसैगरी बनाउने उनको लक्ष्य छ। 

अहिले ड्रगन प्रतिकिलो ८०० रुपैयाँदेखि १ हजार रुपैयाँसम्म छ। मास प्रोडक्सन गरेर त्यसको मूल्य आधाभन्दा कममा झार्ने सकिने लक्ष्य छ। 

त्यस्तै नगदेबालीमा कागती, अदुवाको समेत व्यावसायिक उत्पादनतर्फ लागेका छन्। उनले नगदेवाली उत्पादन गर्नको लागि मल उत्पादन गर्न पशुपालनसँगसँगै अघि बढाउने सोचाइमा रहेका छन्। 

‘आफ्नो लक्ष्य पूरा गर्न कम्तीमा ५ वर्ष कृषिबाहेक अरुमा ध्यान दिँदैन’, उनले भने, ‘गाउँमै कृषि व्यवसायसँगै प्रोसेसिङ उद्योग खोल्ने लक्ष्य छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .