कारोबार


दिगो पूर्वाधार लगानी सम्मेलनमा के–के भयो?

दिगो पूर्वाधार लगानी सम्मेलनमा के–के भयो?

नेपालखबर
भदौ ३०, २०७९ बिहिबार १८:१७, काठमाडौँ

लगानी बोर्डको आयोजनामा काठमाडौँमा दिगो पूर्वाधार लगानी सम्मेलन बुधबार सम्पन्न भएको छ। 

प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष शेरबहादुर देउवाबाट समुद्‍घाटन भएको उक्त कार्यक्रममा लगानी बोर्डले तयार पारेको परियोजना बैंक निर्देशिका तथा रासायनिक मल कारखाना स्थापनाका लागि लगानी बोर्डबाट तयार पारिएको 'इस्ट्याबलिसिङ अ फर्टिलाइजर प्लान्ट इन नेपाल' सार्वजनिक गरिएको थियो। 

उक्त अवसरमा प्रधानमन्त्री देउवाले लगानीकर्तालाई एकल विन्दुबाट सेवा दिने उद्देश्यले तयार पारिएको वेभमा आधारित एकल विन्दु सेवाको पनि शुभारम्भ गरेको बोर्डले जनाएको छ।  

उद्‍घाटन सत्रलाई सम्बोधन गर्दै उनले दिगो विकास लक्ष्य हासिल गर्नका लागि नेपाललाई वार्षिक रूपमा १९ विलियन डलर आवश्यक पर्ने र यसको लागि ठूलो परिमाणमा लगानी आवश्यक रहेको उल्लेख गर्दै विदेशी लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न आह्‍वान गरेका थिए। 
लगानीकर्ताको लगानी सुरक्षा र आवश्यक पर्ने सबै खालको सहजीकरण गरिने प्रतिबद्धता समेत व्यक्त गरे। 

कार्यक्रममा नेपालका लागि संयुक्त अधिराज्य बेलायतकी राजदूत निकोला पलिट, विश्व बैंकका तर्फबाट मेनेजिङ डिरेक्टर मारी पांगेस्टु, निजी क्षेत्र तथा परियोजना विकासकर्ताका प्रतिनिधिहरूले सम्बोधन गरेका थिए। कार्यक्रममा नेपालमा विभिन्न परियोजनाहरूमा लगानी गर्ने विकासकर्तालाई प्रधानमन्त्री देउवाले प्रशंसा पत्र प्रदान गरेका थिए। 

कार्यक्रममा एक्सिलेरेटिङ क्लाइमेट फाइनान्स इन नेपाल र इन्भेष्टमेन्ट इन नेपाल्स इनर्जी ट्रान्जिसन विषयक समानान्तर सत्रहरू सञ्‍चालन भएका थिए। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलले अध्यक्षता गरेको बिजनेस इन्भाइरोनमेन्ट फर डेभलपमेन्ट सस्टेनेबल इन्फ्रास्ट्रक्चर इन नेपाल विषयक मुख्य सत्रमा एसियाली विकास बैंक, डब्लुएपीपीपी, निजी क्षेत्र र सरकारी निकायका उच्च अधिकारीहरूले दिगो पूर्वाधार विकासमा लगानीको वातावरण सम्बन्धमा आफ्नो धारणा व्यक्त गरेका थिए। 

त्यस्तै कार्यक्रमको समापन समारोहलाई नेपाल सरकारका मुख्य सचिव शंकरदास वैरागी तथा एपसीडीओकी डेभलपमेन्ट डाइरेक्टर पिपा बर्डले सम्बोधन गरेका थिए। मुख्यसचिवले भने, “नेपाल लगानीको लागि उपयुक्त गन्तव्य हो । पूर्वाधार संरचनामा लगानी गर्नुहोस्। तपाईँहरुको लगानीको पूर्ण सुरक्षाको प्रत्याभूति नेपाल सरकारले गरेको छ।” 

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले लगानी बोर्डले परियोजना विकासलाई परिणाममुखी ढाँचामा अघि बढाएको बताउँदै लगानीको सम्पूर्ण चक्रमा लगानीकर्तालाई आवश्यक सहजीकरण गरिरहेको बताए। प्रमुख कार्यकारी अधिकृतले कार्यक्रममा उपस्थित विभिन्न विशिष्ट व्यक्तित्वहरूको उपस्थितिले कार्यक्रमको अपेक्षित लक्ष्य हासिल गर्न सहयोग गरेको उल्लेख गर्दै आयोजकका तर्फबाट सम्पूर्ण अतिथिहरूप्रति कृतज्ञता व्यक्त गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad