अर्थ मन्त्रालयले चालू आर्थिक वर्ष २०७५÷७६ को वैदेशिक सहायतामा सञ्चालित आयोजनाहरूको कार्यान्वयन अवस्थाबारे समीक्षा बैठक आयोजना गरेको छ। अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितिमा बैठक बसेको हो। बैठकमा आयोजनासँग सम्बन्धित मन्त्रालय रनिकायहरुका सचिव, सहसचिव तथा आयोजना प्रमुखहरुको उपस्थिति रहेको मन्त्रालयले जनाएको छ।
बैठकमा अर्थमन्त्रीले प्रदेश र स्थानीय तहबाट बजेट र खर्चको प्रतिवेदन हुने व्यवस्था गरिएकाले आउँदा दिनमा प्रदेश र स्थानीयतहबाट हुने खर्चको प्रगति समेत समय मै उपलब्ध भई खर्चको यथार्थ प्रतिवेदन हुने जानकारी गराए। उनले खर्चको वास्तविक प्रतिवेदनका लागि सबै मन्त्रालयहरूले सोझै भुक्तानीको प्रतिवेदन समयमा नै गर्न समेत निर्देशन दिएको अर्थ मन्त्रालयले जनाएको छ।
वैदेशिक सहायतातर्फ चालु आर्थिक वर्ष २०७५÷७६ को जेठ मसान्तसम्म उत्साहजनक रुपमा ६३ अर्ब शोधभर्ना प्राप्त भए पनि अझै ४३ अर्ब शोधभर्ना हुन बाँकी रहेकोले नेपाल सरकारको स्रोत र मुलुकको भुक्तानी सन्तुलनमा चाप परेको हुँदा मन्त्रालय तथा सम्बन्धित निकायहरुले यथाशीघ्र सोधभर्ना प्राप्तितर्फ पहल गर्न आग्रह गरे। सो अवसरमा चालू आर्थिक वर्षमा सम्पन्न भएका कामको भुक्तानी समेत शीघ्र गर्न निर्देशन दिएको मन्त्रालयले जनाएको छ।
कार्यक्रममा विभिन्न मन्त्रालय र निकायका सचिव र प्रतिनिधिहरुले वैदेशिक सहायतामा सञ्चालित आयोजनाहरुको कार्यान्वयनमा क्रममा भोगेका समस्याहरु र सोधभर्नाको अवस्थाको बारेमा आफ्नो धारणा राखेका थिए। उक्त अवसरमा अर्थ मन्त्रालय, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख श्रीकृष्ण नेपालले चालू आर्थिक वर्षको हालसम्मको समग्र र स्रोतगत खर्चको अवस्था एवं अपेक्षित प्रगति हुन नसकेका वैदेशिक सहायतामा सञ्चालित आयोजनाको बारेमा प्रस्तुतीकरण गरेका थिए।

प्रतिक्रिया