कारोबार


स्टार्टअप व्यवसायलाई प्रवर्द्धन गर्न काठमाडौंमा कार्यशाला सुरु, २० स्टार्टअप सहभागी

स्टार्टअप व्यवसायलाई प्रवर्द्धन गर्न काठमाडौंमा कार्यशाला सुरु, २० स्टार्टअप सहभागी

नेपालखबर
भदौ १६, २०७९ बिहिबार १८:६, काठमाडौँ

नेपालमा स्टार्टअप व्यवसायलाई प्रवर्द्धन गर्ने उद्देश्यले एक कार्यशाला बिहीबार काठमाडौंमा सुरु भएको छ। 

दुईदिने कार्यशालामा २० वटा स्टार्ट अपका प्रतिनिधि सहभागी छन्। केआईआईटी टेक्नोलोजी बिजनेस इन्क्युबेटरले भारतको कोलकातास्थित अमेरिकी महावाणिज्यदूतावास र नेपालस्थित अमेरिकी दूतावासको सहकार्यमा उक्त कार्यशाला आयोजना गरेको हो। 

त्यस अवसरमा अमेरिकी महावाणिज्यदूतावासका अधिकारी, काठमाडौं विश्वविद्यालयका अनुसन्धान निर्देशक दिपक प्रसाद सुवेदी, किङ्स कलेजका नवप्रवर्तन विषय प्रमुख उद्गम खड्काले कार्यशालाको महत्वबारे प्रकाश पारेका थिए। 

आयोजकका अनुसार सहभागी २० वटा स्टार्टअपबाट पाँचवटा उत्कृष्ट स्टार्टअप छनोट गरिनेछ। ती पाँच स्टार्टअपले आगामी नोभेम्बरमा कोलकातास्थित अमेरिकी महावाणिज्यदूतावासले आयोजना गर्ने स्टार्टअपसम्बन्धी क्षेत्रीय कार्यशालामा सहभागिता जनाउने अवसर पाउनेछन्। 

भारतमा क्षेत्रीय कार्यशालामा सहभागी भएर फर्केपछि उनीहरुले आफ्नो अनुभव नेपालका अन्य स्टार्टअपलाई बाँड्नेछन्। कोलकातामा हुने एडभान्स कार्यशालामा नेपाल, भारत, भुटान र बंगलादेशका २० वटा स्टार्टअप सहभागी हुनेछन्। उक्त कार्यशालाले यस क्षेत्रका स्टार्टअपबीच अनुभव आदानप्रदान र सिकाइ अभिवृद्धि हुने अपेक्षा आयोजकको छ। 

स्टार्टअप व्यवसायका सम्भावनाको खोजीका अतिरिक्त उनीहरुबीच अनुभव आदान-प्रदानका लागि कार्यशाला महत्वपूर्ण हुने आयोजकको विश्वास छ। कार्यशालामा हासिल गरेका जानकारीले स्टार्टअपहरुको ज्ञानको दायरा बढ्नुका साथै सीप विकासमा मद्दत मिल्ने आयोजकको विश्वास छ। 

नेपाल उद्योग वाणिज्य महासंघ हातामा आयोजित कार्यशालालाई आइहब काठमाडौ र किङ्स कलेज, स्किल ल्याब, अमेरिकन स्पेसेज र काठमाडौं विश्वविद्यालयले उक्त कार्यशालालाई सहयोग पुर्याएका छन्। 

नेपालस्थित अमेरिकी दूतावासले चेम्बर अफ कमर्स र नेपाल उद्योग वाणिज्य महासंघलगायत व्यापारिक संस्थाहरु मिलेर स्टार्टअप व्यवसायको प्रवर्द्धनका लागि सहयोग गर्दै आएको छ। स्टार्टअप उद्यममा युवाको चासो बढिरहेको देखिन्छ। कार्यशालामा पनि युवाहरु नै सहभागी छन्। 

नेपाल, भारत, बंगलादेश र भुटानमा स्टार्टअप व्यवसायमा युवाको उल्लेख्य संलग्नता छ। स्टार्टअपको क्षमता अभिवृद्धिका सवालमा सरकार तथा निजी क्षेत्रले विभिन्न प्रयास गर्दै आएका छन्, तर त्यो पर्याप्त भने छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad