ad ad

कारोबार


तिब्बतमा अनिश्चितकालका लागि लकडाउन, दशैँका सामान बाटोमै अलपत्र

महावाणिज्य दूतावासले पत्र लेखेर सरकारलाई गरायो जानकारी
तिब्बतमा अनिश्चितकालका लागि लकडाउन, दशैँका सामान बाटोमै अलपत्र

सन्तोष घिमिरे
भदौ ६, २०७९ सोमबार २१:२५, काठमाडौँ

नेपालसँग सीमा जोडिएको चीनको स्वशासित क्षेत्र तिब्बतमा अनिश्चित कालसम्मका लागि लकडाउन गरिएको छ। 

कोरोना संक्रमण बढ्दै गएपछि तिब्बती अधिकारीले अनिश्चित कालका लागि लकडाउन गरेको ल्हासास्थित नेपाली महावाणिज्य दूतावासले जनाएको छ। 

महावाणिज्य दूतावासले सोमबार परराष्ट्र मन्त्रालयलाई लेखेको पत्रमा तिब्बतका ल्हासा लगायत विभिन्न स्थानमा लकडाउन जारी रहेको उल्लेख छ। 

‘हरेक तीन दिनमा लकडाउन थपिँदै लगिएकोमा हाल अनिश्चित समयसम्मको लागि लकडाउन गरेको सूचना प्राप्त भएको छ’ पत्रमा भनिएको छ। चिनियाँ अधिकारीले दश दिनदेखि तिब्बतमा लकडाउन गरिरहेका छन्। 

तिब्बतमा कोरोना बढेपछि नेपाल पठाउन तयारी अवस्थामा रहेका सामान र ट्रक बीच बाटोमै अलपत्र परेका छन्।

महावाणिज्य दूतावासले त्यसबारेमा व्यापारी तथा ढुवानीकर्तासँग जानकारी लिइरहेको छ। नेपालमा दशैँका लागि लक्षित तयारी सामग्री, स्याउ, ससून, अन्य खाद्यान्न, विद्युतीय गाडी आदि जस्ता सामग्री चीनतर्फ तिब्बतका विभिन्न स्थानमा अलपत्र अवस्थामा छन्। 

महावाणिज्य दूतावासले पठाएको पत्रअनुसार हाल नेपालतर्फ आउन तयार अवस्थामा रहेका  करिब ५० देखि ५५ ट्रक तिब्बतमा रोकिएका छन्। तर महावाणिज्य दूतावासले कति ट्रक अलपत्र छन् भन्ने यकिन गर्न सकेको छैन। 

‘चीनका अन्य शहरहरूमा पनि केही संक्रमण देखिएकोले नेपाल जाने समान बोकेका गाडी ती सहरमा पनि रोकिएको हुनसक्ने अवस्था छ’ महावाणिज्य दूतावासले पत्रमा भनेको छ। 

तिब्बतमा हाल स्वास्थ्य क्षेत्र जस्तो अत्यावश्यक क्षेत्र बाहेकका सरकारी कार्यालयहरू बन्द अवस्थामा छ। 

‘यस नियोगले सम्बन्धित विभागहरूसँग सम्पर्क गरी व्यापारिक नाकाको बारेमा सूचना संकलन गर्ने प्रयास गरिरहेको तर लकडाउनका कारण तिब्बतको वाणिज्य विभाग र परराष्ट्र कार्यालयसँग सम्पर्क हुन कठिनाई भएको छ’ पत्रमा भनिएको छ। 

लकडाउन जारी भएको बखत पनि कोभिड प्रोटोकल पालना गर्दै ट्रक ढुवानी गर्ने व्यवस्थाका लागि महावाणिज्य दूतावासले चिनियाँ अधिकारीलाई अनुरोध गरिसकेको छ। 

कोभिड संक्रमण बढ्दो क्रममा रहेको र ल्हासा, सिगात्से, ल्यालाम र केरुड लगायतका ठाउँमा पूर्णरुपमा लकडाउन रहेकोले नाका तत्कालै चल्ने सम्भावना कम देखिएको महावाणिज्य दूतावासले जनाएको छ। 

बेइजिङस्थित नेपाली दूतावासले अत्यावश्यक सामाग्री नेपाल ढुवानी गर्ने सम्बन्धमा चीनको सम्बन्धित निकायसँग कुराकानीका लागि पहल गरिरहेको महावाणिज्य दूतावासले उल्लेख गरेको छ। 

चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार आइतबारसम्म तिब्बतमा कोरोना संक्रमितको संख्या करिब ६००० छ भने २१ जना निको भएका छन्। त्यसैगरी ४३ जनालाई चिकित्सकीय निगरानीबाट मुक्त गरिएको छ। 

तिब्बतमा करिब ४० हजार व्यक्तिलाई सेन्ट्रलाइज्ड क्वारेन्टिन अब्जर्भेसनमा राखिएको महावाणिज्य दूतावासले चिनियाँ सरकारी निकायको हवाला दिँदै जनाएको छ। 

‘तिब्बतमा संक्रमित संख्या बढ्ने कममा रहेको छ। हाल छिटफुट रूपमा तिब्बतमा बस्ने नेपाली पनि संक्रमण देखिएको छ’ पत्रमा भनिएको छ। 

तिब्बतको कोभिड महामारी विरुद्ध लड्न बीसौं हजार स्वयंसेवकहरू खटिएका छन्। करिब ६०० स्थानबाट आम परिक्षण भइरहेको महावाणिज्य दूतावासले जनाएको छ।

नेपालसँग सीमा जोडिएका केरुङ र न्यालम जस्ता शहरमा पनि संक्रमण तीब्र रुपमा बढिरहेको छ। तिब्बतकै सिगात्सेमा पनि कोरोना संक्रमण बढेपछि पूर्ण लकडाउन गरिएको छ। 

नेपालीलाई तिब्बत नआउन आग्रह 
महावाणिज्य दूतावासले एक सूचना जारी गरी चीनका अन्य सहरबाट तिब्बत आउन खोज्ने नेपालीलाई तत्काल नआउन सूचना जारी गरेको छ। 

कोरोना संक्रमण बढेपछि महावाणिज्य दूतावासले नियमित रूपमा तिब्बतमा रहेका नेपालीहरूसँग टेलिफोन सम्पर्क गरिरहेको छ।

महावाणिज्य दूतावासले आफ्नो सेवा टेलिफोन र अनलाइन मार्फत विभिन्न जानकारी प्रवाह गरिरहेको छ। नियोग परिसरमा बस्ने कर्मचारीको दैनिक जस्तो पीसीआर परीक्षण गरिएको महावाणिज्य दूतावासको भनाई छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .