ad ad

कारोबार


सरकारको चाहना कृषि र कपडा उद्योग चलाउने, निजी क्षेत्रको आँखा चुरोट र टायरमा

सरकारको चाहना कृषि र कपडा उद्योग चलाउने, निजी क्षेत्रको आँखा चुरोट र टायरमा

दीपक भट्ट
साउन २८, २०७९ शनिबार १८:११, काठमाडौँ

बन्द भएका केही उद्योग चालू आर्थिक वर्षभित्रै सञ्चालन प्रक्रिया अघि बढाउने योजनामा सरकार छ। 

बजेटले नै चालू आर्थिक वर्षभित्रै सरकारी उद्योगले तयार गरेको कपडा कर्मचारीहरुले लगाउने उल्लेख गरेको छ। यो अर्थमा हाल बन्द रहेको हेटौँडा कपडा उद्योग सञ्चालनको तयारी सरकारले गरेको बुझिन्छ। 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार त बन्द भएका सबै उद्योग सञ्चालनको प्रक्रिया यही वर्ष सुरु हुने छ। सरकार आफैँले पनि बन्द अवस्थामा रहेका तीन वटा उद्योग यही वर्ष सञ्चालन गर्न सकिने देखिएको र बाँकी उद्योगको पनि प्रक्रिया सुरु हुने मन्त्रालयको भनाइ छ। 

वीरगन्जमा रहेको कृषि औजार कम्पनी लिमिटेड, वीरगन्ज चिनी उद्योग र हेटौँडा कपडा उद्योग सरकारले नै सञ्चालन गर्न सकिने र त्यहीअनुसार नीतिगत निर्णयको लागि काम भइरहेको मन्त्रालयले जनाएको छ। 

यी तीन उद्योगको लागि आवश्यक रकम निकासा गर्न अर्थ मन्त्रालय समेत तयार छ। यो ३ वटा उद्योगको सञ्चालन मोडालिटी असोज महिनाभित्र तयार गर्ने र मन्त्रिपरिषदमा लगेर निर्णय गराउने गरी उद्योग मन्त्रालयले काम गरिरहेको छ। 

उद्योगमन्त्री दिलेन्द्र बडूका अनुसार यही वर्ष सबै रुग्ण उद्योग सञ्चालन गर्ने प्रक्रिया अघि बढाउनेगरी काम भइरहेको छ। 

‘केही उद्योग सरकारले चलाउन सकिने देखिएको छ। केही निजी क्षेत्रलाई मात्रै दिनुपर्ने अवस्था छ भने केही संयुक्त रुपमा चलाउनुपर्ने देखिएको छ,’ मन्त्री बडूले भने, ‘त्यही अनुसार हामी अघि बढिरहेका छौँ।’

उनका अनुसार सरकारले चलाउन सक्ने उद्योगहरुको लागि प्राथमिकतामा रहेर काम भइरहेको छ। त्यसपछि निजी क्षेत्रको सहकार्यमा समेत काम अघि बढाउने र आवश्यक निर्णय हुने उनले जानकारी दिए। 

उद्योग मन्त्रालयले कृषि कम्पनी, चिनी उद्योग र कपडा उद्योगलाई सञ्चालनको प्रमुख प्राथमिकतामा राखेको छ। तर, अहिले मन्त्रालयमा आएको निजी क्षेत्रकोे प्रस्ताव भने जनकपुर चुरोट कारखाना र गोरखकाली टायर उद्योग देखिएको छ।

उद्योग मन्त्रालयका एक अधिकारीका अनुसार केही उद्यमीले यी दुई उद्योग सञ्चालनको लागि आवेदन नै दिइसकेका छन्। केहीले यी दुई उद्योग निजी क्षेत्रलाई दिने विषयमा मौखिक रुपमा निरन्तर प्रस्ताव राखिरहेका छन्।

‘अर्थ मन्त्रालयले रकम निकासाको ग्यारेन्टी नै दिइसकेका उद्योगहरु सञ्चालन पनि सरकारले गर्न सक्ने वा नसक्ने निश्चित छैन। कुन मोडालिटिमा सञ्चालन गर्ने विषयमा अहिले मुख्य छलफल भइरहेको छ। तर निजी क्षेत्रले भने सरकारको प्राथमिकताभन्दा बाहिर आवेदन दिइरहेको छ,’ ती अधिकारीले भने।

चुरोट उद्योग र टायर उद्योगको मेसिनरी काम नलाग्ने भए पनि त्यसमै निजी क्षेत्रको ताकेता देखिएको हो। 

७ महिनाअघि उद्योग मन्त्रालयकी सहसचिव चन्द्रकला पौडेलको नेतृत्वमा रुग्ण उद्योग सञ्चालनबारे अध्ययन भएको थियो।

त्यहीअनुसार तीन वटा मोडालिटी तयार भएको थियो। त्यसमा निजी क्षेत्रलाई सञ्चालनको जिम्मेवारी दिन सकिने, दोस्रोमा पीपीपी मोडलमा सञ्चालन गर्न सकिने र सञ्चालन हुन नसके अचल सम्पत्ति राष्ट्रियकरण गर्ने र चल सम्पत्ति बिक्रीवितरण गर्नुपर्ने रहेका छन्।  

त्यसमा हरेक उद्योग कुन मोडलमा तत्काल सञ्चालन मा लैजान सकिन्छ भन्ने उल्लेख छ। चुरोट उद्योग निजी क्षेत्रलाई सञ्चालनमा दिएर रोयल्टी संकलन गर्न सकिने तथा गोरखकाली रबर उद्योग, कपडा, धागो उद्योगलगायतहरू सरकार र निजी क्षेत्रले संयुक्त लगानी गरेर अघि बढ्न सकिने उल्लेख छ। त्यसलाई नै आधार मानेर ठोस मोडालिटी तयार गर्ने काम भइरहेको मन्त्रालयका ती अधिकारी बताउँछन्। 

बन्द अवस्थामा रहेका यी उद्योगहरु सञ्चालनको चर्चा भएको भने लामो समय बितिसकेको छ।

मातृकाप्रसाद यादव उद्योगमन्त्री हुँदै मन्त्रालयबाटै गोरखकाली रबर उद्योग, जनकपुर चुरोट कारखाना, हेटौँडा कपडा उद्योगलगायतका पुराना उद्योगहरूको हालको सम्पत्तिको अवस्थाबारे अध्ययन भएको थियो।

त्यतिबेला गरिएको अध्ययनले ती उद्योगहरू पहिलेकै अवस्थामा सञ्चालन गर्न सकिने वा नसकिने आधार समेत यकिन गरेको थियो।

सोअनुसार निजी क्षेत्रसँग सहकार्य गरेर उद्योग सञ्चालन गर्न सकिने गरी मन्त्री यादवले प्रक्रिया समेत अघि बढाएका थिए। तर टुंगोमा पुग्न सकेको थिएन। त्यसपछि लेखराज भट्ट उद्योगमन्त्री बनेका थिए। उनले पनि पूर्वसचिव दीपक सुवेदीको नेतृत्वमा रुग्ण उद्योगहरूको अध्ययन गरी प्रतिवेदन बनाउने जिम्मेवारी दिए।

उक्त  प्रतिवेदनले उद्योगहरूको हालको अवस्थाबारे जानकारी गराएको थियो। जसले उद्योग सञ्चालनका लागि निजी क्षेत्रको सहयोग आवश्यक पर्ने उल्लेख गरेको थियो। 

अहिलेको सरकारले पनि बन्द उद्योगलाई सञ्चालन गर्ने प्रयास गरिरहेको छ। सोहीअनुसार अर्थमन्त्री जनार्दन शर्मा र उद्योगमन्त्री दिलेन्द्र बडूले बन्द उद्योगहरुको भ्रमण समेत गरिसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .