ad ad

कारोबार


तीजले भर्दै छ पार्टी प्यालेस व्यवसायमा रौनक

तीजले भर्दै छ पार्टी प्यालेस व्यवसायमा रौनक

बालुवाटार प्यालेस (फाइल तस्बिर)


वसन्त अर्याल
साउन २६, २०७९ बिहिबार ६:४७, काठमाडौँ

मौसमी व्यवसाय मानिने पार्टी प्यालेस कोभिड महामारीका बेला ठप्पप्रायः भयो। 

मानिसहरुको गतिविधिमै रोक लगाइएको त्यो समयमा हजारौँ पार्टी प्यालेस बन्द हुँदा ५० हजारभन्दा बढीले रोजगारी गुमाउनुपरेको सम्बद्ध व्यवसायी बताउँछन्। 

महामारीको प्रभाव कम हुँदै जाँदा थोरै संख्यामा मानिस उपस्थित हुने शर्तमा विवाह, व्रतबन्धलगायतका कार्यक्रम पार्टी प्यालेसमा गर्न दिइएको थियो। 

अहिले त पार्टी प्यालेस व्यवसाय लयमा फर्किन थालिसकेको छ। विवाह, व्रतबन्धमात्र होइन कर्पोरेट कार्यक्रमहरुले समेत यो व्यवसायलाई टेवा दिनथालेका छन्। 

यही बीचमा चाडपर्वको समय सुरु भएको छ। केही समयमै तीज आउँदै छ। महामारीका बेला धेरै लगानी जोखिम मोलेका व्यवसायी नजिकिँदो तीजले व्यवसाय केही फस्टाउने आशामा छन्। 

उनीहरुका अनुसार तीजको लागि बुकिङ सुरु भएको छ। व्यवसाय बढेसँगै कोभिड महामारीको कारण रोजगारीबाट हटाएका कर्मचारी पुनः नियुक्त हुनथालेका छन्। 

बालुवाटार प्यालेसका सञ्चालक मुक्ति दाहाल तीजको कारण रौनक आउन थालेको बताउँछन्। पार्टी प्यालेसहरुको लागि तीज एउटा व्यापारको सिजन रहेको उनको भनाइ छ।  

‘अहिले प्रायःजसो पार्टी प्यालेसमा कार्यक्रम हुनथालेका छन्’, दाहालले भने, ‘तीज आएसँगै कार्यक्रमको लागि बुकिङ बढिरहेको छ।’

उनले पहिला पार्टी प्यालेस विवाहको सिजनमा मात्रै चल्ने अवस्था रहेकोमा यो ट्रेन्ड परिवर्तन भएको बताए। 

बालुवाटार प्यालेस

पार्टी प्यालेसमा दर खाने चलन!
तीज नेपाली हिन्दू नारीहरुको मौलिक पर्व हो। वर्षौँदेखि मनाइने यस समयमा दर खाने, गीत गाउने नाच्ने, निराहार व्रत बस्ने र पूजा लगाउने गरेको पाइन्छ। 

पछिल्लो समय दर खाने संस्कृति भने व्यापक रुपमा फैलिएको छ। घरमै सीमित यो चलन अहिले सामूहिक दर खाने हुँदै पार्टी प्यालेसमा भेला भएर दर खाने चलनको रुपमा विकसित भइरहेको छ। 

तीजको लागि सप्ताहान्त (शुक्रबार र शनिबार)मा बढी बुकिङ हुनथालेको सम्बद्ध व्यवसायी बताउँछन्। 

दर खाने संस्कृतिमा आएको यो परिवर्तन पार्टी प्यालेस व्यवसायीका लागि फलदायी देखिएको छ।  

केही वर्ष अघिसम्म दाजुभाइको घरमा दर खाने कार्यक्रम हुने भए पनि पछिल्ला वर्षमा पार्टी प्यालेसमा दर खाने कार्यक्रम आयोजना हुनथालेका हुन्। 

अहिले दाजुभाइ दिदीबहिनीभन्दा पनि कार्यालय, समूह मिलेर पार्टी प्यालेसमा तीजका कार्यक्रम आयोजना हुने गरेका छन्। 

यसले विवाह व्रतबन्धजस्ता विशेष अवसरमा व्यस्त रहने पार्टी प्यालेस तीजमा पनि चल्मलाउन थालेको छ। यसले महामारीले ‘नाजुक’ बनाएको व्यवसायलाई फस्टाउन केही योगदान मिल्ने व्यवसायीको भनाइ छ। 

नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघका अध्यक्ष लिला जिसीले कोभिड महामारीपछि पार्टी प्यालेसको व्यवसाय लयमा फर्किँदै गरेको बताए। 

तीजमा बुकिङ धेरै, आम्दानी कम 
महासंघका अनुसार तीजमा पनि पार्टी प्यालेसमा धेरै बुकिङ हुने गरेको छ। तर ससाना समूहका धेरै कार्यक्रम हुँदा बुकिङ धेरै देखिए पनि आम्दानी नहुने जिसीको भनाइ छ। 

‘पार्टी प्यालेसका हल ३०० देखि ४०० जना अट्ने हुन्छन्’, उनले भने, ‘तीजको समयमा ५०–६० जनाले बुकिङ गर्छन्। आम्दानी कम हुन्छ।’

जिसीले अहिले महंगी बढ्दा पार्टी प्यालेसको मेन्यु पनि महंगो भएको बताए। पार्टी प्यालेसको मूल्य १५ प्रतिशतसम्म बढेको उनले जानकारी दिए। 

महंगी बढेपछि पार्टी प्यालेस आउने पनि कम हुने गरेको उनको अनुभव छ। 

‘५ लाख रुपैयाँमा कति जनालाई खुवाउन सकिन्छ त्यो हिसाबमा पार्टी प्यालेस बुकिङ हुन्छ’, अध्यक्ष जिसीले भने, ‘रकम एउटै रहे पनि अहिले कम संख्यालाई मात्रै खुवाउन सकिन्छ।’

कोभिड महामारीको पहिलो र दोस्रो लकडाउनले महासंघमा आबद्ध २९ पार्टी प्यालेस बन्द हुनुपरेको जिसीको भनाइ छ। 

लैनचौर ब्यान्क्वेट।

टिक्न सक्ने आम्दानी, लयमा फर्किँदै व्यवसाय 
त्यसो त कोभिडपछि पार्टी प्यालेसले आफू टिक्न सक्ने आम्दानी भने गरिरहेको व्यवसायी बताउँछन्।  

‘व्यवसाय बढ्दो रुपमा छ। तर नर्मल (सामान्य) अवस्थामा फर्किन अझै १ वर्ष बढी लाग्ने देखिन्छ’, अध्यक्ष जिसीले भने। 

देशभर करिब ७ हजार बढी पार्टी प्यालेस छन्। कोभिडको समयमा ५० हजारभन्दा बढीको रोजगारी गुमेको महासंघ बताउँछ। 

अध्यक्ष जिसी अहिले यस क्षेत्रबाट गुमेको रोजगारी फर्किन थालेको बताउँछन्। 

सञ्चालक दाहाल पनि पार्टी प्यालेसमा कर्पोरेट कार्यक्रम, साधरणसभा, जन्मोत्सव, वैवाहिक वर्षगाँठ, तीजलगायतका पर्वले व्यवसाय बढाएको बताउँछन्। 

‘कोभिडअघिको अवस्थाभन्दा करिब ५० प्रतिशत व्यवसाय फर्किएको छ,’ उनले भने, ‘तीजसँगै विवाहको सिजन आएकाले मंसिरदेखि पहिलाकै अवस्थामा पुग्ने देखिन्छ।’

बालुवाटार प्यालेसले आफ्नो तीजसम्बन्धी सामग्री राखेर व्यवसाय गरेको उनले बताए। पार्टी प्यालेसको व्यवसाय बढाउन ५० स्टल राखेर तीजसँग सम्बन्धित सामग्रीको मेला आयोजना गरेको उनको भनाइ छ। 

पार्टी प्यालेस व्यवसायी महासंघका उपाध्यक्ष कृष्ण पाण्डे पनि सर्वसाधारणले कोभिड खोप पाउन थालेपछि पार्टी प्यालेसको व्यवसाय वृद्धि भएको बताउँछन्। 

सामान्य अवस्थामा आउन १ वर्ष बढी लाग्ने भए पनि अहिले व्यवसाय बढ्दै गएको उनले सुनाए। 

‘कोभिडको समयमा बन्द भएका व्यवसाय अधिकांश खुलिसकेका छन्। अहिले उत्सवबाहेक कर्पोरेट कार्यक्रम हुनथालेका छन्’, पाण्डेले भने, ‘अहिले पार्टी प्यालेसको खर्च उठ्नथालेको छ।’

शुभकामना ब्यान्क्वेट कीर्तिपुर। तस्बिर : शुभकामनाको फेसबुक

संक्रमित बढ्दा पार्टी प्यालेस व्यवसायीमा त्रास
पार्टी प्यालेस व्यवसाय लयमा फर्किँदै गर्दा फेरि बढ्न थालेको कोरोना संक्रमणले भने चिन्ता बढाइरहेको छ। 

दैनिक कोभिड संक्रमित बढ्दा पार्टी प्यालेस व्यवसायी त्रसित भएका छन्। हाल दैनिक १ हजारको हाराहारीमा कोभिड संक्रमित भएका छन्। 

महासंघका अध्यक्ष जिसीले कोभिड महामारी संक्रमित संख्या बढ्दै जाँदा व्यवसायीमाझ डर पैदा भएको बताए। 

‘विस्तारै बढ्दै गइरहेको व्यवसाय फेरि के हुने हो भन्ने चिन्ता व्यक्त गर्न थालेका छन्’, जिसीले भने। 

पाण्डेले पार्टी प्यालेस व्यवसाय संवेदनशील क्षेत्र भएकाले हल्ला हुनेबित्तिकै प्रभावित हुने बताए। 

‘अहिले पनि संक्रमित बढ्दै गएपछि व्यवसायी त्रसित अवस्थामा छन्। फेरि बन्द हुने अवस्था त देखिँदैन’, उनले भने, ‘सरकारले नै पार्टी प्यालेस बन्द गरेमात्रै हो, नभए सर्वसाधारणमा त्रास कम भएको छ।’

बालुवाटार प्यालेसका दाहाल पनि सर्वसाधारण कोभिडबाट त्रसित हुन छाडेकोले पहिला जस्तो अवस्था नआउने बताउँछन्। 

अधिकांशले कोभिड खोप लगाएकाले पनि व्यवसाय बन्द गर्ने अवस्था नआउने उनको विश्वास छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .