कारोबार


ऊर्जामन्त्री पुनसँग चीनको युनानका गभर्नरले भने : ऊर्जामा थप लगानी गर्छौँ

ऊर्जामन्त्री पुनसँग चीनको युनानका गभर्नरले भने : ऊर्जामा थप लगानी गर्छौँ

नेपालखबर
मंसिर ९, २०७६ सोमबार ८:२५,

ऊर्जामन्त्री, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ र चीनको युनान प्रान्तका गभर्नर रुएन चेङफाबीच भेटवार्ता भएको छ।

सिंहदरवारस्थित ऊर्जा मन्त्रालयमा सोमबार भएको भेटमा द्विपक्षीय हितका साथै ऊर्जा क्षेत्रमा लगानी गर्नेबारे छलफल भएको मन्त्री पुनको सचिवालयले जनाएको छ।

मन्त्री पुनले चिनियाँ राष्ट्रपति सी चिनफिङको गत महिना भएको नेपाल भ्रमणबाट दुई देशबीचको सम्बन्ध मजबुत बनेको भन्दै उच्चस्तरीय भ्रमणले जनस्तरमा समेत सम्बन्ध सुमधुर हुने विश्वास व्यक्त गरे।

‘नेपाल र चीनबीच लामो समयदेखि राजनीतिक, प्रशासनिक र जनस्तरको सम्बन्ध रहेको छ। यसप्रकारका उच्चस्तरिय भ्रमणले चिनियाँ नागरिकलाई नेपाल भ्रमणको लागि प्रोत्साहन समेत गर्नेछ भन्ने मेरो विश्वास छ’, मन्त्री पुनले भेटमा भने।

pun yunan governar 2

नेपाल भ्रमणको क्रममा आइतबार काठमाडौं आएका गभर्नर चेङगफा नेतृत्वको आठ सदस्यीय प्रतिनिधिमण्डलले ऊर्जामन्त्री पुनसहित मन्त्रालयका अधिकारीसँग छलफल गरेको हो। छलफलमा ऊर्जा क्षेत्रमा गर्ने लगानी, पर्यटन र कृषि क्षेत्रमा सहकार्य गर्नेबारे छलफल भएको थियो।

भेटमा ऊर्जामन्त्री पुनले तामाकोशी जलविद्युत् आयोजनामा युनानको प्रान्तीय सरकारले नै लगानी गर्ने खबर आफूले प्राप्त गरेको भन्दै अन्य जलविद्युत् परियोजनामा पनि लगानी गर्न आग्रह गरे।

‘तामोकोशी जलविद्युत् परियोजनामा युनान सरकारको ८० प्रतिशत लगानी रहेको जानकारी प्राप्त भएको छ। यसमा म तपाईंहरुलाई स्वागत र धन्यवाद दिन चाहन्छौँ। पछिल्लो समय चीनसहित विश्वका विभिन्न देशका लगानीकर्ताहरुको संख्या धेरै छ’, मन्त्री पुनले भने।

उनले सरकारले जलविद्युतको क्षेत्रमा उदार नीति लिएको भन्दै नेपालको जलविद्युतमा थप लगानीका लागी पहल गरिदिन आग्रह समेत गरे।

मन्त्री पुनले जलविद्युत क्षेत्रमा लचिलो नीति लिएका जानकारी दिँदै पहिलो १० वर्षमा आयकर समेत छुट हुने प्रावधान राखिएको बताए। उनले भने, ‘नेपालभित्र खपतको लागि बजारको विस्तार पनि हुँदै गएको छ। भारत, कोरिया र चीनलगायतका देशबाट पनि लगानीकर्ताहरु आइरहेका छन्। हामी युनानबाट पनि थप लगानी होस् भन्ने आशा राख्छौँ।’

बंगलादेश र भारतमा विद्युत् व्यापारको लागि ढोका खोलेको भन्दै नेपालमा पनि बजार निर्माण भइरहेको मन्त्री पुनको भनाइ थियो। उनले चार वर्षभित्र पाँच हजार मेगावाट बिजुली उत्पादन हुने जानकारी दिँदै नेपालले जलविद्युतको क्षेत्रमा प्रगति गरिरहेको बताए।

pun22

मन्त्री पुनले सरकारले २०२० लाई भ्रमण वर्ष मनाउने निर्णय गरेको भन्दैै युनान प्रान्तका जनतालाई नेपाल भ्रमणको लागि यो सन्देश प्रवाह गरिदिन आग्रह गरे।

भेटमा युनान प्रान्तका गभर्नर रुएन चेङगफाले आफू पनि चिनियाँ राष्ट्रपतिको भ्रमणपछि सम्झौता कार्यान्वयनका लागि नेपाल भ्रमणमा आएको भन्दै युनान प्रान्तको सरकार नेपालमा कृषि, ऊर्जा, प्रविधि र पर्यटन क्षेत्रमा सहकार्य गर्न इच्छुक रहेको धारणा राखे।

उनले नेपाल र चीनबीच पुरानो मित्रता रहेको भन्दै आगामी दिनमा पनि सम्बन्ध अझै मजबुत हुने विश्वास व्यक्त गरे। गभर्नर चेङफाले तामाकोशी ३ जलविद्युत् आयोजनामा युनान सरकारले लगानी गरेको भन्दै यो आयोजना सुरुवात मात्र भएको र आगामी दिनमा युनानले जलविद्युत् क्षेत्रमा थप लगानी गर्ने बताए।

उनले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका क्रममा काठमाडौं–केरुङ रेलवे परियोजनाको अध्ययन गर्ने समझदारी भएको भन्दै रेलवे परियोजना निर्माणसँगै युनान प्रान्त र नेपालको व्यापारमा वृद्धि हुने विश्वास व्यक्त गरे।

युनान प्रान्तका गर्भनर चेङगफाले कुनमिङमा आयोजना हुने कुनमिङ साउथ एसिया एक्स्पोमा सहभागी हुन मन्त्री पुनलाई निमन्त्रणा समेत दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad