कारोबार


राजस्व छल्न माहिर गुट्खा व्यवसायीः रातभर उत्पादन, उज्यालो नहुँदै पसल-पसलमा

राजस्व छल्न माहिर गुट्खा व्यवसायीः रातभर उत्पादन, उज्यालो नहुँदै पसल-पसलमा

दीपक भट्ट
मंसिर ४, २०७६ बुधबार १२:४३,

अधिकांश नेपाली गुट्खा उद्योगहरुले राजस्व छली गर्ने गरेको पाइएको छ। अन्तःशुल्क लाग्ने गुट्खाजन्य वस्तु उत्पादन गर्ने अधिकांश उद्योगीले स्टिकर नै नटाँसी पसलहरुलमा बिक्रीवितरण गरिरहेको पाइएको हो।

राजस्व अनुसन्धान विभागको अध्ययनले उद्योगीहरुले थोरै मात्रामा स्टिकर टाँसिएको गुट्खा मात्रै बिक्री गरिरहेका देखाएको छ। उक्त अध्ययनअनुसार अधिक मात्रामा भने स्टिकर नटाँसी पसलमा बिक्री भइरहेको देखिएको हो। त्यसरी बिक्री गर्नको लागि उद्योगहरुले रातिको समयमा नै पसलहरुमा गुट्खा वितरण गर्ने गरेको देखिएको छ।

विभागका महानिर्देशक दीर्घराज मैनालीले नेपालखबरसँग कुरा गर्दै नेपालमा मुख्य राजस्व छली हुने गुट्खा देखिएको बताए। राजस्व छली हुने वस्तुहरुको सूचीमा गुट्खा नै पहिलो नम्बरमा देखिएको छ। नक्कली भ्याट बिलको प्रयोग हुने मुद्दाहरु आइरहे पनि पछिल्लो समय गुट्खामा भने ठूलो समस्या देखिएको महानिर्देशक मैनाली बताउँछन्।

उनले नेपालखबरसँग भने, ‘अन्तःशुल्क स्टिकर यसको बाहिरी भागमा लगाइन्छ। तर पसलमा पुगेपछि बाहिरी प्याकेट नै फालेर भित्रको साना प्याकेटहरु झुण्डाएर राखिन्छ। त्यसमा स्टिकर हुँदैन, त्यसकारणले पसलमा राति नै पु¥याउँदा राजस्व छली गर्न सजिलो देखिएको छ।’

यो वर्ष मात्रै पाँचवटा उद्योगले ८० करोडभन्दा बढी राजस्व छली गरेको भन्दै विभागमा समेत उजुरी परेको छ। यो ठूलो परिमाणमा भेटिएको घटना भएको र साना साना घटना भने हरेक गुट्खा उद्योगमा हुने विभागको भनाइ छ।

विभागले दर्ता गरेको उजुरीलाई हेर्ने हो भने गुट्खा उद्योगमा सबैभन्दा बढी राजस्व छली गर्नेमा झापाको स्थायी लेखा नम्बर ३०५४४१४६३ रहेको साकम्बरी प्रोडक्स रहेको छ। यो उद्योगले ३६ करोढ ५५ लाख रकमको राजस्व छली गरेको छ। यसका सञ्चालक मुकेश शर्मा, रामकृष्ण शर्मासहित छ जनालाई जिल्ला अदालत झापामा यही मंसिर १ गते मुद्दा दायर गरिएको छ।

त्यस्तै, दोस्रो नम्बरमा लुम्बिनी पान मसला तथा सुर्ती गुट्खा उद्योग (स्थायी लेखा नं. ३०२२३२२७३) देखिएको छ। यो उद्योगले १६ करोड ५३ लाख रुपैयाँ राजस्व छली गरेको देखिएको हो। यसका सञ्चालक अब्दुल्लाह मुसलमानविरुद्ध असार ११ गते बारा जिल्ला अदालतमा मुद्दा दायर गरिएको विभागले जनाएको छ।

तेस्रो नम्बरमा न्यू पश्चिमाञ्चल ट्रेडर्स देखिएको छ। यसले ११ करोढ ४७ लाख राजस्व छली गरेको देखिएको छ। यसले ११ कोड ४७ लाख रुपैयाँ राजस्व छली गरेको भन्दै सञ्चालक मोहमद रेहानविरुद्ध असार ११ गते नै बारा जिल्ला अदातमा मुद्दा दायर भएको छ। त्यस्तै ग्रिन टोबाको कम्पनी प्रालि (स्थायी लेखा नं. ३०२४४१९१२) ले १० करोड १५ लाख राजस्व छली गरेको पाइएको छ।

यसका सञ्चालक पर्शुराम श्रेष्ठविरुद्ध जिल्ला अदालत काठमाडौंमा यही मंसिर २ गते मुद्दा दायर भएको हो।

अर्को नेपाल पान मसला उद्योग (स्थायी लेखा नं. ६०४०६१३८४) ले सात करोड ५२ लाख राजस्व छली गरेको देखिएको छ। यसका सञ्चालक कुतबुद्दिन शेषविरुद्ध भदौ २३ गते बाँके जिल्ला अदालतामा मुद्दा दर्ता भएको छ।

यी सबै ठूलो मात्रामा राजस्व छली गर्नेहरु देखिएको महानिर्देशक मैनालीको भनाइ छ। अन्य ससाना उद्योगहरुले पनि राजस्व छली गर्ने गरेका छन्। ती उद्योगलाई भने विभागले सम्झाउने र सामान जफत गर्ने गरेको विभागले जनाएको छ।

मैनालीले भने, ‘साना घटनाहरुलाई सबै हेर्न यो विभागले भ्याउँदैन कर्मचारी पनि थोरै रहेका छन्, यो विभागबाहिर बसेर हेर्ने विभागको हो, साना साना कुराहरुको अध्ययन आन्तरिक राजस्व विभागले गर्नुपर्ने देखिन्छ।’

अहिले नेपालको राजस्व चुहावट घट्नुपर्नेमा बढिरहेको देखिएको छ। त्यसको जिम्मेवार कर प्रशासन पनि हुने मैनालीको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad