तनहुँको जिल्लाको ब्यास नगरपालिका-१ मुसेखोलामा आज चितुवा मृत अवस्थामा फेला परेको छ। पृथ्वीराजमार्ग अन्तर्गत मुसेखोला नजिकैको खेतमा मृत अवस्थामा चितुवा फेला परेको हो।
मृत अवस्थामा चितुवा देखेपछि स्थानीयवासीले डिभिजन वन कार्यालयमा खबर गरेका थिए। सात÷आठवर्षको भाले चितुवा चोटपटक लागेर मरेको हुनसक्ने डिभिजन वन कार्यालयका प्रमुख केदार बरालले जानकारी दिए।
‘चितुवाको ढाड भाँच्चिएको छ,’बरालले भने, ‘सवारी साधनले ठक्कर दिएको हुनसक्छ।’ करीब ५० केजी तौलको उक्त चितुवाको छाला काटेर चितवन राष्ट्रिय निकुञ्ज पठाइएको छ भने शरीर वन कार्यालयको हाताभित्र नै खाडल खनेर गाडिएको सहायक वन अधिकृत बाबुराम उप्रेतीले जानकारी दिए।
मंसिर २ गतेमात्र ब्यास नगरपालिका–७ स्थित लोककल्याण सामुदायिक वनमा चितुवाको डमरु मृत अवस्थामा फेला परेको थियो। जिल्लामा विगत केही वर्षदेखि चितुवाको आतंक छ। भानु नगरपालिकामा डेढवर्षको अवधिमा चितुवाको आक्रमणबाट ६ जना बालबालिकाको मृत्यु भएको छ भने चारजना बालबालिका घाइते भएका छन्। रासस
Shares

प्रतिक्रिया