सरकारले विद्यार्थीबाट अवैधानिकरुपमा असुल गरेको शुल्क छानबिन गर्न कलेजमा छापा मार्ने डरले रुपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (युसीएमएस)ले महत्वपूर्ण कागजपत्र नै ‘गायब’ पारेको छ। १९ दिनदेखि आन्दोलनरत बीडीएस र एमबीबीएस अध्ययनरत विद्यार्थीहरुले गत सोमबार कलेज प्रशासन, लेखा, प्राध्यापक तथा सहायक प्राध्यापक कक्षलगायतमा तालाबन्दी गरेका थिए।
विद्यार्थी तालाबन्दीले हप्तादिन प्रशासनिक काम ठप्प थियो। तर, आइतबार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले चितवन मेडिकल कलेज, नेशनल मेडिकल कलेज, वीरगञ्ज र नोबल मेडिकल कलेज, विराटनगरमा छापा मारेपछि युसीएमएस प्रशासनले तालाबन्दी गरिएको प्रशासन शाखाको झ्यालको ‘लक’ फुटाएर महत्वपूर्ण कागजात नै गायव बनाएको हो।
‘तालाबन्दीपछि विद्यार्थीहरु प्रशासनिक काम भएको छैन भनेर ढुक्क थिए। तर प्रशासनले झ्यालबाट भित्र पसेर महत्वपूर्ण फाइल नै लुकाउने काम गरेको पाइएको छ’, स्रोतले नेपालखबरसँग भन्यो। आन्दोलनरत विद्यार्थीका अनुसार कलेज प्रशासन शाखामा एउटै ढोकाभित्र छुट्टाछुट्टै क्याबिन छन् । ती क्याविनमा विद्यार्थीबाट अवैधरुपमा लिइएको शुल्कको कागजात राखिएको थियो। सबै कागजपत्र प्रशासनले बठ्याइँ गरेर ‘गायब पारेको छ ।

‘मंगलबार बिहान ७ बजे प्रशासन शाखामा जाँदा झ्यालको लक तोडिएको थिएन। तर, १० बजेपछि जाँदा सबै झ्यालका लक तोडेर भित्रका सबै कागजात नै ‘गायब’ पारिएको छ। बन्द कोठाभित्र कम्प्युटर वन गरिएकै अवस्थामा छ। यसले पनि प्रशासनको बदमासी प्रष्ट हुन्छ’, बीडीएस अध्ययनरत एक विद्यार्थीले भने।
बीडीएस र एमबीबीएस अध्ययनमा मनपरी शुल्क लिएर मेडिकल कलेजहरुले विद्यार्थीको ढाड सेकिरहेको भन्दै सम्पत्ति शुद्धीकरणले मेडिकल कलेज र सञ्चालकहरुको सम्पत्ति छानबिन सुरु गरेको छ। यसैको डरमा युसीएमएसले बन्द प्रशासनको झ्यालको लक नै फुटाएर फाइल लुकाएको हो। विद्यार्थीले अतिरिक्त शुल्क फिर्ता, परीक्षा शुल्क त्रिभुवन विश्वविद्यालयले तोकेअनुरुप हुनुपर्ने, इन्टर्नको पारिश्रमिक वृद्धि साथै बीडीएसमा अध्ययनरत विद्यार्थीको प्रयोगात्मक परीक्षाका लागि कलेजले बिरामी दिनुपर्ने माग गर्दै १९ दिनदेखि आन्दोलन गर्दै आएका छन् भने ५ दिनदेखि सामूहिक रिले अनशनसमेत बसेका छन्।
युसीएमएसका प्रबन्धक कमलप्रसाद ढकालले विद्यार्थीले कलेज प्रशासनले महत्वपूर्ण फाइल गायव गर्यो भनेर लगाएको आरोपमा कुनै सत्यता नरहेको दाबी गरे । ‘चौबीसै घण्टा अस्पताल चल्ने ठाउँमा सर्वर बन्द हुने कुरा भएन । सधैँ अन नै हुन्छ । अर्को कुरा आल्मुनियमको ढोका कहिलेकाहीँ बेस्सरी धकेल्दा लक छुट्न सक्छ। यसमा विद्यार्थीले त्यसै इस्यु निकाल्न आरोप मात्रै लगाएका हुन्। कुनै सत्यता छैन’, उनले भने। उनले यसअघि नै झ्यालको लक खराव भएको हुनसक्ने आँकलन गरे। ‘त्यस्तो तालाबन्दी गरिएको ठाउँमा कोही जाने कुरा भएन। त्यो असम्भव कुरा हो’, उनले भने।
यता विद्यार्थी भने प्रशासनको भनाइ मान्न तयार छैनन्। विद्यार्थीले प्रशासनले भर्नासम्बन्धी सम्पूर्ण कागजातहरु लुकाएको दाबी गरेका छन्। सरकारले बीडीएसका लागि १९ लाख ३२ हजार र एमबीबीएसका लागि ४२ लाख ५० हजार शुल्क तोकेको छ। तर, युुसीएमएससहित अन्य मेडिकल कलेजले त्यसबाहेक १० लाखसम्म अतिरिक्त शुल्क उठाउँदै आएको विद्यार्थीको दावी छ। लामो समयसम्म विद्यार्थी आन्दोलन चलिरहँदा समेत वार्ताको वातावरण समेत बनाउन नसकेको युसीएमएसले एकाएका झ्याल नै फुटाएर भर्नासम्बन्धी कागजात नै गायव पारेपछि विद्यार्थी थप आक्रोशित भएका छन्।

प्रतिक्रिया