ad ad

कारोबार


आर्थिक प्रतिष्ठानमा ३६ हजारलाई रोजगारी

आर्थिक प्रतिष्ठानमा ३६ हजारलाई रोजगारी

कृष्ण न्यौपाने
कात्तिक ३०, २०७६ शनिबार १३:३०,

 तनहुँ जिल्लामा सञ्चालनमा रहेका १२ हजार ४३३ प्रतिष्ठानमा ३६ हजारभन्दा बढीले रोजगारी पाएका छन्।

केन्द्रीय तथ्याङ्क विभागले गत वर्ष सङ्कलन गरेको आर्थिक गणनाअनुसार जिल्लामा आर्थिक क्रियाकलापमा संलग्न १२ हजार ४३३ प्रतिष्ठानमा ३६ हजार ६८६ ले रोजगारी पाएका हुन्। त्यसमध्ये पुरुषको सङ्ख्या १९ हजार ६५२ र महिलाको सङ्ख्या १७ हजार ३४ रहेका छन्।

कूल आर्थिक प्रतिष्ठानमध्ये छ हजार ९१५ दर्ता भएर र पाँच हजार ५१८ प्रतिष्ठान बिनादर्ता सञ्चालनमा रहेको तथ्याङ्क कार्यालय कास्कीका निर्देशक जगुलाल बस्यालले जानकारी दिए।

कृषि, वन तथा माछापालन व्यवसायमा ९७२, खानी तथा उत्खननमा ३२४, औद्योगिक उत्पादनमा चार हजार २०२, विद्युत्, ग्यास, बाफ तथा बातानुकूलित आपूर्तिमा १९१, पानी आपूर्ति, ढल, फोहर व्यवस्थापन तथा प्रशोधन क्रियाकलापमा २०४, निर्माणमा ६२ र थोक तथा खु्रदा व्यापार, मोटरगाडी, मोटरसाइकल मर्मतमा १२ हजार ३३६ जनाले रोजगारी पाएका छन्। यसैगरी यातायात तथा गोदाममा ८९, आवास सुविधा तथा खाना व्यवस्थामा चार हजार ३८८, सूचना तथा सञ्चारमा ३००, वित्तीय तथा बीमामा तीन हजार २४८, पेशागत, वैज्ञानिक तथा प्राविधिक क्रियाकलापमा २२९, प्रशासनिक तथा सहयोगी क्रियाकलापमा ४२, शिक्षामा सात हजार २०९, मानव स्वास्थ्य तथा सामाजिक कार्यका क्रियाकलापमा एक हजार ८१४, कला, मनोरञ्जन तथा मनोविनोद क्रियाकलापमा ३३ र अन्य सेवा क्रियाकलाप सञ्चालन गर्ने प्रतिष्ठानमा एक हजार ४३ जनाले रोजगारी पाएका छन्।

प्रतिवेदनअनुसार जिल्लाको स्थानीय तहमध्ये सबैभन्दा बढी व्यास नगरपालिकामा तीन हजार ४०८ र सबैभन्दा कम घिरिङ गाउँपालिकामा प्रतिष्ठान सञ्चालनमा रहेका छन्। कूल प्रतिष्ठानमध्ये व्यासमा २७।४ र घिरिङमा २।३ प्रतिशत प्रतिष्ठान रहेको छ। भानु नगरपालिकामा एक हजार ३५२, म्याग्दे गाउँपालिकामा ७५३, शुक्लागण्डकी नगरपालिकामा दुई हजार ४७२, भीमाद नगरपालिकामा एक हजार ११, ऋषिङ गाउँपालिकामा ५६९, देवघाट गाउँपालिकामा ३५३, बन्दीपुर गाउँपालिकामा एक हजार १८२ र आँबुखैरेनी गाउँपालिकामा एक हजार ३७ प्रतिष्ठान सञ्चालनमा रहेको छ।

जिल्लामा कृषि, वन तथा माछापालन व्यवसाय, खानी तथा उत्खनन, औद्योगिक उत्पादन, विद्युत्, ग्यास, बाफ तथा वातानुकूलित आपूर्ति, पानी आपूर्ति, ढल, फोहर व्यवस्थापन तथा प्रशोधन, निर्माणलगायतका क्षेत्रानुसारका प्रतिष्ठान रहेका छन्।

यस्तै थोक तथा खुद्रा व्यापार, मोटर गाडी, मोटरसाइकल मर्मत, यातायात तथा गोदाम, आवास सुविधा तथा खाना व्यवस्थापन, सूचना तथा सञ्चार, वित्तीय तथा बीमा, घरजग्गा कारोवार, पेशागत, वैज्ञानिक तथा प्राविधिक क्रियाकलाप, प्रशासनिक तथा सहयोगी क्रियाकलाप, शिक्षा, मानव स्वास्थ्य तथा सामाजिक कार्यका क्रियाकलाप, कला, मनोरञ्जन तथा मनोविनोद क्रियाकलाप र अन्य सेवा क्रियाकलाप सञ्चालन गर्ने प्रतिष्ठान जिल्लामा रहेका छन्। प्रतिवेदनअनुसार जिल्लामा सबैभन्दा बढी थोक तथा खुद्रा व्यापार, मोटरगाडी, मोटरसाइकलको मर्मत गर्ने प्रतिष्ठान १२ हजार ३३६ रहेको छ।

जिल्लामा रहेका प्रतिष्ठानमध्ये आठ हजार २१ ले लेखाश्रेस्ता राख्ने र चार हजार ८८ ले लेखाश्रेस्ता राख्ने नगरेको पाइएको छ। उक्त प्रतिष्ठानमध्ये व्यावसायिक उद्देश्यका लागि ऋण लिएका प्रतिष्ठान सङ्ख्या तीन हजार ९२९, वित्तीय संस्था दुई हजार ४८५ र वित्तीय संस्थाबाहेकका एक हजार ४४८ प्रतिष्ठान जिल्लामा छन्।

आफ्नै भवन वा कोठामा सञ्चालन हुने प्रतिष्ठानको सङ्ख्या छ हजार ९१०, भाडाको भवन वा कोठामा सञ्चालन हुने प्रतिष्ठानको सङ्ख्या चार हजार ८०३, भाडा वा ठेक्काको भवन वा कोठामा सञ्चालन हुने प्रतिष्ठानको सङ्ख्या ५४ र अन्य प्रकारको स्वामित्व स्थिति भएका भवन वा कोठामा सञ्चालन हुने प्रतिष्ठानको सङ्ख्या १८९ छ।

तथ्याङ्क विभागले गत वर्ष वैशाख १ गतेदेखि जेठ ३१ गतेसम्म आर्थिक गणनाका लागि जिल्लामा गणक खटाएको थियो। आर्थिक तथ्याङ्कको आधार खडा गर्न र प्रतिष्ठान तथा व्यवसायको व्यावसायिक क्रियाकलापसम्बन्धी वर्तमान अवस्थाका आधारभूत तथ्याङ्क उपलब्ध गराउन सरकारले आर्थिक गणना गरेको थियो।

नेपालको तथ्याङ्कीय इतिहासमा पहिलोपटक आर्थिक गणनामा कागजी प्रश्नावली फारामका साथै अनलाइन सर्वेक्षणमार्फत उत्तरदाताले आफ्नो प्रतिष्ठानको विवरण आफैँ भर्नसक्ने र गणकमार्फत पनि गणना गर्न सकिने विधि अपनाइएको थियो।

गण्डकी प्रदेशमा तेस्रो

आर्थिक प्रतिष्ठान धेरै हुने जिल्लामध्ये तनहुँ गण्डकी प्रदेशको तेस्रो स्थानमा रहेको छ। तथ्याङ्क कार्यालय कास्कीका अनुसार गण्डकी प्रदेशमा कूल एक लाख ६८४ आर्थिक प्रतिष्ठान छन्। ती प्रतिष्ठानमा तीन लाख ३२ हजार ४७२ जनशक्ति संलग्न छन्।

आर्थिक प्रतिष्ठान बढी हुने पहिलो जिल्ला कास्कीमा ३० हजार ७४५ प्रतिष्ठान छन्। त्यस्तै दोस्रो नवलपुरमा १२ हजार ७४५, तेस्रो तनहुँमा १२ हजार ४३३, चौथो गोरखामा १० हजार ९७२, पाँचाँै बागलुङमा आठ हजार ९२३, छैटौँ स्याङ्जामा सात हजार ४१०, सातौँ लमजुङमा छ हजार ४११, आठौँ म्याग्दीमा पाँच हजार ६३, नवौँ पर्वतमा चार हजार ७२०, दशौँ मनाङमा ४८७ र एघारौँ मुस्ताङमा ७७५ आर्थिक प्रतिष्ठान छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .