कारोबार


नक्कली बीजक तयार पारी तीन अर्ब राजस्व छली

नक्कली बीजक तयार पारी तीन अर्ब राजस्व छली

नेपालखबर
असार ६, २०७६ शुक्रबार ११:२,

 विभिन्न व्यक्तिको नाममा फर्म दर्ता गरेर नक्कली बीजक तयार एवं बिक्री गरी एक समूहले करिब तीन अर्ब राजस्व छलेको पाइएको छ। सुनसरीको इनरुवा नगरपालिका–९ वलाहा घर भई हाल भक्तपुरको थिमि बस्ने गोपालप्रसाद भट्टराईसहित १५ जनाले कर छली गरी ठगी गरेको राजस्व अनुसन्धान विभागले जनाएको छ ।

उनीहरुविरुद्ध दुई अर्ब ९८ करोड ५७ लाख ५७ हजार १ सय १५ रुपैयाँ बिगो कायम गरी बिगोको दुई गुणा जरिवाना र तीन वर्ष कैद सजायको माग दाबीसहित काठमाडौं जिल्ला अदालतमा बिहीबार मुद्दा दायर गरिएको विभागले प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको छ।

उनीहरुले विनोद धमाला, सन्तोषकुमार कार्की, मेघबहादुर श्रेष्ठ, धनबहादुर भोम्जन, भरतबहादुर दुम्जन, विमल पुतुवार, नारायण कोइराला (दमाई) र पार्वती सूचीकारका नाममा आठ वटा फर्म दर्ता गरेर नक्कली बीजक तयार गरी राजश्व छलेको पाइएको विभागले जानकारी गराएको हो।

उक्त फर्मबाट गोपालप्रसाद भट्टराई र रिम्बरध्वज कार्कीले वस्तु तथा सेवाको खरीद बिक्रीको कारोवार नै नगरी झुटा बिजक बनाएर राजश्व चुहावट गरेको खुल्न आएको छ।

यस्ता फर्महरुले बीजक मात्र जारी गर्ने गरेको, वस्तु तथा सेवाको वास्तविक खरिद बिक्री नगरी झुट्टा तथा नक्कली बीजक जारी गरेको र त्यसबाट प्राप्त हुने लाभमा सबैको समानुपातिक हिस्सेदारी भएकाले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ बमोजिमको कसुर गरेको विभागको दाबी छ। राजस्व चुहावटमा फर्मका प्रोपाइटर भट्टराई र कार्कीको मुख्य संलग्नता देखिएकाले कर छली गरेको रकमको बिगो असुल गरी बिगोको दोब्बरसम्म जरिवाना तथा तीन वर्षसम्म कैद सजायको माग गरिएको छ ।

कर सहयोगी ललितराज कन्दङ्वा र गौरी मैनालीले राजश्व चुहावटमा सहयोग गरेको तथा लेखा परीक्षक जगन्नाथ गुरुङ, शरणबहादुर खड्का र टङ्कनाथ नेपालले गलत लेखा परीक्षण प्रतिवेदन तयार गरेकाले भट्टराई र कार्कीलाई हुने सजायको आधा सजायको माग दाबी गरिएको महानिर्देशक मैनालीले जानकारी दिए। उक्त घटनामा विभागले चार महिना अघिबाट अनुसन्धान थालेको थियो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad