क्यानाडाको ग्लोबल टि–२० लिगमा आफूसँगै सोमपाल कामी पनि छनौट भएपछि नेपाली लेगस्पिनर सन्दीप लामिछानेले आफ्ना छनौट हुनुभन्दा पनि सोमपाल कामी छनौट भएकोमा खुशी लागेको बताएका छन्।
बिहीबार राति भएको लिगको ड्राफ्टमा सन्दीपसँगै सोमपाल पनि लिगमा अनुबन्ध भएका थिए। गत सिजन मोन्ट्रोरियल टाइगर्सबाट खेलेका सन्दीपलाई यस सिजनमा टोरन्टो नेशनल्सले अनुबन्ध गरेको हो भने सोमपाल यस सिजनमा विनिपेग हक्स टोलीबाट डेब्यू गर्दैछन्।
‘नयाँ अवसर आएको छ, नयाँ टिम छ,’ सन्दीपले भने, ‘म आफू भन्दा पनि सोमपाल दाईका लागि खुशी छु। मेरो चाहना नेपालबाट मसँगै अन्य खेलाडी आओस खोलोस् भन्ने थियो। उहाँलाई शुभकामना दिन चाहान्छु। आउने दिनमा अन्य खेलाडीलाई पनि अवसर दिलाउन हामी कोशिस गर्नेछौं।’
सन्दीपलाई टोरन्टोले ६० हजार डलरमा अनुबन्ध गरेको हो भने सोमपाललाई विनिपेगले ३ हजार डलरमा अनुबन्ध गरेको हो।
भिडियो:
लिगमा एशोसियट खेलाडीहरुको नाम आउँदा सन्दीप पहिलो चरणमै अनुबन्ध भएका थिए। सन्दीपले सायद आफूले सबैको नजरमा सन्दीप पहिलो भन्ने वातावरण बनाइसकेको बताए।
‘पहिलो मै नाम आउँनु भनेको राम्रै नै हो। मैले सायद उहाँहरुलाई पहिलो रोजाई नै सन्दीप पर्ने बातावरण बनाइसकेको छु होला। आउदा दिनमा म लगायत जतिपनि खेलाडी नेपालबाट जानुहुन्छ उहाँहरु पनि सबैको पहिलो रोजाई होस्।’
यो पनि: भविष्यमा आईपीएल खेल्छु ता कि बुबालाई खुसी लागोस्ः सोमपाल
क्यानडाको ग्लोबल टि–२० लिगमा विनिपेग हक्स बिहीबार राति सोमपाल कामीलाई टिमसँग अनुबन्ध गरेसँगै नेपालबाट अन्तर्राष्ट्रिय व्यवसायिक क्रिकेट लिगमा अनुबन्ध हुने सोमपाल नेपालका दोस्रो खेलाडी बने।
यसअघि नेपालका सन्दीप लामिछानेले ग्लोबल टि–२० लिगसँगै विश्वभरका अधिकांश लिग खेलिसकेका छन्। तीव्रगतिका बलर सोमपालसँगै सन्दीप पनि आगामी सिजनको ग्लोबल टि–२० लिगका लागि छनोट भएका हुन्।
छनोटमा परेपछि प्रतिक्रिया दिँदै सोमपालले ठूलो लिगहरुमा अवसर पाउँदा आत्म आत्मविश्वास अझै बढ्ने बताए। सोमपालले ग्लोबल टि–२० लिग आफैमा ठूलो लिग भएपनि आफ्नो बुबा भने लामो समय भारतमा रोजगारीका सिलसिलामा बसेका कारण बुबालाई इण्डियन प्रिमियर लिग(आइपीएल) ठूलो लाग्ने र एकदिन आफूले बुबाको सपना पनि पूरा गर्ने विश्वास व्यक्त गरे।
प्रस्तुत छ, ग्लोबल टि–२० लिगमा छनौट भएपछि सोमपालसँग गरिएको कुराकानीः
पाँचवर्ष अघि तपाई नेपाली टोलीमा पहिलो पटक पर्नु भएको थियो, अहिले अन्तर्राष्ट्रिय फ्रेन्चाइजी लिगमा अनुबन्ध हुनुभएको छ। आफ्नो यो यात्रालाई कसरी लिनुहुन्छ?
खुशी लाग्छ। जति खेल्दै गए त्यति नेपालले पनि उपलब्धि हासिल गर्दै गयो। पहिले देखि नै आइपीएल र अन्य विदेशी लिगहरु हेर्दै आएका थियौं। कहि न कही लाग्थ्यो कि हामी पनि त्यो खेल्न योग्य छौं। खेल्ने सपना पनि थियो तर सोचेको थिएनौं कि यति चाडै पूरा पनि हुन्छ। यो सुरुवात हो। पहिलोपटक खेल्न जाँदैछु। जसलाई टिभीमा हेर्दै आएका थिए। उनीहरुसँग खेल्न जादा आशा गरौं धेरैभन्दा धेरै सिक्न पाउँनेछु। उता, गएर मेरो प्रदर्शन हुन्छ कि हुँदैन्, मैले मेरो उत्कृष्ट दिनसक्छु कि नाई भन्न मिल्दैन् तर मेरोतर्फबाट मलाई लाग्छ अहिलेसम्म कडा मेहनत गरेको छु। त्यही भएर पक्कै पनि राम्रो हुन्छ।
टोलीमा छनौट हुनुभयो, प्लेइङ सेटमा पर्ने सम्भावना कत्तिको देख्नुहुन्छ?
त्यो मैले भन्न सक्दिन। यो टिम व्यवस्थापक, प्रशिक्षकले निर्णय लिने हो। त्यहाँ गएपछि के कस्तो अवस्था हुन्छ। टिमको अवस्था के हुन्छ? त्यसमा पनि निर्भर हुन्छ। आशा गर्छु, त्यहाँ गएपछि मौका पनि आउँछु र राम्रो पनि हुन्छ।
क्यानाडाको लिगमा छनौट हुँदा सोमपालको करिअरमा चाँही कस्तो फरक पर्छ?
क्रिकेट र प्रदर्शन भने आत्मविश्वास हो। अहिलेसम्म नेपालमा इपीएल, डीपीएल, पीपीएल खेलिरहेका थिए। बाहिर गएर अन्तर्राष्ट्रिय लेभलको लिग खेल्दा आत्मविश्वास अझै बढ्छ। त्यसले प्रदर्शन र प्लेयरलाई परिपक्क बनाउँन अझै सहयोग पुर्याउँनेछ।
ग्लोबल टि–२० लिगको ड्राफ्टमा परे भनेर पहिलोचोटी थाहा पाउँदा कस्तो लाग्यो?
एकवर्षदेखि एजेन्ट र मैले आ–आफ्नो ठाउँबाट काम गरिरहेका थियौं। तर मैले बढी त्यता ध्यान दिनुभन्दा पनि आफ्नो काम गरिरहेको थिए। किनकी टि–२० क्वालिफायरमा बढी फोकस भइरहेको थिए। त्यसैको तयारी र अभ्यास भइरहेको थियो। अचानक अब क्यानाडामा मलाई छनौट गर्यो। त्यसले एकदमै खुशी लाग्यो। यसले मेरो प्रदर्शन हिजो ८० प्रतिशत थियो भने आज सय प्रतिशत हुनेछ।
परिवार साथीभाईबाट कस्तो प्रतिक्रिया पाइरहनु भएको छ?
नेपालबाट अन्तर्राष्ट्रिय लिग खेल्न दोस्रो खेलाडीका रुपमा गइरहेको छु। अवश्य पनि ठूलो कुरो हो। परिवार साथीभाई सबैजना खुशी थिए। बुबालाई आइडिया छैन, कि कति ठूलो लिग खेल्न गइरहेको छ। बुबालाई लाग्छ कि आइपीएल सबैभन्दा ठूलो लिग हो। आशा गर्छु, पछि भविष्यमा आइपीएल पनि खेल्यौं र बुबालाई पनि खुशी लागोस्।
तपाई राष्ट्रिय टोलीमा सबैभन्दा फिट खेलाडी पनि। खेलाडीको उपलब्धिमा फिटनेशको कति महत्वपूर्णहुन्छ?
मलाई के लाग्छ भने रिजल्ट आफ्नो हातमा हुँदैन्। प्रदर्शन पनि आफ्नो हातमा छैन् तर हजुरको हातमा जे छ त्यसमा फोकस गर्नुपर्यो। पाँच वर्षदेखि नेपाली टिमबाट खेलिरहेको छु। पहिलो दुईवर्ष त मलाई थाहा पनि छैन्, एउटा खेलाडीका रुपमा कसरी आफूलाई अघि बढाउने हो। पहिलो दुईवर्ष म उत्तिकै खेलिरहे। त्यसपछि नयाँ प्रशिक्षक, ट्रेनरहरु आउनुभयो। उहाँहरुले पेश बलरको ट्रेनिङ एक्ट्रा, फ्रुटहरु देखि लिएर आराम गर्ने समय, के के खानुपर्छ के के खानुपर्दैन् भनेर सिकाउँनु भयो। यो चाहीँ हरेक दिन र हरेक समय सिक्दै जाने हो। अहिलेसम्म पुबुदु, सिनियर खेलाडीसँग सिकेको थियो। अब भने उच्च लेभलमा क्रिकेट खेलाडीहरु कसरी प्रदर्शन गर्छन्। शारिरिक रुपमा आफूलाई कसरी तन्दुरुस्त राख्छन् भन्ने कुरा क्यानडा गएपछि अझै सिक्नेछु।

प्रतिक्रिया