कारोबार


कहिले फर्किएला बुटवल मण्डपमा मेला? यस्तो बन्दैछ स्थायी प्रदर्शनी केन्द्र

कहिले फर्किएला बुटवल मण्डपमा मेला? यस्तो बन्दैछ स्थायी प्रदर्शनी केन्द्र

सुदीप भण्डारी
पुस १३, २०७८ मंगलबार १५:१५, काठमाडौँ

पुस महिनामा बुटवल मेला महोत्सवले तात्ने गर्दछ। पहिलो पटक २०४१ सालमा बुटवलमा औद्योगिक व्यापार मेला भएको थियो। २०५३ सालबाट प्रत्येक वर्ष जसो मेला, महोत्सव र प्रदर्शनी निरन्तर लाग्दै आएको छ। एक दशकभन्दा बढी समयदेखि रामनगरस्थित बुटवल मण्डपमा व्यवसायिक संस्थाहरुले मेला आयोजना गर्दै आएका थिए।

बुटवल मण्डपमा स्थायी प्रदर्शनी स्थल बनिरहेकाले २०७६ सालमा बुटवल उद्योग वाणिज्य संघले देवीनगर मैदानमा मेलाको आयोजना गरेको थियो। कोराना महामारीका कारण गत वर्ष २०७७ मा बुटवलमा मेला महोत्सव भएन। यो वर्ष देवीनगर मैदानमा नै मेला सञ्चालन भएको छ।

उद्योग व्यापार संघको आयोजनामा पुस ८ गतेदेखि सुरु भएको मेला २३ गतेसम्म चल्ने छ। यहाँका व्यवसायिक संस्थाहरु बुटवल मण्डपमा बन्न लागेको आधुनिक प्रदर्शनी केन्द्रमा औद्योगिक प्रदर्शनी तथा व्यापार मेला आयोजना गर्ने प्रतिक्षामा छन्।

बुटवल उद्योग वाणिज्य संघ, रुपन्देही उद्योग संघ, रुपन्देही व्यापार संघले बुटवलमा प्रत्येक वर्ष आलोपालो गरेर मेला आयोजना गर्दै आएका छन्। यो वर्ष भने उद्योग व्यापार संघ रुपन्देहीले मेलाको आयोजना गरेको छ। मेला सञ्चालन गर्न अस्थायी संरचना निर्माण लाखौं रुपैयाँ खर्च लाग्ने गरेको भन्दै बुटवलमा  विगतदेखि नै स्थायी प्रदर्शनी केन्द्रको माग हुँदै आएको थियो। 

बुटवल उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष खेमबहादुर हमालले २ वर्ष अघिको देवीनगर मैदानमा मेला सञ्चालनको लागि अस्थायी संरचना बनाउँदा ९० लाख जति लागेको बताए। त्यसअघि बुटवल मण्डपमा मेलाका लागि अस्थायी संरचना निर्माणको लागि पनि ५० लाखको हाराहारीमा खर्च हुने गरको उनको भनाइ छ। 

‘नयाँ ठाउँमा खाडल पुरेर जमिन सम्याउन, कम्पाउन्ड नभएकाले घेराबन्दी गर्न अलि बढी खर्च लागेको थियो। बुटवल मण्डपमै अस्थायी संरचना बनाउँदा पनि ५० लाखको हाराहारीमा खर्च हुन्थ्यो’ हमालले भने, ‘त्यसैले हामीले नै स्थायी प्रदर्शनी केन्द्रको माग गरेका थियौं।’

अस्थायी संरचना हुँदा मौसमले समेत मेला तथा प्रदर्शनीलाई दुःख दिने गरेको छ। हावाहुरी र पानी पर्दा मेलाको कारोबारमा त कमी आउनुका साथै स्टलहरुमा पनि क्षति पुग्ने गरेको हमालले बताए। 

‘अघिल्लो पटक हामीले मेला आयोजना गर्दा एक दिन त मौसमका कारण मेला नै स्थगित गर्नुपरेको छ। हावाहुरी र पानीले स्टलहरु भत्काएको थियो’ उनले भने, ‘पानीले भिजेर कतिपय स्टलका सामान नै नोक्सान हुन्थ्यो।’ 

अस्थायी संरचना बनाउँदा टाँगिएका तारका कारण विद्युत सर्ट भएर दुर्घटना निम्तने हो कि भन्ने डर पनि उत्तिकै भएको हमालले बताए।

निर्माणाधीन स्थायी संरचना तयार भएमा यी समस्याबाट मुक्त भइन्छ कि भन्ने आशा बुटवलका व्यवसायीक संस्थाहरुमा छ। रुपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेलले अर्को वर्ष आफ्नो संस्थाले प्रदर्शनी आयोजना गर्ने बेलासम्म स्थायी प्रदर्शनी केन्द्र तयार होस् भन्ने चाहेको बताए। 

‘अस्थायी संरचना बनाउँदा खर्च त बढ्छ नै संघका सबै साथीहरुको समय नोक्सान हुने हुन्छ । स्थायी संरचना तयार भयो भने यो समस्या हुँदैन थियो’ उनले भने, ‘अर्को वर्षसम्म बुटवल मण्डपमा निर्माण सम्पन्न भयो भने त्यही प्रदर्शनी आयोजना गर्छौैं नभए देवीनगरकै मैदानमा ठूलो खर्च गर्नुपर्ने हुन्छ।’ 

पौडेलले निर्माणधीन प्रदर्शनी केन्द्रको काम नरोकिकन जति सक्दो छिटो सम्पन्न गर्न आग्रह गरे। उनले छिटो निर्माण सम्पन्न भएमा अनावश्यक खर्च हुनबाट जोगिने उल्लेख गरे। 

‘नेपाल सरकारले त्यतिका लगानी गरेर प्रदर्शनी केन्द्र निर्माण गरेको छ। अब बाहिर अनावश्यक खर्च गर्नु नपरोस् भन्ने हो। छिटो काम सम्पन्न गर्न नेपाल सरकार र स्थानीय तहलाई घच्घच्याउनु पर्नेछ’ पौडेलले भने।

बुटवल मण्डपमा बन्न लागेको आधुनिक प्रदर्शनी केन्द्र नेपालमै ठूलो भएको दाबी गरिएको छ। प्रदर्शनी केन्द्रको लामो समय योजना प्रमुख रहेका शिखर लामा तामाङले ८ सय वटा स्टल राख्न मिल्ने गरि स्थायी प्रदर्शनी केन्द्र निर्माण हुँदै गरेको बताए।

‘प्रदर्शनी केन्द्र भित्र मुभेवल पार्टेसन छ। एक अर्कामा आवाज नजाने गरी तीन वटा हलमा अलग अलग कार्यक्रम गर्न पनि मिल्छ’ उनले भने ‘मुभेवल पार्टेसन खोल्यौँ भने एउटै हलको काम गर्छ।’

शिखर लामा तामाङको सरुवा भइसकेपछि भर्खरै मात्र धर्मेन्द्र पन्थी प्रदर्शनी केन्द्रको आयोजना प्रमुख भएर आएका छन्। उनले आफूले आयोजना बारे बुझ्न बाँकी रहेको र छिटो भन्दा छिटो काम सम्पन्न गर्न पहल गर्ने बताए। 

‘तोकिएको समय भन्दा केही ढिला त भएको छ। अब सकभर छिटो काम सम्पन्न गर्न प्रयास गर्छौं’ पन्थीले भने।  

प्रदर्शनी केन्द्रमा ठूला प्रदर्शनी मेलाका साथै वस्तुगत रुपमा ससाना मेला र प्रदर्शनी पनि आयोजना गर्न सकिने छ। बुटवलमा कोभिड अगाडिसम्म पुसमा हुने ठूला मेलाबाहेक क्यान इन्फोटेक, जुत्ता, मोबाइल जस्ता वस्तुगत प्रदर्शनी, दसैँ बजार लगायतका कार्यक्रम हुँदै आएका थिए। यी कार्यक्रम गर्न स्थायी प्रदर्शनी केन्द्र उपयुक्त स्थान हुने छ। 

प्रदर्शनी केन्द्रको लागत एक अर्ब तीन करोड रहेको छ। प्रदर्शनी केन्द्रका पूर्वआयोजना प्रमुख शिखर लामा तामाङले कोभिडका कारण निर्माणको काममा केही प्रभावित भएको भन्दै अर्को वर्षसम्म तयार हुने बताए। 

‘यही आर्थिक वर्षमा त निर्माण नसकिएला अर्को आर्थिक वर्षभित्र सकिने सम्भावना छ।’ 

लामाका भनाई अनुसार अर्को वर्ष पुस महिनामा स्थायी प्रदर्शनी केन्द्रमै मेला महोत्सव हुने सम्भावना कम छ। तर काम सरासर अघि बढेमा २ वर्षपछि बुटवल मण्डपकै आधुनिक प्रदर्शनी केन्द्रमा व्यवसायिक संस्थाले प्रदर्शनी, मेला, महोत्सव आयोजना गर्न पाउने छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .