ad ad

कारोबार


आन्तरिकलाई चित्त बुझेन राजस्व अनुसन्धानले बुझाएको मुद्दा, नक्कली स्टिकर प्रयाेग गर्ने २ उद्योग निलम्बनमा

आन्तरिकलाई चित्त बुझेन राजस्व अनुसन्धानले बुझाएको मुद्दा, नक्कली स्टिकर प्रयाेग गर्ने २ उद्योग निलम्बनमा

दीपक भट्ट
मंसिर १५, २०७८ बुधबार ११:१६, काठमाडौँ

नक्कली अन्तःशुल्क स्टिकर प्रयोग गरी राजस्व चुहावट गर्ने दुई उद्योगलाई नियमनकारी दुई सरकारी निकायले दुईथरि कारबाही गरेका छन्। 

राजस्व संकलन र नियमन गर्ने दुई सरकारी कार्यालयबाट एक–अर्काको काममा चित्त नबुझेपछि राजस्व छल्ने कम्पनीविरुद्ध फरक–फरक कारबाही भएको हो। 

क्रिस्टल बोटलर्स प्रालि र माउन्ट एभरेस्ट डिस्टिलरी प्रालिविरुद्ध अनुसन्धानलगायतका प्रक्रिया सकिएपछि राजस्व अनुसन्धान विभागले जम्मा ५ करोड रुपैयाँको बिगोदाबीसहित राजस्व चुहावटको मुद्दा दायर गरेको छ। यता आन्तरिक राजस्व विभागले चाहिँ उनीहरुको लाइसेन्स नै निलम्बन गरेको छ। 

कात्तिक ३० गते राजस्व अनुसन्धान विभागले नक्कली अन्तःशुल्क स्टिकर प्रयोग गरेका दुई कम्पनीविरुद्ध बुटवल उच्च अदालतमा मुद्दा दायर गरेको थियो।

भारतबाट नक्कली अन्तःशुल्क स्टिकर ल्याएर प्रयोग गर्ने यी दुई उद्योगविरुद्ध राजस्व अनुसन्धान विभागले ५ करोड ५६ लाख रुपैयाँ बिगो मागदाबी गरेको छ। 

क्रिष्टलले रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा उद्योग राखी मदिरा उत्पादन तथा बिक्री व्यवसाय सञ्चालन गर्दै आएको थियो। यसका सञ्चालक फुलसिंह क्षेत्री हुन्। विभागले मुख्य अभियुक्तका रुपमा क्रिष्टलका क्षेत्रीलाई नै लिएको छ। 

यस्तै, माउन्ट एभरेष्ट डिष्टिलरीका सञ्चालक मृगेन्द्र गोविन्द श्रेष्ठ र रुपन्देही सिद्धार्थनगर नगरपालिका मोहम्मद सहिद अन्सारीलाई मुख्य अभियुक्त बनाइएको छ। कुल १२ जनाविरुद्ध विभागले उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा मुद्दा दायर गरेको हो। 

राजस्व अनुसन्धानसँगै आन्तरिक राजस्वले पनि दुई उद्योगलाई कारबाही गरेको छ। उसले दुवै कम्पनीको लाइसेन्स नै निलम्बन गरिदिएको छ। आन्तरिक राजस्व विभागका महानिर्देशक शोभाकान्त पौडेलका अनुसार यही मंसिर १० गते उक्त निर्णय गरेको जानकारी दिँदै दुवै उद्योगलाई निलम्बन गरिएको बताए। 

उनले नेपालखबरसँग भने, ‘नक्कली अन्तःशुल्क स्टिकर प्रयोग गरेको आधारमा नै क्रिष्टल बोटलर्स प्रालि र माउन्ट एभरेष्ट डिष्टिलरी प्रालि निलम्बनमा परेको हो।’

दुई उद्योगले नक्कली अन्तःशुल्क स्टिकर प्रयोग गरी राजस्व छली गरेको विषयमा दुवै विभागले अनुगमन गरिरहेका थिए। सुरुमा यो प्रकरणमा राजस्व अनुसन्धान विभागले अनुसन्धान थालेको थियो। तर राजस्व अनुसन्धानको अनुगमन र अध्ययन अनुसन्धानका कार्यमा आन्तरिक राजस्व विभागले असन्तुष्टि पोखिरहेको थियो। 

सोही कारण आन्तरिक राजस्व विभागले आफैँ पनि अध्ययन गरिरहेको थियो। राजस्व अनुसन्धानले मुद्दा बुझाएलगत्तै आन्तरिकले कम्पनीको लाइसेन्स नै निलम्बन गरिदिएको हो। 

के थियो नक्कली अन्तःशुल्क स्टिकर प्रकरण?
राजस्व अनुसन्धान विभागअन्तर्गतको राजस्व अनुसन्धान कार्यालय बुटवलले गत भदौ ५ मा सशस्त्र प्रहरीको सहयोगमा भैरहवाको डण्डा क्षेत्रबाट २ करोड ३५ लाख ६३ हजार रुपैयाँ मूल्यबराबरको नक्कली स्टिकर समातेको थियो।  

८० रोलका ती अन्तःशुल्क नक्कली स्टिकर भारतबाट ल्याएर भैरहवाको दरखसको एउटा घरमा लुकाएर राखेको पाइएको थियो। त्यसमा संलग्न सहिद अन्सारी र अमानत अलीलाई प्रहरीले पक्राउ गरेको थियो। 

भैरहवाको क्रिस्टल डिस्टिलरीले ती स्टिकर ल्याएको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको थियो। त्यसमा एभरेष्ट डिस्टिलरी समेत जोडिएको खुल्यो। तर आन्तरिक राजस्वले राजस्व अनुसन्धानको अनुसन्धानमा चित्त बुझाएको थिएन।  

राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुखको समेत सरुवा गरेर अर्थात् प्रमुख अनुसन्धान अधिकृतलाई हटाएर मुद्दा कमजोर बनाउने प्रयास भएको थियो। सोही क्रममा बुटवलका प्रमुख राजन बिसीको सरुवा गरिएको थियो।

यो प्रकरण सुरु हँदा आन्तरिक राजस्व विभागमा शोभाकान्त पौडल भर्खरै आएका थिए। उनले नक्कली अन्तःशुल्क प्रयोग गर्ने मुख्य र ठूला डिस्टिलरीहरुको अनुसन्धान गर्नुपर्ने माग गर्दै आएका थिए। 

उनको तर्क यी दुई स्थानीय डिस्टिलरी मात्रै नभई ठूला उद्योग पनि रहेको हुनसक्ने भएकाले अनुसन्धान त्यसरी नै गर्नुपर्छ भन्नेमा थियो। 

अहिले राजस्व अनुसन्धान विभागका मुद्दामा आन्तरिक राजस्वले चित्त नबुझाएर लाइसेन्स नै निलम्बन गरेको हो।  

याे पनि- नक्कली अन्तःशुल्क स्टिकर प्रकरणमा दुई शक्तिशाली विभागका महानिर्देशकबीच टसल

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .