कारोबार


भरतपुर महानगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु

भरतपुर महानगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु

नेपालखबर
असार ६, २०७६ शुक्रबार ६:४०,

 भरतपुर महानगरपालिकाले शुक्रबारदेखि प्रधानमन्त्री रोजगार कार्यक्रम शुरू गरेको छ। वडा नम्बर २२ बाट शुरु गरिएको रोजगार कार्यक्रमको महानगरपालिका प्रमुख रेनु दाहालले उद्घाटन गरेकी हुन्।

सो अवसरमा प्रमुख दाहालले रोजगार आम नागरिकको संवैधानिक अधिकार भएको बताउँदै नागरिकको अधिकार र आवश्यकता पूरा गर्न महानगर प्रतिबद्ध रहेको बताइन्। उनले पूर्वाधार विकास, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र सुशासनलाई रोजगारीसँग जोडेर समृद्धिको यात्रालाई अगाडि बढाउन महानगरपालिका योजनाबद्ध ढंगले अगाडि बढेको बताइन्।

महानगरपालिकाले सबै वडाहरुमा यो कार्यक्रम शुरु गर्दैछ। पहिलो चरणमा ३८४ जनाले रोजगार पाउने दाहालले जानकारी दिइन्। रोजगारीका लागि महानगरमा चार हजारको निवेदन परेको छ। यसअन्तर्गत वडा नम्बर २२ मा १६ जनाले पारिश्रमिकमा आधारित रहेर २० दिन दैनिक रु ८०० का दरले पारिश्रमिक पाउने गरी वडामा विकास निर्माणमा काम गर्नेछन्।

सो अवसरमा महानगरपालिका उपप्रमुख पार्वती शाह ठकुरीले राष्ट्रले लिएको रोजगार कार्यक्रमलाई सार्थक बनाउने दायित्व स्थानीय तहलाई आएको बताउँदै यसबाट लाभान्वित हुन सबैलाई आग्रह गरिन्।

सो अवसरमा महानगरपालिकाका सामाजिक महाशाखा प्रमुख प्रद्युम्न उपाध्याय, रोजगार अधिकृत विनोद खराल, वडा नम्बर २२ का वडाध्यक्ष विष्णुराज महतो, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) युवा नेता रामहरि सेढाइँ, नेपाली कांग्रेसका नेता कुमारप्रसाद थपलियालगायतले बोलेका थिए।

यस्तै आजै वडा नम्बर २१ मा पनि २२ जनालाई रोजगार दिलाइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad