कारोबार


माथिल्लो त्रिशूली १ को सम्झौता आज, अहिलेसम्मकै ठूलो वैदेशिक लगानी

माथिल्लो त्रिशूली १ को सम्झौता आज, अहिलेसम्मकै ठूलो वैदेशिक लगानी

नेपालखबर
कात्तिक १५, २०७६ शुक्रबार २:२८,

जलप्रवाहमा आधारित २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजना निर्माणका लागि आज (शुक्रबार) नौ अन्तर्राष्ट्रिय ऋणदातासँग सम्झौता हुँदै छ।

आयोजना प्रवर्द्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितिमा ती अन्तर्राष्ट्रिय ऋणदाताहरूसँग उक्त सम्झौता गर्न लागेको हो।

कम्पनीका अनुसार जलविद्युत् आयोजनामा हालसम्मकै सबैभन्दा ठूलो प्रत्यक्ष वैदेशिक लगानी ल्याउने गरी माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजना निर्माणका लागि ऋण लगानीकर्ताको टुंगो लागेको हो।

प्रवर्द्धक कम्पनीका महाप्रबन्धक गिरिराज अधिकारीका अनुसार निर्माण अवधिसम्मको ब्याजसमेत गरी कुल ६४ करोड ७३ लाख अमेरिकी डलर लागत अनुमान गरिएको सो आयोजना निर्माणमा विदेशी लगानीकर्ताको ४५ करोड ३२ लाख अमेरिकी डलर ऋणका रूपमा भित्रिन लागेको हो।३० प्रतिशत स्वपुँजी कम्पनीले लगानी गर्नेछ।

सम्झौतालगत्तै लगानी स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा आवेदन दिने उनको भनाइ छ।

रसुवाको सदरमुकाम धुन्चे र मैलुङको बीचमा पर्ने हाकुमा आयोजना निर्माण हुन लागेको हो। आयोजना स्थलमा अहिले पहुँच मार्ग र साइट अफिस बनाउने काम भइरहेको छ।

वार्षिक १ हजार ५०१ मेगावाट आवर विद्युत् उत्पादन लक्ष्य राखिएको सो आयोजनामा ७२ मेगावाट क्षमताका तीनवटा युनिट रहनेछन्।

साढे ६ मिटर ब्यासको ९ हजार ७१६ मिटरको हेडरेस सुरुङ बन्नेछ। टेलरेस सुरुङ भने २३८ मिटरको हुनेछ। आयोजनाबाट उत्पादित विद्युत् २२० केभी प्रसारण लाइनमार्फत १० किलोमिटर टाढा रहेको त्रिशूली थ्री बी हब सबस्टेसनमा जोडिनेछ। 

निर्माण अवधि ५ वर्ष रहेको उक्त आयाेजनाबाट कुनै ठूलो अवरोध सिर्जना नभए आगामी २०८१ सालबाटै विद्युत् उत्पादन सुरु हुने प्रवर्द्धक कम्पनीले जनाएकाे छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad