कारोबार


वैदेशिक रोजगारी रोक्न गाउँमै गलैँचा बुनाइ

वैदेशिक रोजगारी रोक्न गाउँमै गलैँचा बुनाइ

देवराज सुवेदी
कात्तिक १३, २०७६ बुधबार ९:१०,

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ घुम्थाङस्थित थगाम टोलकी ३९ वर्षीया माइली तामाङको फुर्सदिलो दैनिकी अचेल गलैँचा बुनेर बित्ने गरेको छ।

घरको काम र खेतीपातीबाट बचेको समय उहाँले गलैँचाको तानलाई दिने गरेकी छन्। शारीरिक रुपमा पनि धेरै भार नपर्ने हुँदा उनले यो पेशालाई व्यावसायिक बनाएकी हुन्। घरमै बसेर अरु काम भ्याएर पनि सजिलैसँग गलैँचा बुन्न सकिने भएकाले यो पेशाप्रति रुचि बढेको उनी बताउँछिन। ‘पढाइ गर्न सकिएन, अरु सीप पनि नजानेकाले अहिले यसैमा सन्तुष्ट छु’, उनले भनिन्,। ‘यो काम बुढ्यौली उमेरसम्म गर्न सकिन्छ, मर्ने बेलासम्म पनि कमाउन सक्छु जस्तो लागेर यो काम रोजेँ।’

एउटा गलैँचा बुन्न १५ दिनजति समय लागने माइली बताउँछिन्। ‘यो सीप सिकेर घरबार धानेकी छु’, उनी भन्छिन्, ‘सामान्य गलैँचा बेचेर पनि मासिक रु ४० हजारसम्म आम्दानी हुन्छ।’ वर्ष दिनदेखि शुरु गरेको गलैँचा बुन्ने कामबाट सहजै घर खर्च धान्ने आम्दानी हुने भएपछि उनी थप हौसिएकी छन्।

‘अरू सीप केही जानिँदैन्, यसैले आत्मनिर्भर बनाएको छ’, उनले भनिन्। माइली तामाङ गलैँचा बुनेर महिनामा १७ हजार कमाइ हुने सुनाउँछिन्। ‘घरको सबै काम भ्याएर यो काम गर्न सकिन्छ’ उनले भनिन्। व्यावसायिक कृषि खेतीमा उत्तिकै सक्रिय माइलीले अरूभन्दा गलैँचा बुन्दा आफ्नो सीप बढेको अनुभव गरेकी छिन्।

 २८ वर्षीया निशा तामाङको पनि दैनिकी गलैँचाकै कारण फेरिएको छ। गएको जेठबाट तानमा बस्न शुरु गर्नुभएको निशाले गलैँचा बुनेर कमाइ बलियो बनाउन सक्ने भइसकेकि छन्। ‘पहिला समय त्यतिकै खेर जान्थ्यो, अहिले यसैले आत्मनिर्भर बनाएको छ’, उनले भनिन्, ‘एउटा गलैँचा तयार गर्न बढीमा महीना दिन लगाउँछु।’

उनले तयार गरेको गलैँचा गाउँमै आएर व्यवसायीले खरीद गर्ने गरेका छन्। त्यसैले पनि काम गरेर बिक्री नहोला भन्ने चिन्ता उनमा छैन। माइली र निशा मात्रै होइन शैक्षिक र आर्थिकरुपले पछि परेको तामाङ जातिको थगाम टोलमा ३० भन्दा बढी महिलाले गलैँचा बुन्ने काम गरेर घरबार धान्दै आएका छन्।

घरेलु काम र खेतीपातीबाट बचेको समय गलैँचा बुनेबापतको पारिश्रमिकले यहाँका महिला आत्मनिर्भर बनेका छन्। उनीहरुले यो पेशालाई व्यावसायिक बनाउन समूहमार्फत काम गर्छन्। संस्थागत रुपमै एकताबद्ध भएर काम गर्दा सहज हुने भएकाले उनीहरु सङ्गठित बनेका हुन्।

गलैँचा बुन्ने जनजाति महिलाले प्रगतिशील महिला उद्यमी समूह गठन गरेका छन्। ‘यही संस्थामार्फत गाउँका महिलालाई सीप प्रदान गर्ने गरेका छौँ’, समूहका कोषाध्यक्ष विष्णुमाया तामाङ बताउउँछिन, ‘गलैँचा बुन्न रुचि हुनेलाई पहिले तालीम दिलाउँछौँ।’ उनले गाउँका महिला गलैँचाबाट सोचेजस्तो आम्दानी हुने थाहा पाएपछि यसतर्फ आकर्षित भएको बताउँछिन्।
उनीहरुमा यो सीप र जाँगर भने भूकम्पपछिको जीविकोपार्जनको लागि स्थानीय निकायबाट रु एक लाख ६० हजार र सामाजिक संस्था टुकी संघ सुनकोशीले रु ५० हजार रकम उपलब्ध गराएपछि शुरु भएको हो। सो रकमबाट गाउँमा गलैँचा उद्यम शुरु गर्नको लागि तालीम र आवश्यक अन्य कच्चा सामग्री खरीद गरिएको प्रगतिशील महिला उद्यमी समूहले जनाएको छ।

गलैँचा बुन्नुको सीपप्रतिको आकर्षणले गर्दा यो टोलको झण्डै घरै पिच्छेका महिला उद्यमी बनेका छन्। गलैँचा बुन्न जानेकाले घरेलु र खेतीपातीको कामबाट बचेको समयलाई सदुपयोग गर्ने गरेको विष्णुमाया बताउँछिन्। गफगाफमा बित्ने समयलाई गलैँचा बुन्नमा लगाएपछि आपसमा सद्भाव बढ्दै गइरहेको उनको अनुभव छ।

गलैँचा बुन्ने पेशा अरुभन्दा दीर्घकालीन र क्षमता बढाउने देखेकाले जनजाति महिलामा आकर्षण बढेको हो। शारीरिक कष्ट कम हुने हुँदा बुढ्यौलीले छुने बेलासम्म पनि काम गर्न सकिने हुँदा यो पेशामा लागेको उद्यमीको भनाइ छ। गलैँचा बुन्ने उद्यमी बढेपछि यहाँका महिलाले आफैँ कारखाना खोल्ने उद्देश्य राखेका छन्।

घुम्थाङभरका महिलालाई सक्षम बनाउनको लागि गलैँचा बुन्ने सीपमूलक अभियान अगाडि बढाइएको वडाध्यक्ष मीनबहादुर श्रेष्ठ बताउँछन्।

‘जिल्लाबाट वैदेशिक रोजगारीमा गएका महिला जोखिममा पर्ने क्रम बढेपछि यो गाउँमै रोजगार दिलाउन यो कार्यक्रम शुरु गरिएको हो’, उनी भन्छन्, ‘आर्थिक अवस्था कमजोर भएका परिवारका सदस्य बुझ्दै नबुझी विदेश जाँदा समस्या भोग्नु परेकाले अध्ययन नभएका महिलाले पनि गाउँमै बसेर कमाउन सक्छन् भनेर देखाउन पनि यता आकर्षित गरेका हौँ।’

गलैँचा तयार भइसकेपछि गाउँकै व्यवसायीले बिक्रीका लागि लैजाने गरेको वडाध्यक्ष श्रेष्ठको कथन छ। एउटा सामान्य गलैँचा ३० देखि ४० हजारमा रुपैयाँमा बिक्री हुने गरेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad