ad ad

कारोबार


विश्व खाद्य दिवस : भकारीबाट बोरा र डालीमा सीमित हुन थाल्यो अन्न

विश्व खाद्य दिवस : भकारीबाट बोरा र डालीमा सीमित हुन थाल्यो अन्न

ध्रुबसागर शर्मा
असोज ३०, २०७८ शनिबार १९:५२, काठमाडौँ

आज अक्टोवर १६ अर्थात् ४१ औँ विश्व खाद्य दिवस। ‘स्वस्थ भविष्यका लागि सुरक्षित खाना’ भन्ने नारासाथ आज विश्वभर यो दिवस मनाइयो। सन् १९४५ अक्टोबर १६ मा स्थापना भएको संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको आह्वानमा सन् १९८१ अक्टोबर १६ तारिखदेखि यो दिवस मनाउन थालिएको हो।

नेपालमा पनि कृषिको उब्जनी बढाएर खाद्य सुरक्षाको संरक्षणमा जोड दिँदै कार्यक्रम गर्ने गरिन्छ। 

नेपालमा विश्व खाद्य दिवस मनाउन थालेको ४० वर्ष वितेपनि खाद्यान्नको अवस्था भने ओरालो झर्दै गइरहेको छ। दुई दशक अघिसम्म म्याग्दीका ग्रामीण क्षेत्रका प्रत्येक घरमा अन्नले (धान,कोदो) भरिएका भकारी, टिन र थुन्सेभरि चामल, घरको वार्दलीमा मकैको बुर्चो, आगनमा थाँक्रो देखिन्थ्यो। तर अहिले गाउँघरमा भकारीमा अन्न होइन, बोरा र डालीमा सीमित हुन थालेको छ।

समय फेरिएको छ। युवा पलायन र कृषिप्रतिको वितृष्णाका कारण अहिले गाउँघरका खेतवारी बाँझै छन्। कोभिड १९ को महामारी शुरु भएपछि दुई वर्षयता गाउँमा फर्कनेहरुको सङ्ख्या बढेसँगै धान फल्ने खेत र कोदो झुल्ने बारीमा केही तरकारी,फलफूल र पशुपालन गरिए पनि खाद्यान्न उत्पादनतर्फ कसैको चासो नरहेको स्थानीयहरुले बताएका छन्।

अहिले शहरमा मात्रै होइन ग्रामीण क्षेत्रका घरहरुमा समेत अन्न भण्डारण गर्ने भकारी देख्नै मुस्किल हुने गरेको बेनी नगरपालिका २ का ८५ वर्षिय वेदप्रसाद उपाध्यायले बताए। 

‘बजारबाट ल्याएको चामलको बोरा र तेलको पोकाबाट विहान बेलुकीको भान्छा उम्किन्छ’, उपाध्यायले भने, ‘हाम्रो पालामा भकारीबाट धान झिकेर,ढिकीमा कुट्दै एक वर्षसम्म पुग्ने चामल हुन्थ्यो, अहिले खेती गर्नै छोडे, कहाँबाट हुनु भकारीमा धान।’

नेपालमा अहिले पनि अधिकांश घरधुरीहरु कृषिकर्मसँगै माटो खनीखोस्रिएर आफ्ना जिवीका चलाँउदछन्। अझै पनि ६० प्रतिशत भन्दा बढी जनसंख्या कृषि कार्यमा प्रत्यक्ष र परोक्ष संलग्न छन्। तर, खाद्यान्न उत्पादन भने घट्दै गएको कृषि तथा सहकारी मन्त्रालयको तथ्याङ्कले जनाउँछ।

विश्व खाद्यान्न तथा कृषि संगठनका अनुसार जलवायु परिवर्तनले निम्त्याएको ठूलो चुनौती खाद्यान्न सङ्कट नै हो। स्थानीय विशेषता रहेका अन्नवाली विस्तारै उत्पादन हुन छाड्नु, अत्यधिक विषादीको प्रयोगले उत्पादनशिल विशेषतायुक्त माटोको क्षमतामा ह्रास आउनु र विस्तारै रैथाने बिउविजन लोप हुँदै जानु अहिलेको खाद्यान्न व्यवस्थापनको चुनौति हो।

संसारका न्यूनतम् आर्थिक अवस्था भएका विपन्न वगमा कृषक, माछा मार्ने मान्छे र घरपालुवा जनावर पाल्नेहरु छन् जसलाई बढ्दो पृथ्वीको तापक्रम, प्रकृति अनि मौसम सम्बन्धि बारम्बार हुने प्रकोपले धेरै दुःख दिने गर्दछ। अर्कोतर्फ पृथ्वीको जनसङ्ख्या पनि दिनप्रतिदिन बढ्दो क्रममा छ। बढ्दो जनसङ्ख्याको यो अनुपातलाई खाद्यान्न पर्याप्ततातर्फ लैजान कृषिका पारम्परिक विधिहरुलाई पनि जलवायु परिवर्तन अनुकूल बनाउँदै अझ उत्पादनमुखी र व्यावसायीकरण गर्न जरुरी देखिएको बताइएको छ।

सन् १९६० को दशकमा नेपाल चामलको निर्यात गर्ने देशहरुमा पर्दथ्यो। विस्तारै नेपालमा कृषिकार्यमा ह्रास हुँदै गयो र आज नेपालले चामल लगायत धेरै कृषिजन्य उत्पादनहरु आयात गर्नुपर्ने अवस्थामा आइपुगेको अन्तराष्ट्रिय कृषि वैज्ञानिक टीकाबहादुर कार्कीले बताए।

नेपालीहरु वैदेशीक रोजगारप्रति आकर्षित हुन थालेपछि हाम्रा हलो र जुवामा खिया लाग्न थालेका छन् भने गोठ सुनसान भएको छ। भकारीवाट झिकेर खाइने धान चामलको साटो बोरामा पसलबाट अन्न आउन थालेको छ तर हाम्रो उब्जनशील खेत र बारी बाँझै छन्। ती खेतबारीको उचित प्रयोग गर्नसक्ने प्रविधी, पूँजी र सीप भएमा नेपालीहरु विदेशिन नपर्ने उनको भनाइ छ।

विद्यालयको पाठ्यक्रममा पूर्वव्यावसायिक शिक्षाका रुपमा कृषि कार्य र औजारबारेमा शिक्षा दिने विषय हटाइएकोले विद्यार्थीहरुलाई कृषिकार्य प्रति उत्सुकता जगाउन र ज्ञान बढाउन नसकिएको सेवानिवृत्त शिक्षक धनबहादुर घिमिरेले बताए।

कृषि क्षेत्रमा देखिएको बिचौलिया प्रवृत्तिको अन्त्य, कृषक र उपभोक्तबीचको पारदर्शी सम्बन्ध, भूमीको न्यायपूर्ण वितरण, सिँचाइको सुविधा र समयानुकुल हुने गरी बजार व्यवस्थापन नभएसम्म खाद्यान्न उत्पादनमा नेपाल आत्मनिर्भर हुन नसक्ने सम्वन्धित क्षेत्रका विज्ञहरुको भनाइरहेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .