आवेदन दिएको दुई वर्षपछि उद्योग विभागले सूर्य नेपाललाई होटल दर्ताको अनुमति दिएको छ।
लगानीको मोडालिटी नमिलेको भन्दै विभागले कम्पनीलाई झण्डै दुई वर्ष अल्झाएको थियो।
सूर्य नेपालले बूढानीलकण्ठमा पाँचतारे होटल निर्माण गर्ने योजना बनाएको छ। सोही योजनाअनुसार दर्ताको लागि उद्योग विभागमा आवेदन दिएको थियो।
कम्पनीले नाफाको रकमबाट होटल खोल्ने लगानीको मोडालिटी विभागमा पेस गरेको थियो। तर नाफा हुने ‘ग्यारेन्टी’ नहुने भन्दै विभागले यसअघि दर्ता गर्न मानेको थिएन।
तर अहिले भने त्यही लगानी मोडालिटीमा होटल दर्ता गर्न विभागले अनुमति दिएको छ। यसअनुसार सूर्य नेपालको होटल दर्ता भएको छ।
कम्पनीले अबको नाफा वितरण नगर्ने प्रतिबद्धता जनाएपछि उद्योग दर्ता गराइएको विभागको भनाइ छ।
सूर्य नेपालले सुरुमा आवेदन गर्दा सूर्य नेपालकै युनिटको रुपमा होटल दर्ता गराउन चाहेको थियो।
विभागले होटल र सूर्य नेपाल अहिले सुर्तीजन्य वस्तु उत्पादन गरिरहेकोले उद्येश्यहरु नमिल्ने भन्दै मानेको थिएन। अहिले भएको दर्ताअनुसार होटलचाहिँ सूर्य नेपाल कम्पनीको युनिटमा नरहने स्रोतले बतायो। अर्थात् होटल छुट्टै रहने भएको छ।
सूर्य नेपालले नेपालमा भएको चुरोट उद्योगबाट भएको नाफा उच्च रहेकोले सोही नाफाबाट होटल दर्ता गर्ने बताएको थियो।
तर आवेदनयता नै उसले ७ अर्ब रुपैयाँ लाभांशबापतको रकम विदेशी लगानीकर्तालाई पठाइसकेको छ।
सूर्य नेपालले होटल सञ्चालनको लागि २०७६ पुसमा आवेदन दिएको थियो।
विदेशी लगानीकर्ताले कम्पनीमा रहेको आफ्नो लाभांशबापत आर्थिक वर्ष २०७५÷०७६ मा ३ अर्ब रुपैयाँ लगेका थिए। त्यस्तै आर्थिक वर्ष २०७६÷०७७ र आर्थिक वर्ष २०७७÷०७८ मा गरेर ४ अर्ब लगेका छन्।
तर विभागले अब विदेशी लगानीकर्ताले आफ्ना नाफा नलाने र नेपाल लगानीकर्ताहरुले पनि नाफा वितरण नगरी होटलमा लगाउने शर्तमा दर्ता प्रक्रिया अघि बढाउन दिएको दाबी गरेको छ।
यसबारे सूर्य नेपालका उपाध्यक्ष रवि केसी भने बोल्न चाहेनन्।
कम्पनीमा सबैभन्दा बढी आईटीसी लिमिटेड इन्डियाको ५९ प्रतिशत, नेपाली लगानीकर्ताको ३९ प्रतिशत र ब्रिटिश अमेरिकन टोबाको इन्भेष्टमेन्टको २ प्रतिशत सेयर लगानी छ।
सूर्य नेपाल सञ्चालक समितिले यसअघि नै कम्पनीको हाल रहेको अधिकृत पुँजी ६ अर्ब ५० करोडबाट बढाएर १८ अर्ब रुपैयाँ पुर्याई होटलमा लगानी गर्ने निर्णय गरिसकेको छ।
सञ्चालक समितिले कम्पनीको अधिकृत सेयर पुँजी ६ करोड ५० लाख कित्तामा प्रतिकित्ता एक सयका दरले वृद्धि गर्ने निर्णय गरेको थियो।
यसअनुसार १८ करोड कित्ता सेयर विभाजन हुनेछ भने अधिकृत पुँजी १८ अर्ब रुपैयाँ पुर्याइनेछ। सेयरधनीको नाफाबाट नै प्रतिकित्ता एक सयका दरले वृद्धि गर्ने उसको योजना छ।
विभागलाई कम्पनीले बुझाएको आवेदनमा भनिएको छ, ‘वृद्धि भएको पुँजीले उपत्यकामा पाँचतारे होटल सञ्चालन गरिनेछ। पाँचतारेको सबै मापदण्ड पूरा हुने गरी होटल सञ्चालन गर्ने सञ्चालक समितिबाट निर्णय भएको छ, होटलमा क्यासिनो समेत रहनेछ।’
कम्पनीका सेयर होल्डरहरुले उल्लिखित अधिकृत सेयर पुँजीवृद्धि कम्पनीको प्रबन्धपत्र तथा विनियमावलीमा प्रतिविम्बित गर्ने गरी प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने निर्णय समेत सञ्चालक समितिले गरिसकेको विभागमा पठाएको विवरणमा बताइएको छ।
Shares
प्रतिक्रिया