ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुन र जापानी राजदूत मासामिची साइगोबीच भेटवार्ता भएको छ।
सिंहदरबरस्थित ऊर्जा मन्त्रालयमा बिहीबार भएको भेटवार्तामा द्विपक्षीय हित र आपसी सहयोगका विषयमा छलफल भएको छ।
भेटमा मन्त्री पुनले गत महिना भएको आफ्नो जापान भ्रमण सफल भएको र उक्त भ्रमणमा भएका सहमतिअनुसार मन्त्रालयले काम गरिरहेको बताए।
उनले जापान नेपालको पुरानो र विश्वासिलो विकास साझेदार मुलुक भएको भन्दै नेपालको विकासमा जापानले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरे।
मन्त्री पुनले राष्ट्रपति विद्यादेवी भण्डारी जापानको उच्चस्तरिय भ्रमण सकेर नेपाल फर्केको भन्दै आगामी दिनमा पनि उच्चस्तरमा द्विपक्षीय भ्रमण जारी रहने विश्वास व्यक्त गरे।
नेकपाका नेता समेत रहेका मन्त्री पुनले आफ्नो जापान भ्रमणका क्रममा नलसिंङ जलविद्युत आयोजना र जापानसँग ऊर्जा समझदारीमा हस्ताक्षर गर्नेमा छलफल भएको भन्दै त्यसको प्रगतिबारे पनि उहाँले राजदूतसँग छलफल गरेका थिए।
त्यसका साथै सिँचाई र कृषिको क्षेत्रमा समेत जापानी सहयोग मिल्ने विश्वास आफूलाई रहेको मन्त्री पुनको भनाइ थियो। भेटमा जापानी राजदूतले कृषि र सिँर्चाईको क्षेत्रमा सहयोग गर्न आफूहरू इच्छुक रहेको धारणा राखे।
उनले नलसिङ जलविद्युत आयोजना अघि बढाउने विषय जापानले पनि प्राथमिकतामा राखेको भन्दै चाँडै सुखद खबर प्राप्त हुने र ऊर्जा क्षेत्रमा सहकार्य गर्नेमा पनि चाँडै प्रगति हासिल हुने जानकारी दिए।
भेटमा जापानी विकास नियोग जाइकाकी नेपाल प्रमुख आशाकुमा युमिकोको समेत उपस्थिति थियो।

प्रतिक्रिया