ad ad

कारोबार


गोर्खा ब्रुअरीमा पेलिँदै खेतान ग्रुप, राजस्व विवाद समेत सिंगापुरबाटै हेरियो

गोर्खा ब्रुअरीमा पेलिँदै खेतान ग्रुप, राजस्व विवाद समेत सिंगापुरबाटै हेरियो

काठमाडाैंकाे हात्तीसारमा रहेकाे गाेर्खा ब्रुअरीकाे कार्यालय र खेतान समूहका प्रेमप्रकाश खेतान।


दीपक भट्ट
असोज ५, २०७८ मंगलबार १९:१, काठमाडौँ

कार्ल्सबर्ग र टुबोर्गजस्ता चर्चित बियर उत्पादन गर्दै आएको गोर्खा ब्रुअरीबाट खेतान समूह पेलिँदै गएको छ। 

ब्रुअरीमा ९० प्रतिशत सेयर स्वामित्व रहेको सिंगापुरे कम्पनी कार्ल्सबर्ग साउथ एसियाले १० प्रतिशत सेयर स्वामित्व रहेको खेतान ग्रुपलाई दबाएको हो। 

१० वर्षअगाडि २०६८ सालमा खेतान समूहले नै कार्ल्सबर्ग साउथ एसियालाई ४ लाख २९ हजार कित्ता सेयर बिक्री गरेको थियो। 

तर कम्पनीलाई अप्ठ्यारो पर्दा साथ समेत नदिएको बताउँदै सिंगापुरे कम्पनीले ब्रुअरीको साधारणसभामा खेतान समूहको प्रतिनिधित्व नै खोसेको छ। 

गत वर्ष अर्थात् २०७७ को भदौदेखि गोर्खा ब्रुअरीको सञ्चालक समितिको बैठक  खेतान समूहको प्रतिनिधिविना बस्दै आएको छ। 

गोर्खा ब्रुअरी भन्नासाथ व्यावसायिक घराना खेतान ग्रुप जोडिने गरेकामा एक वर्षयता चलिरहेको विवादले कार्ल्सबर्ग र टुबोर्ग बियरमा खेतान ग्रुपको गणना नै हुन छोडेको छ। 

आफ्नो सेयरअनुसारको नाफा लिनेबाहेक ब्रुअरीमा खेतान समूहको सक्रिय संलग्नता बन्दप्रायः भएको छ। 

अहिले पनि नेपालको कुल बियर बजारमा कार्ल्सबर्ग र टुबोर्गले आधा हिस्सा ओगटेको मदिरा व्यवसायी बताउँछन्। 

नेपालमा अहिले गोर्खा ब्रुअरीलाई कार्ल्सबर्ग साउथ एसियाले पूरै व्यवस्थापन गरिरहेको छ। 

यही कम्पनीका प्रतिनिधिले नेपालमा ब्रुअरीको व्यवस्थापन हेर्दै आएका छन्। 

कार्ल्सबर्ग साउथ एसियाले १० वर्षदेखि ब्रुअरीको व्यवस्थापन हेरे पनि खेतान समूहलाई साधारणसभामा पेलेको भने एक वर्ष मात्रै भएको छ। 

गत वर्षयता खेतान समूहलाई कार्ल्सबर्ग साउथ एसियाले निर्णायक तहमा बेवास्ता गरिरहेको छ। 

गत वर्ष भदौ २९ गते कम्पनीको सञ्चालक समितिको बैठक बस्यो। सो समितिले खेतान समूहलाई प्रभावशून्य पार्दै उसको प्रतिनिधित्व रहे पनि नरहे पनि समिति बैठक बोलाउन सक्ने र साधारणसभामा खेतान समूहको प्रतिनिधित्व नरहने निर्णय गराउन खोजेको थियो। 

तर खेतान समूहले त्यसमा विरोध जनायो। उसले बोलाइएको साधारणसभा रोक्न प्रेमप्रकाश खेतानमार्फत कम्पनी रजिस्ट्रारको कार्यालयमा उजुरी गर्यो।

त्यसपछि झनै विवाद बढ्यो।  

कम्पनी रजिस्ट्रारको कार्यालयले खेतान समूह र कार्ल्सबर्ग साउथ एसियाको सेयर खरिदबिक्री सम्झौता हेरेर खेतान समूहको पक्षमा निर्णय गर्यो। त्यसपछि  साधारणसभा नै रोकियो। 

तर कार्ल्सबर्ग साउथ एसिया भने यत्तिकैमा रोकिएन। कम्पनी अहिले प्रेम प्रकाश खेतान र कम्पनी रजिस्ट्रारको कार्यालयविरुद्ध अदालत नै गएको छ। अहिले पनि खेतान समूहविना नै सञ्चालक समितिको बैठक बस्दै आएको छ। 
 
यसकारण सिंगापुरे कम्पनीबाट पेलिँदै छ खेतान समूह 
कार्ल्सबर्ग साउथ एसियाले खेतान समूहलाई पेल्नुमा कुनै पनि कठिनाइमा साथ नदिएको आरोप लगाएको छ। 

टुबोर्ग, कार्ल्सबर्गलगायतका बियर आन्तरिक राजस्व कार्यालयले सन् २०७६ मा निर्धारण भएअनुसार अन्तःशुल्क दाखिला नगरी राजस्व छली गरेको आरोप लगाएको थियो। 

सो प्रकरणमा विवाद मिलाउन खेतान समूहले नै पहल नगरेको उसको आरोप छ। 

त्यसपछि कार्ल्सबर्ग साउथ एसियाले आफैँ पहल गरी उक्त विवाद मिलाउन कोशिस गरेको थियो। 

त्यो विवाद समाधान नहुँदै गोर्खा ब्रुअरीको मुद्दामा विवादित आदेश दिएका पोखरा उच्च अदालतका न्यायाधीशहरु तानिए। 

त्यति मात्रै नभई गत वर्ष गोर्खा ब्रुअरीकै उत्पादन टुबोर्ग मापदण्डविपरीत उत्पादन भएको भन्दै थप विवाद उत्पन्न भयो। 

आन्तरिक राजस्व विभागले अनुगमन गर्दा पनि कैफियत देखियो। बियरमा मिसावट गर्नुपर्ने कच्चा पदार्थमा नै कम्पनीले खेलबाड गरेको निष्कर्ष विभागको थियो। सो विवाद समेत मिलाउन खेतान ग्रुपले कुनै पहल गरेन। 

आन्तरिक राजस्व विभागका एक अधिकारीले नेपालखबरसँग भने, ‘कार्ल्सबर्ग साउथ एसियाकै प्रतिनिधिहरु विभागमा आएका थिए। सिंगापुरबाट विवाद कसरी सल्टाउने भनेर सोधीखोजी भएको थियो।’

यी दुई घटनाले पनि कार्ल्सवर्ग साउथ एसियाले सञ्चालक समितिमा खेतान समूहबाट प्रतिनिधित्व आवश्यक नरहेको ठानेको देखाउँछ। 

सोही कारण गत वर्ष भदौ २९ गतेदेखि खेतान समूहको प्रतिनिधिविना गोर्खा ब्रुअरीको सञ्चालक समितिको बैठक बस्दै आएको छ।  

यो वर्ष पनि गत भदौमा खेतान समूहको प्रतिनिधित्वविनै बसेको सञ्चालक समितिले ब्रुअरीको साधारणसभा बोलाउने निर्णय गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .