कारोबार


बेइजिङ उडान गर्ने पहिलो नेपाली कम्पनी बन्दै हिमालय एयरलाइन्स

बेइजिङ उडान गर्ने पहिलो नेपाली कम्पनी बन्दै हिमालय एयरलाइन्स

नेपालखबर
कात्तिक ७, २०७६ बिहिबार ११:३४,

आधा दर्जन बढी अन्तर्राष्ट्रिय उडान गर्दै आएको निजी क्षेत्रको हवाइ सेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले आइतबारदेखि चीनको राजधानी सहरमा उडान सुरु गर्ने भएको छ।

नेपाल र चीनको संयुक्त लगानी रहेको हिमालय एयरलाइन्सले आफ्नो पुरानै ए–३२० सिरिजको जहाजबाट यही कात्तिक १० देखि बेइजिङमा उडान गर्नलागेको हो। उक्त उडानसँगै कम्पनी बेइजिङ उडान भर्ने पहिलो नेपाली हवाइ कम्पनी बन्नेछ। हिमालय एयरलाइन्सबाहेक नेपालका कुनै पनि कम्पनीले उक्त गन्तव्यमा उडान अनुमति पाएका छैनन्। काठमाडौंबाट बेइजिङ पुग्न विमानलाई साढे पाँच घण्टा लाग्छ।

लामो समयको प्रयासपछि हिमालयले चिनियाँ राजधानीमा नवनिर्मित डाक्सिन इन्टरनेशनल विमानस्थलमा उडान अनुमति पाएको हो। यसअघि हिमालय एयरलाइन्सले चीनका गन्तव्यमा केही चार्टर्ड उडान मात्रै गर्दै आएको थियो। कम्पनीले बेइजिङपछि चाङ्सा, नाङचाङ, गुइयाङ, चोङकिङ, अलि र शेन्जेङमा उडान विस्तार गर्ने तयारी गरिरहेको जानकारी दिएको छ ।

पाँच वर्षअघि मात्रै स्थापना भएको एयरलाइन्सले आफ्नो प्राथमिकता चीन उडान हुने बताएको थियो। तर बेइजिङको अन्तर्राष्ट्रिय विमानस्थल अत्यन्तै व्यस्त भएका कारण एयरलाइन्स कम्पनीले चीनमा सिधा उडान गर्न पाएको थिएन।

एयरलाइन्सको आइतबारदेखि हुने उडानले काठमाडौं र बेइजिङलाई सिधा उडानमार्फत जोड्नेछ। यसले नेपाल भम्रण वर्ष २०२० मा पर्यटक ल्याउन सहयोग पुग्ने कम्पनीले जनाएको छ। कम्पनीको सेवा सुधार शाखा प्रमुख उज्ज्वला दलीले हिमालयले हालै सञ्चालनमा आएको अत्याधुनिक सुविधायुक्त डाक्सिन विमानस्थलमा उडानका लागि ‘स्लट’ पाएको नेपालखबरलाई जानकारी दिइन्।

याे पनि पढ्नुहाेस्ः ११ अर्ब डलर खर्चेर चीनले बनायो विशाल एयरपोर्ट


सन् २०१४ अगस्टमा स्थापित एयरलाइन्सले आफ्नो पाँच वर्षको अवधिमा तीनवटा न्यारोबडी ए–३२० जहाजमार्फत हाल अबुधाबी, दमाम, दोहा, ढाका, दुबई र क्वालालम्पुरमा उडान भर्दै आएको छ।

कम्पनीमा पछिल्लो समय चिनियाँ लगानीकर्ता समेत फेरिएको छ। कम्पनीको लगानीकर्ता ४९ प्रतिशत सेयर भएको तिब्बत एयरलाइन्स बाहिरिएपछि तिब्बत सिभिल एभिएसन डेभलपमेन्ट एन्ड एन्भेष्टमेन्ट कम्पनी नयाँ लगानीकर्ताका रुपमा भित्रिएको हो। कम्पनीको ५१ प्रतिशत सेयर भने नेपालको यति वल्र्ड कम्पनीको नाममा रहेको छ।

हाल चिनियाँ कम्पनी तिब्बत एयरलाइन्स, सिचुवान एयरलाइन्स, चाइना इस्टर्न एयरलाइन्स, चाइना साउदर्न र एयर चाइनाले नेपाल–चीन उडान गर्दै आएका छन्।

गत साउन १० मा भएको चीनसँग भएको सहमतिपछि नेपाल र चीन दुवै देशका वायुसेवा कम्पनीले एक अर्का मुलुकमा साताको ९८ वटा उडान गर्न पाउने हवाइ सम्झौता भएको थियो। त्यसअघि ७० उडानलाई मात्रै अनुमति दिइँदै आएको थियो।

याे पनि पढ्नुहाेस्ः चीन उडानमा ब्रेक थ्रुः १५ मुख्य गन्तव्यमा नेपाललाई अनुमति


थपिएका २८ उडानमध्ये सातवटा उडान त्रिभुवन विमानस्थल दिन नेपाल सहमत भएको छ भने २१ वटा उडान भने चिनियाँ जहाजले भैरहवा र पोखरामा अब बन्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा विमानस्थलमा गर्न पाउनेछन्।

उक्त सहमतिपछि नेपाली वायुसेवा कम्पनीका लागि चीनमा १५ वटा विमानस्थलमा उडानको बाटो खुलेको छ। यसअघि सातवटा विमानस्थलमा मात्र नेपाली कम्पनी जान पाउँथे।

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले पनि सिधा चीन (ग्वान्झाउ) उडानको लागि तयारी गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad