ad ad

कारोबार


बजारमा चरम महँगी : सबै उपभोग्य वस्तुको मूल्य उच्च, छैनन् अनुगमन गर्ने मन्त्री

बजारमा चरम महँगी : सबै उपभोग्य वस्तुको मूल्य उच्च, छैनन् अनुगमन गर्ने मन्त्री

फलफूल खरिद गर्दै उपभाेक्ता।


दीपक भट्ट
असोज ४, २०७८ सोमबार ६:३३, काठमाडौँ

ठूला चाडपर्व नजिकिँदै गर्दा नेपाली उपभोक्ता चरम मूल्यवृद्धिको मारमा परेका छन्। 

खासगरी दैनिक उपभोग्य खाद्यवस्तुको मूल्य पछिल्लो समय अत्यधिक वृद्धि भएको छ। 

योसँगै नेपालीहरुको भान्सा महँगिएको छ। दाल, चामल, फलफूल, तरकारी तथा तेल र घ्यू समेतको उच्च मूल्यवृद्धि भएको हो। 

खुद्रा व्यापार संघका अनुसार खानेतेलको मूल्य सबैभन्दा धेरै बढेको छ। 

चालू आर्थिक वर्ष सुरु भएयता नै खानेतेलको मूल्य प्रतिलिटर झण्डै ५० रुपैयाँले बढेको छ। 

त्यस्तै गेडागुडी र दाल, चामलको समेत प्रतिकिलो २ रुपैयाँदेखि १० रुपैयाँसम्म मूल्यवृद्धि भएको छ। 

कालीमाटी फलफूल तथा तरकारी विकास समितिका अनुसार सबैजसो तरकारीको मूल्यवृद्धि भएको छ। 

समितिले उपलब्ध गराएको तथ्याङ्कअनुसार यही भदौ ३ मा अदुवाको मूल्य प्रतिकिलो ७५ रुपैयाँ रहेकोमा एक महिना अन्तराल अर्थात् असोज ३ मा ८५ रुपैयाँ पुगेको हो। 

त्यस्तै, अनार प्रतिकिलो २ सय ५५ रुपैयाँ रहेकोमा ३ सय ३५, रातो आलु ५३ रुपैयाँ रहेकोमा ५७ रुपैयाँ, सेतो आलु ३९ रुपैयाँ रहेकोमा ४१ रुपैयाँ, काउली ६५ रुपैयाँ रहेकोमा ७० रुपैयाँ प्रतिकिलो एक महिनाको अन्तरमा पुगेको हो। 

त्यस्तै लोकल काँक्रो ३० रुपैयाँ रहेकोमा ४५ रुपैयाँ पुगेको छ। 

औसत वार्षिक मूल्यवृद्धि साढे ३ प्रतिशत माथि 
राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७७/०७८ मा वार्षिक औसत उपभोक्ता सेवा तथा वस्तुहरूको मूल्यवृद्धि ३.६० प्रतिशत छ। 

अघिल्लो आर्थिक वर्ष यस्तो दर ६.१५ प्रतिशत थियो। तर अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७७/७८ मा घ्यू तथा तेल, दाल तथा गेडागुडी, सुर्तीजन्य पदार्थ र यातायात उपसमूहको वार्षिक औसत मूल्यवृद्धि क्रमशः १७.५४ प्रतिशत, १०.६५ प्रतिशत, ९.८३ प्रतिशत र ६.४१ प्रतिशत छ। 

खाद्य तथा पेय पदार्थको मूल्यवृद्धि आर्थिक वर्ष २०७७/०७८ मा खाद्य तथा पेय पदार्थ समूहको वार्षिक औसत मूल्यवृद्धि ५.०० प्रतिशत छ। अघिल्लो आर्थिक वर्षमा उक्त समूहको मूल्यवृद्धि ८.१६ प्रतिशत थियो।

गैर–खाद्य तथा सेवा मूल्यवृद्धि आर्थिक वर्ष २०७७/०७८ मा गैर–खाद्य तथा सेवा समूहको वार्षिक औसत मुद्रास्फीति २.५१ प्रतिशत छ।

अघिल्लो आर्थिक वर्ष उक्त समूहको मूल्यवृद्धि ४.६१ प्रतिशत थियो। क्षेत्रगत उपभोक्ता मूल्यवृद्धि हेर्दा काठमाडौं उपत्यकामा ३.३३ प्रतिशत, तराईमा ३.६८ प्रतिशत, पहाडमा ३.८७ प्रतिशत र हिमालमा २.८७ प्रतिशत छ। 

अघिल्लो आर्थिक वर्षमा यस्तो मूल्यवृद्धि क्रमशः ६.९६ प्रतिशत, ६.२९ प्रतिशत, ५.१० प्रतिशत र ४.९१ प्रतिशत थियो। 

मूल्य बढेको बढ्यै, आम्दानी बढेन 
राष्ट्र बैंकका अनुसार मूल्यवृद्धि बढेको बढ्यै गर्दा उपभोक्ताहरूको आयस्रोत भने नबढेको देखिएको छ। 

आर्थिक वर्ष ०७७/०७८ मा जम्मा १ दशमलव ६० प्रतिशतले मात्रै आयस्रोत अर्थात् ज्यालादर बढेको देखिएको छ।  

अर्थविद् केशव आचार्य पनि मूल्यवृद्धि र आम्दानीबीच असन्तुलन भएको बताउँछन्। 

उनले भने, ‘मूल्यवृद्धि र आयशक्ति सँगसँगै बढ्नुपर्छ। अन्यथा समाज गरिबीतर्फ अघि बढ्छ।’

अनुगमन गरेको विभागको दाबी 
यता बजार अनुगमन गर्ने सरकारी निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग मूल्यवृद्धिबारे जानकार रहेको बताउँछ। 

सोही कारण विभागले नियमित बजार अनुगमन गरेको उसको दाबी छ। 

विभागका प्रवक्ता शिवराज सेढाईंका अनुसार कुनै वस्तुको मूल्य स्वाभाविक पनि छन् भने कुनै अस्वाभाविक पनि छन्। अस्वाभाविक मूल्यवृद्धिलाई अनुगमनमार्फत नियन्त्रण गरिने उनले बताए। 

उनले भने, ‘चाडबाड लागेपछि मूल्यवृद्धि धेरै हुने गरेको छ। विभागले पनि चाडबाडलक्षित अनुगमन बढाउँछ।’

उनका अनुसार बजार अनुगमनमा विभागले ६ टाेली परिचालन गरेकाे छ। यसअघि अनुगमन गर्ने कर्मचारी अभाव रहे पनि अहिले सामान्य प्रशासन मन्त्रालयबाट थप कर्मचारी मगाइएकाे उनले जानकारी दिए। 

मन्त्रालयमा मन्त्री नै छैनन् 
योभन्दा अघि उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीहरू आफैँ अनुगमनमा जाने गर्दथे। तर यो वर्ष मन्त्रालयमा मन्त्री नै छैनन्। 

प्रधानमन्त्री शेरबहादुर देउवा आफैँले सो मन्त्रालय राखेका छन्। बजार मूल्यवृद्धिले त्यसको अभाव खट्किरहेको देखिन्छ। 

तर मन्त्रालयका प्रवक्ता नारायण रेग्मी भने मन्त्री नहुँदा मूल्यवृद्धि बढेको भन्न नमिल्ने बताउँछन्। 

उनले भने, ‘सरकारले मूल्यवृद्धि नियन्त्रण गर्ने योजना बनाएको छ। सोहीअनुसार सुपथ मूल्य बजार समेत सञ्चालन गरेको छ।’

मन्त्रालयले अनुगमनकाे पनि अनुगमन गर्ने भएकाले त्यही अनुसार रणनीति बनाएकाे बताए। 

सरकारी सुपथ मूल्य पसलको राहत 
दैनिक उपभोग्य वस्तुहरू महँगिरहेको समयमा सरकारले सुपथ मूल्यको बजार सुरु गरेको छ। 

दशैँ तिहारलक्षित गरेर सरकारी संस्थानको समन्वयमा सरकारले सुपथ मूलय बजार यही असोज १ गतेदेखि सुरु गरेको हो।

रेग्मीका अनुसार साल्ट ट्रेडिङ कर्पोरेसन, खाद्य व्यापार कम्पनी, दुग्ध संस्थानको संलग्नतामा सुपथ मूल्य बजार सुरु भएको छ। 

यी पसलमा नुनमा प्रतिकिलो दुई रुपैयाँ, चामलमा प्रतिकिलो पाँच, गेडागुडी र खसीबोका जिउँदोको प्रतिकिलो १० रुपैयाँ छुट दिने योजनाअनुसार सुपथ मूल्य बजार सुरु गरिएको हो।

खाद्य कम्पनीले चामल, चिउरा, दाल, आँटा, गेडागुडीमा प्रतिकिलो पाँच रुपैयाँ र जिउँदो खसीबोका प्रतिकिलो र भटमासको तेलमा प्रतिलिटरमा १० रुपैयाँ छुुट दिनेछ।

यो सुपथ मूल्य देशभरका प्रमुख सहरमा सञ्चालन हुने मन्त्रालयले जानकारी दिएको छ। 

यसको लागि मन्त्रालयले खाद्य कम्पनीलाई एक करोड ७५ लाख र साल्ट ट्रेडिङलाई एक करोड ५० लाख रुपैयाँ अनुदान उपलब्ध गराउने निर्णय गरिसकको छ। सो अनुदान लिएपछि उनीहरूले उपभोक्तालाई छुट दिनुपर्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .