ad ad

कारोबार


बजेट शून्यतातर्फ देश : सुरु भएकै हो त 'गभर्मेन्ट सट्डाउन'?

बजेट शून्यतातर्फ देश : सुरु भएकै हो त 'गभर्मेन्ट सट्डाउन'?

नेपालखबर
भदौ ३१, २०७८ बिहिबार १३:२६, काठमाडौँ

देश बिहीबारदेखि बजेटविहीन भएको छ। केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको बजेट अध्यादेश संसदमा पेस भएपछि ६० दिन पुगेर निष्क्रिय भएको छ। 

वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको बजेट प्रतिस्थापन विधेयक संसदमा विचाराधीन रहँदा देश बुधबार राति १२ बजेदेखि बजेट शून्यतामा गइसकेको छ।

बजेट शून्यतामा गएपछि संघ सरकारको सरकारी ढुकुटीबाट हुने खर्च ठप्प भएको छ। प्रशासनिकदेखि सरकारी कार्यालयको नियमित निकासा रोकिएको छ। यद्यपि संघीय सञ्चित कोषबाट व्ययभार कायमै हुनेछ।

बजेट शून्यताको अवस्था सुरु हुने अवस्थामा महालेखा नियन्त्रकको कार्यकालले देशभरका कोष तथा लेख नियन्त्रण कार्यालय (कोलेनिका) लाई परिपत्र नै गरिसकेको छ।

महालेखाले कोलेनिकालाई पठाएको पत्रमा ‘सञ्चित कोषमाथि व्ययभार हुने बाहेकका कुनै खर्च गर्न नमिल्ने’ ब्यहोरासहितको पत्र पठाएको हो। 

'आर्थिक वर्ष २०७८/७९ को प्रतिस्थापन विधेयक स्वीकृत भइनसकेको तथा आर्थिक वर्ष २०७८/७९ को विनियोजन अध्यादेश पनि २०७८ भाद्र ३० गते राति १२ बजेपछि निष्क्रिय भइसकेको अवस्था छ। यो अवस्थामा सञ्चित कोषमाथि व्ययभार हुनेबाहेक कुनै खर्च गर्न नमिल्ने भएको छ', महालेखाले पठाएको निर्देशनसहितको पत्रमा भनिएको छ, 'तसर्थ सोही अनुसार गर्न हुन। यस समयमा आन्तरिक लेखापरीक्षण तथा वार्षिक हिसाब भिडानमा केन्द्रीत रही प्रतिवेदन बनाउने व्यवस्था गर्नुहुन अनुरोध छ।'

नेपालमा बिहीबारदेखि सरकारी खर्च, राज्यकोषबाट पैसा झिकेर खर्च नपाइने भएको छ। संघीय संसद् र संवैधानिक निकायबाहेक कार्यपालिकाका सम्पूर्ण अंगले निकासा र भुक्तानी गर्न पाउने छैनन्। 

संघीय संसद, संवैधानिक अंग, ऋण तथा सावाँ खर्च भने संघीय सञ्चित कोष व्ययभारबाट हुनेछ।

कार्यपालिका खर्चबाट वञ्चित हुँदा प्रधानमन्त्री शेरबहादुर देउवादेखि मन्त्रीहरूको तलब पनि रोकिने भएको छ। 

अमेरिकामा तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पको पालामा बजेट पारित नभएर ३५ दिन 'सर्ट डाउन'मा गएसँगै नेपालमा पनि समयमै बजेट पारित नभएर पहिलोपटक 'सटडाउन'को स्थिति आएको हो।

देश सटडाउनतर्फ 

तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पालामा सिनेटबाट ३५ दिनसम्म बजेट पारित भएन।

त्यो बेला देश पूरै सटडाउनमा गएको थियो। सरकारी कार्यालय ठप्प भएका थिए। अहिले नेपालको बजेटविहीनताको अवस्थालाई ट्रम्पको सट्डाउनसँग जोडेर हेरिएको छ।

तर अर्थ मन्त्रालयका प्रवक्ता महेश आचार्य देश सटडाउनमा नगएको बताउँछन्। 'सरकार पूरै सटडाउन होइन। बजेटसम्बन्धी काम रोकिएको हो। सरकारले काम त गरिरहेको छ', उनले भने, 'बजेट खर्च गर्न पाइएन। चेक काट्न पाइएन। केही न केही अफ्ठेरो त भइहाल्छ। तर पूरै सट्डाउन होइन।'

आचार्यले अमेरिका र नेपालको परिस्थिति फरक भएको उल्लेख गरे। 'धेरैले अमेरिकातिर जस्तो सोचे। अमेरिका र हाम्रो स्थिति फरक हो। उनीहरूको बन्दै हुने खालको हुन्छ', उनले भने, 'हाम्रो सबै काम भइरहेको छ। खर्च गर्नेसँग सम्बन्धित काम नभएको हो। राजस्व संकलन भइरहेको छ। भुक्तानी  केही दिन ढिलो हुने हो।'

बजेट पारित नहुँदासम्म निकासा र भुक्तानीसम्बन्धी काम रोकिएको उनले बताए। 'प्रत्येक दिन बजेट खर्च हुन्छ भन्ने छैन। दशैँमा पाँच दिन काम नहुँदा सरकार नै बन्द हुन्छ र? प्रत्येक दिन चेक काटिराखेको पनि हुँदैन', उनले भने, '४ गतेसम्म नहुने हो। त्यसपछि त खुलिहाल्छ। ४ गते नै खुल्छ भन्ने मान्यतामा जानुपर्यो।'

उनले बजेटविहीनताको अवस्थामा खर्च गर्ने कुनै वैकल्पिक उपाय नभएको पनि बताए। 'वैकल्पिक उपाय केही हुँदैन। बजेट पास हुँदासम्म कुर्नुपर्छ', उनले भने, 'तर काम भइरहेको छ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .