ad ad

कारोबार


चिप्स अभाव : चाडपर्वमा बुकिङ गरेकाले पनि तत्काल गाडी नपाउने

चिप्स अभाव : चाडपर्वमा बुकिङ गरेकाले पनि तत्काल गाडी नपाउने

फाइल तस्बिर


वसन्त अर्याल
भदौ २९, २०७८ मंगलबार १८:१३, काठमाडौँ

कोडिभ १९ को कारण माइक्रो चिप्स अभाव हुँदा अटो बजार प्रभावित भएको छ। 

भारतमा कारमा प्रयोग हुने चिप्सको अभावले गाडी उत्पादनमा कमी आएको छ। 

भारतमा कार उत्पादनमा कमी आएसँगै नेपालको अटो बजार प्रभावित बनेको छ। कोभिड महामारीको समयमा गाडीका प्लान्ट बन्द हुँदा गाडी उत्पादन हुन पाएनन्। 

भारतमा कोभिड महामारीको प्रभाव क्रमशः कम भएसँगै खुलेको बजारमा गाडीको माग बढ्दो छ। गाडी उत्पादकले बजार मागबमोजिम उत्पादन गर्न सकिरहेका छैनन्। 

स्मार्टफोन, ल्यापटपलगायत विद्युतीय सामग्रीमा समेत गाडीमा प्रयोग हुने चिप्स प्रयोग हुन्छ। 

महामारीको बीचमा ल्यापटप, स्मार्टफोनको अधिक माग रहेको थियो। तर अटोमोबाइल्सको माग बजार खुलेपछि बढ्दै गएको छ। 

अटोमोबाइल्स व्यवसायीका अनुसार नेपाल र भारतमा एकै पटक चाडपर्व सुरु भएकाले गाडी ‘डेलिभरी’मा समस्या रहेको बताएका छन्। भारतमा सवारीसाधनको बिक्री दशैं तिहारमा बढी हुन्छ। 

नेपालमा पनि अधिकांश ग्राहक दशैँ तिहारमा खरिद गर्ने व्यवसायी बताउँछन्। 

नेपालमा चीनमा उत्पादित गाडी आयातमा भने समस्या नरहेको व्यवसायी बताउँछन्। चीनबाट बीवाईडी, ग्रेटवाल मोटर्स, दीगो लगायतका कार नेपालमा आउँछन्। टाटा, हुन्डाई, सुजुकी, कियालगायत ठूलो बजार हिस्सा भएका गाडी भारतबाट आयात हुन्छन्। 

‘चिप्स अभावको कारण भारतबाट नेपालको मागअनुसार गाडी आयात हुन पाएको छैन’, नाडाका सचिव अनुप कुमार बरालले नेपालखबरसँग भने, ‘भारतबाट मागअनुसारको गाडी नआउँदा चिनियाँ ब्रान्डलाई बढी फाइदा हुने देखिन्छ।’

चीन आफैँले चिप्स बनाउने हुँदा त्यहाँबाट आउने गाडीमा कुनै समस्या छैन। अधिकांश भारतीय गाडी उत्पादक कम्पनीले चीनबाटै चिप्स आयात गर्ने हुँदा समस्या देखिएको छ। 

‘नेपालमा दशैँ तिहारमा गाडी सबैभन्दा धेरै बिक्छ’, सुजुकी गाडीको डिलर नारायणी अटोका सञ्चालक समेत रहेका बरालले भने, ‘दशैँ तिहारमा मागबमोजिम डेलिभरी गर्न नसके ग्राहकले नयाँ ब्रान्ड खोज्न सक्छन्।’

कोभिड दोस्रो लहरपछि सुस्ताएको अटो बजार चाडपर्वलक्षित अफरले चहलपहल बढेको व्यवसायी बताउँछन्। 

अधिकांश ग्राहकले अफरसँगै बुकिङ गर्ने बढेका छन्। उनीहरुलाई तिहारसम्म गाडी डेलिभर गर्नुपर्ने दबाबमा व्यवसायी छन्। 

हुन्डाई नेपालका मार्केटिङ म्यानेजर सन्दिप शर्माले भारतमा कम गाडी उत्पादन भएकाले केही समस्या भएको बताए। 

‘हुन्डाईको व्यवस्थापन गर्न सकिने अवस्था छ’, शर्माले भने, ‘भेरियन्ट, कलर लगायतको कारणले केही समय कुनुपर्छ। म्यानेजेबल अवस्था छ।’

भारतमा कम उत्पादन भएकाले मागभन्दा कम गाडी पठाइरहेको शर्माले बताए। 

‘हामीले जति गाडी माग गरेका छौँ, त्योअनुसार पाएका छैनौँ’, उनले भने। 

नयाँ गाडी सार्वजनिक गरेको टाटा, निसान, रेनोले केही महिना अघिदेखि बुकिङ लिइरहे पनि हस्तान्तरण गर्नसकेका छैनन्। 

‘टाटा नेक्सन ईभीको करिब ५ सय बुकिङ भइसकेको छ’, सिप्रदी ट्रेडिङका एक अधिकारीले भने, ‘शुक्रबारबाट दैनिक २÷३ वटाको दरले वितरण सुरु गरेका छौँ।’

उनले भारतले नेपालको मागबमोजिम गाडी उपलब्ध गराउन नसकेको बताएका छन्। 

‘बुकिङ गर्नुभएका सबैलाई तत्काल गाडी तत्काल उपलब्ध गराउन सक्दैनौँ’, ती अधिकारीले भने, ‘दशैँ तिहारसम्म बढी गाडी आउँछन् र बुकिङ भएकालाई हस्तान्तरण गर्न सक्छौँ भन्ने विश्वास छ।’

एडभान्स अटोमोबाइल्सले नेपालमै सस्तो एसयूभी सेग्मेन्टको रेनो काइगर भित्र्याए पनि मागअनुसार वितरण गर्न नसकेको बताएको छ। 

त्यस्तै चिनियाँ ब्रान्ड बीवाईडीले विद्युतीय ई६को दोस्रो पुस्ता नेपालमा ल्याएको छ। 

‘हामीले औपचारिक रुपमा लन्च गर्न नपाउँदा बीवाईडीको माग उच्च रहँदा मागअनुसार गाडी पुर्याउनसकेका छैनौँ’, बीवाईडीका समिर श्रेष्ठले भने, ‘दशैँ तिहारमा बुकिङ भएका गाडी हस्तान्तरण गर्नसक्ने आशा छ।’

किया मोटर्स नेपालका असिस्टेन्ट जनरल म्यानेजर अनिश लामिछानेले विश्व अटोबजार नै प्रभावित बनेको बताए। उनले सोही कारण कियाका आइपुग्ने गाडी पनि नआएको बताए।

‘अहिलेसम्म आउनुपर्ने गाडी आएकै छैनन्, खोइ चाडपर्व कस्तो हुन्छ’, लामिछानेले भने, ‘कियाका केही मोडल आउँदै छन्। अरु कम्पनीलाई जस्तो असर नगर्ला कि?’

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले सन् २०२३ सम्म चिप्सको अभाव नै रहने  बताएका छन्। जसले मागअनुसारका गाडी बजारमा पाउन मुश्किल पर्ने उल्लेख गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .