कर्णाली प्रदेशकाे राजधानी सुर्खेतकाे विरेन्द्रनगरमा औद्योगिक व्यापार मेला तथा पर्यटन महाेत्सव हुने भएकाे छ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ कर्णाली प्रदेशले मंसिर १८ देखी २४ गतेसम्म औद्योगिक महोत्सव गर्ने तयारी गरेकाे हाे। महाेत्सवकाे प्रवर्द्धकमा कर्णाली प्रदेश सरकारकाे उद्याेग, पर्यटन, वन तथा वातावरण मन्त्रालय रहेकाे छ।
कर्णाली प्रदेशका रैथाने बाली र अर्गानिक कृषि उत्पादन, खनिज तथा पर्यटकीय गन्तव्यहरुको प्रचार गर्न महोत्सव अयोजना गरिएको हो। लघु घरेलु तथा उत्पादनमूलक औद्योगिक, उर्जा तथा नविनतम प्रविधिजन्य उत्पादनका स्वदेशी वस्तुहरुका साथै महिला उद्यमीहरुको उत्पादन मेलाको प्रमुख आकर्षक हुने आयोजकले जनाएको छ। महोत्सवमा स्थानीय अर्गानिक तथा मौलिक उत्पादनहरु, महिला उद्यमीका उत्पादन तथा स्थानीय कलाको प्रदर्शनी लगायत रहेका छन्।
प्रर्दशनीमा कर्णाली प्रदेशका अर्गानिक उत्पादनहरु, वनपैदावार, हस्तकला, सौर्य उर्जा, वायोग्यास, लघु तथा साना जलविद्युत, वायु उर्जा, जैविक उर्जा जस्ता प्रविधिका संस्था तथा उत्पादकहरुको सहभागिता रहने महासंघले जानकारी दिएको छ।


प्रतिक्रिया