कारोबार


ठूला आयोजनामा लगानी गर्न प्राधिकरणको नाफा बढाउनैपर्छः कुलमान

ठूला आयोजनामा लगानी गर्न प्राधिकरणको नाफा बढाउनैपर्छः कुलमान

नेपालखबर
भदौ १, २०७८ मंगलबार १३:५२, काठमाडौँ

नेपाल विद्युत् प्राधिकरणले ठूला आयोजनामा लगानी गर्नको लागि नाफा बढाउनुपर्ने कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका छन्। 

उनले ३६औँ वार्षिक उत्सवको अवसरमा गत आर्थिक वर्ष नाफा घटेको भन्दै ठूला आयोजना निर्माणको लागि नाफा बढाउनुपर्ने बताएका छन्। 

गत आर्थिक वर्षमा ३ अर्ब ५१ करोड रुपैयाँ मात्रै नाफा गरेको थियो। त्यसअघिको वर्ष ११ अर्ब ६८ करोडा नाफा रहेको थियो। 

‘आर्थिक वर्ष २०७७/७८ मा केही नाफा घटेको छ’, कार्यकारी निर्देशक घिसिङले भने, ‘नेगेटिभ नै त होइन तर यति नाफाले हुँदैन। ठूला आयोजना निर्माणको लागि प्राधिकरणको नाफा बढाउनुपर्छ।’

घिसिङले उपभोक्ताहरुलाई नियमित, भरपर्दो र गुणस्तरीय विद्युत् सेवा उपलब्ध गराउनु नै प्राधिकरणको उद्देश्य रहेको बताएका छन्।

उनले आगामी योजनाको रुपमा ९९.८ मेगावाटको तामाकोशी पाँचौँ जलविद्युत् आयोजनाको निर्माण गर्न चालू आ.व.भित्र बोलपत्र आह्वान गरी ठेक्का सम्झौता गरिने उल्लेख गरेका छन्। 

६३५ मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना निर्माणको लागि वित्तीय व्यवस्थापन गरी बाँध निर्माणको लागि बोलपत्र आह्वान, २१० मेगावाटको चैनपुर सेती जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन, १०६० मेगावाटको अपर अरुण जलविद्युत् आयोजनाको निर्माण सन् २०२३ भित्र निर्माण सुुरु गर्ने गरी आवश्यक तयारी तथा वित्तीय व्यवस्थापन गरिने घिसिङले उल्लेख गरेका छन्। 
 
नेपाल विद्युत् प्राधिकरणको प्रसारण तथा वितरण प्रणालीमा रहेका अप्टिकल फाइबरको व्यावसायिक उपयोग गर्ने गरी आवश्यक व्यवस्था गरिने बताएका छन्।

सहरी सौन्दर्यलाई कायम राख्दै वितरण प्रणालीलाई आधुनिकीकरण गर्न काठमाडौं उपत्यका, पोखरा, भरतपुरलगायत मुलुकका प्रमुख सहरहरुमा भूमिगत वितरण लाइन निर्माण गरिने जानकारी दिए। 

वार्षिक उत्सवको अवसरमा आधिकारिक ट्रेड युनियनले डेडिकेटेड र ट्रकलाइनको महशुल उठाउनैपर्ने माग गरेको छ।  

प्राधिकरणले गत वर्षसम्म ७४ जिल्लामा केन्द्रीय प्रसारणलाइन पुगेका छन्। डोल्पा, हुम्ला र मुगुमा केन्द्रीय प्रसारण केही वर्षभित्रै पु¥याइने उल्लेख गरेको छ।  

नेपालमा आन्तरिक उत्पादन १ हजार ९ सय मेगावाट नजिक पुगेको छ। जसमा निजी क्षेत्रको निजी क्षेत्रको ८ सय २५ मेगावाट जडित क्षमता रहेको छ। गतआर्थिक वर्षको विद्युत माग १५ सय मेगावाट रहेको थियो। 

चालू आर्थिक वर्षमा १ हजार ६ सय मेगावाट विद्युत् थप हुने आंकलन गरिएको छ। जसमा माथिल्लो तामाकोशीलाई पनि जोडिएको छ। 

ऊर्जामन्त्री पम्फा भुसालले ६ वटा प्रदेशमा जलशाययुक्त आयोजना र तराईमा सोलार राख्ने योजना रहेको बताएकी छिन्। 

उनले भारतबाट पेट्रोलियम पदार्थ आयात गरी प्रयोगभन्दा नेपालकै  पानीबाट उत्पादन विद्युत प्रयोग गर्नुपर्ने बताएकी छिन्। 

देशका प्रमुख सहरसहित मुख्य राजमार्गमा ५० वटा चार्जिङ स्टेसन निर्माण सम्झौता भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad