ad ad

कारोबार


एक्कासी रोकियो साझाको तीन सय बिजुली बस खरिद, अध्यक्ष भन्छन्ः दुःखी छौं

एक्कासी रोकियो साझाको तीन सय बिजुली बस खरिद, अध्यक्ष भन्छन्ः दुःखी छौं

नेपालखबर
कात्तिक ३, २०७६ आइतबार ९:३०,

सरकारले एक्कासी साझा यातायातले खरिद गर्न लागेको तीन सय विद्युतीय बसको खरिद प्रक्रिया रोक्न निर्देशन दिएको छ। नयाँ बस खरिद प्रक्रिया रोक्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले साझा यातायातलाई असोज १ गते नै पत्र पठाएको खुलेको हो।

गत वर्ष सरकारले तीन सयवटा विद्युतीय बस किन्ने निर्णय गरेकोमा चालू वर्षको असारमा साझा यातायातलाई खरिदको जिम्मा दिए पनि एक्कासी मन्त्रालयले रोक्न भनेको हो। सरकारले विद्युतीय बस किन्न गत साउनमा एकैपटक ३ अर्ब रुपैयाँ साझा यातायातलाई उपलब्ध गराएको थियो।

विद्युतीय बस खरिदकै लागि प्रदेश ३ सरकार तथा स्थानीय सरकारले समेत साझा यातायातलाई सहयोग गरेका थिए। तर मन्त्रालयले बस खरिद प्रकिया रोक्नुको कारण साझा यातायातलाई समेत खुलाएको छैन।

साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले बस खरिदका लागि अन्तर्राष्ट्रिय बोलपत्रमा जाने तयारी भइरहँदा सरकारले एक्कासी रोकेको नेपालखबरलाई बताए।

‘बिजुली बस खरिद प्रक्रिया नेपालका लागि नयाँ भएकाले राम्रो प्राविधिक टिम चाहिन्छ भनेर हामीले माग गरेपछि मन्त्रालयले नै पठाएको प्राविधिक विशेषज्ञ राखेर समिति बनाएका थियौं’, दीक्षितले भने, ‘त्यसैको आधारमा हामी अन्तर्राष्ट्रिय बोलपत्रमा जाने तयारीमा थियौं।’

मन्त्रालयको पत्र आएको करिब दुई हप्तापछि साझाले मन्त्रालयसँग समेत सुझाव मागेको उनले बताए।

‘मन्त्रालयले प्रक्रिया स्थगित गर भनेकोमा साझा यातायात दुःखी छ भनेर पत्र पठाएका थियौँ। तर मन्त्रालयले त्यसको कुनै जवाफ दिएको छैन’, दीक्षितले भने।

मन्त्रालयको पत्रसँगै कम्पनीले हाललाई सबै प्रक्रिया स्थगित गरेको छ।

उनले भने, ‘कस्तो स्पेसिफिकेसन भएका बस ल्याउने भन्ने हाम्रो रिपोर्ट बाहिर आइसकेको थिएन, हामी त त्यसको अध्ययनमै थियौँ।’

सरकारले विश्वास गरेर तीन अर्ब पठाएपछि त्यो विश्वास पूरा गर्न पारदर्शी ढंगले नमूना काम गर्न कम्पनी लागेपनि सरकारले रोक भनेपछि रोकेको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .