सरकारले विश्वका विभिन्न देशमा ‘नेपाल भ्रमण वर्ष सद्भावना दूत’हरु पनि नियुक्त गर्ने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाउन विश्वका विभिन्न मुलुकमा तत्काल सद्भावना दूतहरु नियुक्त गर्ने तयारी गरिएको जानकारी दिएका हुन्।
त्यसका लागि उनले उपयुक्त व्यक्तिको छनौटका लागि सिफारिस गर्न गैर आवासीय नेपाली संघ (एनआरएनए) लाई पनि आग्रह गरे। आइतबार एनआरएनएका नवनिर्वाचित पदाधिकारीसँगको सामूहिक भेटमा मन्त्री भट्टराईले गैरआवासीय नेपालीहरुले सहयोग गरे नेपालमा पर्यटन प्रवद्र्धन गर्न कुनै समस्या नरहेको पनि स्पष्ट पारे। उनले नेपालको अर्थतन्त्रमा १० प्रतिशत योगदान पर्यटन क्षेत्रको हुने गरी पर्यटन प्रवद्र्धन गर्न सरकार प्रतिवद्ध भएर लागि परेको पनि बताए। विगतमा सरकारले यथोचित ध्यान दिन नसकेकाले नेपालमा पर्यटक प्रवद्र्धन गर्ने काममा समस्या देखिएको पनि मन्त्री भट्टराईको भनाई थियो।
मन्त्री भट्टराईले जननिर्वाचित तीनै तहको सरकारहरुले काम गरिरहेकाले मुलुकमा छिट्टै सुशासन आउनेमा आश्वस्त हुन पनि सबैलाई आग्रह गरे। मन्त्री भट्टराईले मुलुकलाई समृद्ध बनाउन पर्यटन क्षेत्रको विकासमा सरकारले यथोचित ध्यान दिने प्रतिवद्धता पनि व्यक्त गरे।

प्रतिक्रिया