हङकङका १९ र मकाउका ६३ सहित ८२ नेपाली बोकेर शनिबार बिहान नेपाल एयरलाइन्सको जहाज काठमाडौं फर्कंदै छ।
शनिबार बिहान ३ः४५ बजे हङकङबाट उड्ने जहाज बिहान करिब ८ बजे काठमाडौंमा अवतरण हुनेछ। मकाउबाट फर्कने नेपाली मकाउका कामदार हुन भने हङकङका नेपाली यहीँका स्थायी बासिन्दा हुन्।
काठमाडौंबाट १५९ जना बोकेर हङकङ आएको जहाज हङकङ र मकाउका नेपाली बोकेर फर्कन लागेको हो। कोरोना महामारीका कारण नेपालमा भएको तीन महिना लामो लकडाउनपछि हङकङ र मकाउबाट पहिलो पटक नेपाली फर्कन लागेका हुन्।
काठमाडौंबाट हङकङ उडेको जहाजमा रहेका १५९ जनामध्ये २ जना चिनियाँ र १५७ जना हङकङका स्थायी बासिन्दा नेपाली रहेको नेपाली महावाणिज्य दूतावास हङकङले जनाएको छ। उनीहरू सबै हङकङमा १४ दिन सरकारी क्वारेन्टिनमा बस्नेछन्।
मकाउबाट फर्कन लागेका ६३ जना नेपाली त्यहाँ जागिर सकिएका, विरामी र गर्भवती महिलासमेत रहेको एनआरएनए मकाउका अध्यक्ष पूर्ण गुरुङले बताए। नेपाल सरकारले हङकङ–काठमाडौं चार्टर्ड उडानको प्रतिव्यक्ति भाडा ५५० अमेरिकी डलर तोकेको भएपनि हङकङस्थित महावाणिज्य दुतावासले त्यसलाई ४५० डलर कायम गरेको छ। काठमाडौं–हङकङ दोहोर उडानमै यात्रु भएकाले भाडा सस्तो पर्न गएको हो।
‘महावाणिज्य दूतावास र एनआरएनए मकाउको संयोजनमा ६३ जना नेपाल फर्कन लागेका हुन्’, अध्यक्ष गुरुङले भने, ‘उनीहरूको नेपाल जाने एयरलाइन्स भाडासहित सबै खर्च उनीहरू काम गर्ने कम्पनीले नै व्यहोरेको छ।’
मकाउका नेपाली त्यहाँबाट पानी जहाजमा चढेर करिब एक घण्टा दूरीको हङकङ आएपछि हङकङबाट नेपाल एयरलाइन्सको चार्टर्ड जहाज चढेर काठमाडौं आउने व्यवस्था मिलाइएको हो। मकाउ सरकार र नेपाली दूतावासको पहलमा उनीहरूलाई हङकङ प्रवेश गर्न निशुल्क भिसा व्यवस्था गरिएको थियो।
मकाउबाट ७८ जनाले नेपाल फर्कन दूतावासमा नाम लेखाएका थिए, तीमध्ये ६६ जनाले मात्रै आवश्यक कागजात जुटाएका थिए। तीमध्ये तीन जना कोरोना परीक्षण र व्यक्तिगत कारणले मकाउमै रोकिएका छन्।
Shares

प्रतिक्रिया