प्रवास


ड्यालसमा महावाणिज्य दूतावास सञ्चालन प्रक्रिया अघि बढ्यो

सात अमेरिकी राज्यका नेपाली समुदायले सेवा पाउने
ड्यालसमा महावाणिज्य दूतावास सञ्चालन प्रक्रिया अघि बढ्यो

टेक्सास राज्यको ड्यालस सहर (Getty Images)


रासस
असार ४, २०८२ बुधबार १४:४, टेक्सास (अमेरिका)

नेपाल सरकारले अमेरिकाको टेक्सास राज्यको ड्यालस सहरमा स्थापना गर्न लागेको महावाणिज्य दूतावास कार्यालय सञ्चालनका लागि आवश्यक प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ ।

ड्यालसका लागि नेपाल सरकारद्वारा सहसचिव तथा महावाणिज्यदूतको जिम्मेवारीमा नियुक्त भएका सुरेश अधिकारीले कार्यालय स्थापनाका लागि प्रक्रिया अघि बढिसकेको जानकारी दिए।

नेपाली समाज टेक्सासद्वारा मङ्गलबार ड्यालसमा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा महावाणिज्यदूत अधिकारीले दूतावास रहने स्थानको छनोट र अमेरिकी सरकारबाट स्वीकृति प्राप्त भएपछि सेवा प्रारम्भ गरिने उनको भनाइ छ। ड्यालसमा स्थापना हुन लागेको महावाणिज्य दूतावासले टेक्सासका अतिरिक्त ओक्लाहोमा, अर्कान्सास, लुजियाना, न्यू मेक्सिको, कन्सास, मिसिसिपी र कोलोराडो राज्यमा बसोबास गर्ने नेपाली समुदायलाई सेवा प्रदान गर्ने बताइएको छ।

महावाणिज्य दूतावास कार्यालयका लागि परराष्ट्र मन्त्रालयले चार जना कर्मचारी पदस्थापन गरेको छ। तीमध्ये सहसचिव अधिकारी र उपसचिव धना जोशी हाल ड्यालसमा रही नेपाली समुदायका अगुवासँग छलफल तथा समन्वयमा संलग्न छन्।

कार्यक्रममा सहभागी नेपाली समुदायका अगुवाहरूले ड्यालसमा स्थापना हुन लागेको महावाणिज्य दूतावासलाई नेपाली समुदायकै आवश्यकता र सम्पत्ति भएको उल्लेख गर्दै पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

टेक्सासमा महावाणिज्य दूतावास स्थापनाका लागि नेपाली समाज टेक्साससहित नेपाली समुदायका विभिन्न संस्थाहरूले विगत लामो समयदेखि पहल गर्दै आएका थिए। कार्यक्रममा नेपाली समाज टेक्सासका अध्यक्ष राजेन्द्र वाग्लेले ड्यालसमा महावाणिज्य दूतावास स्थापना अभियानमा साथ दिने सबैलाई धन्यवाद ज्ञापन गरे।

त्यस अवसरमा युलेश सिटीका उपप्रमुख टिका पौडेल, नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रकी अध्यक्ष सीता सापकोटा, नेपाली समाज टेक्ससका पूर्वअध्यक्ष प्रेम अधिकारी, गैरआवासीय नेपाली संघ अमेरिकाका वरिष्ठ उपाध्यक्ष विकास उप्रेती, पानस अमेरिकाका अध्यक्ष रवि रावल, प्रवासी नेपाली मञ्च अमेरिकाका सचिव विजय भट्टराई, ग्रेटर अस्टिन नेपाली समाजका कोषाध्यक्ष धिरेन्द्र यादव, नेपाली जनसम्पर्क समिति ड्यालसका अध्यक्ष ज्ञानेन्द्र कार्की, जनप्रगतिशील मञ्च अमेरिकाका प्रतिनिधि ओम लामिछाने र नेपाल–अमेरिका पत्रकार सङ्घ (नेजा) का अध्यक्ष सुरज भण्डारीले मन्तव्य व्यक्त गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad