तामाङ समाज यूकेको आयोजनामा २५७० औं बुद्ध जयन्ती विशेष कार्यक्रम विभिन्न धार्मिक कार्यक्रमसहित सम्पन्न भएको छ।
यूक्सब्रिजस्थित बीबीसी युके शाखाको हलमा आयोजित कार्यक्रममा पूजा, प्रार्थना तथा सामूहिक ध्यान (मोन्लम) गरिएको थियो। विभिन्न बौद्ध गुरुहरूले धर्मोपदेश दिँदै बुद्ध दर्शन र ध्यानको महत्त्वबारे प्रस्ट्याएका थिए।
समाजका अध्यक्ष सुरेश वाइबाले बुद्धले देखाएको शान्ति, करुणा र अहिंसाको मार्ग आत्मसात् गर्न सके मानव जीवनमा सकारात्मक परिवर्तन आउने विश्वास व्यक्त गरे। त्रिरत्न नमन, गुरुहरूबाट आशीर्वाद ग्रहण तथा प्रसाद वितरण गरिएको कार्यक्रममा सहभागीहरूका लागि शाकाहारी भोजन तथा स्वल्पाहारको व्यवस्था गरिएको थियो।
बेलायतस्थित विभिन्न क्षेत्रका नेपालीहरूको उपस्थिति भएको कार्यक्रमका सहभागीले आफ्नो धर्म, संस्कृति र पहिचानलाई जीवन्त राख्न यस्ता कार्यक्रमले थप उर्जा प्रदान गरेको बताए। आफ्नो थातथलोभन्दा टाढा रहे पनि मौलिक परम्पराको संरक्षणमा समाजले प्रशंसनीय सक्रियता देखाउँदै आएको छ।
Shares

प्रतिक्रिया