रोमानियाको राजधानी बुखारेस्टमा नेपालीहरूको राहदानी नवीकरणका लागि आज (२७ मार्च) बाट घुम्ती शिविर सुरु भएको छ।
राहदानी विभाग, काठमाडौँको समन्वयमा बर्लिनस्थित नेपाली राजदूतावास, जर्मनीले शिविर सञ्चालन गरेको हो।
बुखारेस्टस्थित चौतारी रेस्टुरेन्टमाआजबाट सुरु भएको घुम्ती शिविर ३१ मार्चसम्म चल्नेछ।
राजदूतावासका प्रथम सचिव रन्जन यादव, तृतीय सचिव दिपेन्द्र साह तथा राहदानी विभाग काठमाडौँका अधिकृतहरू आनन्द सुवेदी र सुवास मगरको संयुक्त टोलीले उक्त शिविर सञ्चालन गर्ने दूतावासले जनाएको छ।

रोमानियाको घुम्ती शिविरको समयमानै सर्वियामा पनि मार्च ३० मा (१ दिन) किङ पिटर ४३७ एसपी २ डोन्जी मिलानोभाक १९२२० मा राहदानी तथा कन्सुलर घुम्ती सेवा सञ्चालन गर्ने दूतावासले जनाएको छ।
रोमानियाको शिविर चलिरहँदा दूतावासका २ जना अधिकृत साथीहरू सर्विया गएर शिविर सञ्चालन गर्ने र जसले गर्दा आर्थिक र समयको बचत हुने कार्यवाहक राजदूत सागरप्रसाद फुयालले बताए।
‘राजदूतावासले राहदानी विभाग, काठमाडौँको संलग्नतामा स्थानीय नेपाली संघ संस्थाहरूसँग समन्वय गर्दै रोमानिया र सर्वियामा आजबाट सुरु गरेको राहदानी तथा कन्सुलर घुम्ती सेवाबाट करिब १६ सय सेवाग्राहीहरू लाभान्वित हुने, ’ कार्यवाहक राजदूत फुयालले नेपालखबरसँग भने, ‘सेवाग्राहीहरुले आफ्नो तोकिएको दिन र समयमा आवश्यक कागजातहरूसहित उपस्थित भई सेवा लिनुहुन अनुरोध गर्दछौँ।’

एक वर्षपछि राहदानीका लागि घुम्ती सेवा सञ्चालन भएको रोमानियामा ५० हजार बढी नेपाली कामदार रहेका छन्। जर्मनीसहित १० वटा देशमा सेवा तथा कूटनीतिक क्षेत्र भएको जर्मनीको नेपाली दूतावासले २ हजार किलोमिटर टाढाबाट रोमानियाका नेपालीलाई सेवा दिनु पर्ने बाध्यता छ।
नेपालको कुनै औपचारिक कूटनीतिक संयन्त्र नभएको रोमानियामा नेपालीहरूले त्यहाँ राजदूतावास स्थापना गर्न नेपाल सरकारसँग निरन्तर माग गर्दै आएका छन्।
Shares

प्रतिक्रिया