प्रवास


चेक रिपब्लिकमा नोभेम्बर २२ र २३ मा राहदानी घुम्ती शिविर सञ्चालन हुने

चेक रिपब्लिकमा नोभेम्बर २२ र २३ मा राहदानी घुम्ती शिविर सञ्चालन हुने

नेपालखबर
कात्तिक २३, २०८२ आइतबार १३:७, वारसा, पोल्यान्ड

चेक रिपब्लिकको राजधानी प्रागमा नेपालीहरूको राहदानी नवीकरणका लागि घुम्ती शिविर सञ्चालन हुने भएको छ। चेक रिपब्लिक समेत कार्यक्षेत्र भएको जर्मनीस्थित नेपाली राजदूतावास, बर्लिनले शिविर सञ्चालन गर्न लागेको हो।

बर्लिन दूतावासले शुक्रबार जारी गरेको सूचनाअनुसार आगामी नोभेम्बर २२ र २३ (मंसिर ६ र ७) मा प्रागस्थित एभरेस्ट रेस्टुरेन्टमा शिविर सञ्चालन हुनेछ।

दूतावासले जारी गरेको सूचनाअनुसार, २२ नोभेम्बर २०२६ भन्दा अगावै राहदानीको म्याद सकिन लागेका चेक रिपब्लिकमा बस्दै आएका नेपालीले नवीकरणका लागि आवेदन दिन सक्नेछन्।

दूतावासका प्रथम सचिव रन्जन यादवको नेतृत्वमा स्थानीय कर्मचारी सरिता नेपालसहितको टोलीले घुम्ती सेवा सञ्चालन गर्ने दूतावासले जनाएको छ।

‘घुम्ती शिविर सञ्चालनमा एनआरएनए तथा चेक रिपब्लिकको नेपाली समुदायको तर्फबाट सदाझैँ महत्त्वपूर्ण भूमिका रहने छ’, कार्यवाहक राजदूत सागरप्रसाद फुयालले नेपालखबरसँग भने, ‘शिविरको बारेमा त्यहाँ रहेका सबै नेपालीलाई सूचित हुन र यसबाट सबैले लाभ लिन सेवाग्राहीहरूलाई अनुरोध गर्दछु।’

यसका लागि दूतावासले आवश्यक कागजातहरूको सूची पनि सार्वजनिक गरेको छ। 

आवश्यक कागजातमा सक्कल नागरिकता र सोको प्रतिलिपि, नाबालकको हकमा नाबालक परिचयपत्र तथा बाबु र आमाको नागरिकताको प्रतिलिपि, सक्कल राहदानी र सोको प्रतिलिपि रहेका छन्।

राहदानी विभागको वेबसाइटमा रीतपूर्वक भरिएको अनलाइन फर्मको बारकोडसहितको प्रिन्ट पनि राहदानी सेवाका लागि अनिवार्य गरिएको छ।

अनलाइन फर्म भर्दा नेपाली नागरिकताको दुवै भाग, राहदानीको फोटो भएको पेज र नजिकको व्यक्ति भएको पेज अपलोड गर्नुपर्नेछ।

अनलाइन फर्म भर्दा नोभेम्बर १५ र १६ स्लटहरू चेक रिपब्लिकको घुम्ती सेवाको प्रयोजनको लागि मात्र  अप्वाइन्टमेन्ट डेट बुक गर्नका लागि खुला गरिने दूतावासको सूचनामा उल्लेख छ।

३४ पेजको विद्युतीय राहदानीको राजस्व (दस्तुर) १२० युरो तोकिएको छ। दस वर्षमुनिका नाबालकको विद्युतीय राहदानी ११० युरो (६० राहदानी दस्तुर र ५० जन्मदर्ता शुल्क) तोकिएको छ।

हराएको वा बिग्रिएको (पाना च्यातिएको/मसी पोखिएको/केरमेट भएको) हकमा १८० युरो तिर्नु पर्छ।

दस्तुर जम्मा गर्नका लागि नेपाली राजदूतावास, बर्लिनको बैंक खाताको विवरण पनि दूतावासले सूचनामा उल्लेख गरिदिएको छ।

राहदानी दस्तुर वापतको रकम बैंक ट्रान्सफर गर्दा तोकिए बमोजिमको पूरै रकम दूतावासको बैंक खातामा सम्बन्धित आवेदकले अनिवार्य रूपमा आफ्नै नाममा १८ नोभेम्बरसम्म जम्मा गरेको हुनुपर्ने सूचनामा लेखिएको छ। रकम तिर्दा लाग्ने शुल्क सेवाग्राहीकै खाताबाट स्वयंले बेहोर्नुपर्नेछ।

सेवाग्राही नेपाली नागरिकहरूले आफ्नो राहदानीको लागि अनलाइन फर्म आफैँ भर्नुहुन र त्यसरी फर्म भर्न नसक्नेलाई सँगै रहेको जान्ने नेपालीले स्वयंसेवी भावले सहयोग गरिदिन दूतावासले अनुरोध गरेको छ।

राहदानी प्रक्रियाका लागि सहयोग गर्ने नाममा कुनै पनि प्रकारको अनुचित लाभ लिएको पाइएमा कानुनअनुसार कारबाहीको लागि नेपाल सरकारको सम्बन्धित निकाय तथा चेक रिपब्लिक सरकारको सम्बन्धित निकायमा लेखी पठाउने चेतावनी दूतावासको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad