पोल्यान्डमा राष्ट्रपति निर्वाचनको लागि दोस्रो चरणको मतदान सुरु भएको छ।
मे १८ मा भएको पहिलो चरणको निर्वाचनमा कसैले पनि आवश्यक मत प्राप्त नगरेकाले चुनाव दोस्रो चरणमा गएको हो।
कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत प्राप्त नगरेमा सबैभन्दा बढी मत प्राप्त गर्ने दुई जनाका लागि दोस्रो चरणको मतदान हुने पोल्यान्डको संवैधानिक व्यवस्था छ।
मे १८ मा भएको निर्वाचनमा राजधानी वारसाका मेयर समेत रहेका सत्तारूढ सिभिक गठबन्धनका उम्मेदवार राफाल ट्राजास्कोवस्कीले ३१ प्रतिशतभन्दा बढी मत प्राप्त गरेका थिए।
त्यसैगरी, रुढीवादी इतिहासकार समेत रहेका मुख्य विपक्षी दल समर्थित स्वतन्त्र उम्मेदवार कारोल नवोरोस्कीले लगभग ३० प्रतिशत मत प्राप्त गरेका थिए। सबैभन्दा बढी मत प्राप्त गर्ने यी दुई उम्मेदवार आज भइरहेको दोस्रो चरणको निर्वाचनको प्रतिस्पर्धामा छन्। बाँकी ११ जना उम्मेदवार भने बाहिरिएका छन्।
आज बिहान ७ बजदेखि सुरु भएको मतदान राति ९ बजेसम्म चल्नेछ। जसमा १८ वर्षमाथिका लगभग २ करोड ९० लाख पोलिस मतदाताले मतदान गर्नेछन्।
विभिन्न सर्वेक्षणले दोस्रो चरणको यो निर्वाचनमा अत्यन्त कडा प्रतिस्पर्धा हुने देखाएका छन्। अन्तिम नतिजा सोमबार घोषणा हुने सम्भावना छ।
विजयी उम्मेदवारले ६ अगस्टबाट हालका राष्ट्रपति आंन्द्रेज डुडाको उत्तराधिकारीको रूपमा कार्यभार सम्हाल्ने छन्।
संविधानअनुसार, पोल्यान्डमा शक्ति प्रधानमन्त्री र संसद्मा निहित हुन्छ। यद्यपि, राष्ट्रपतिले भिटो प्रयोगसहित सैन्य र विदेश नीतिमा ठूलो प्रभाव पार्न सक्छन्।
Shares

प्रतिक्रिया